दाङ : दुई महिलाले गत असार ६ गते एक पुरुषलाई रेस्टुराँमा बोलाए। तीमध्ये एक जनाले फोनमा भनेकी थिइन्, ‘मेरो घरायसी विषयको मुद्दा छ, तपाईं कानुनको बारेमा जानेको मान्छे।’

रेस्टुराँमा बसी मुद्दाको कुरा गरे। तर, निस्किने बेला ती पुरुषले जबरजस्ती करणीको मुद्दा खेप्नुपर्ने धम्की पाए। विवाद त्यतिमै सीमित रहेन। भोलिपल्ट ती महिलाले प्रहरीमा जाहेरी दिने भन्दै ५० लाख रुपैयाँको बार्गेनिङ गरिन्। पीडितले तत्काल १ लाख नगद दिए भने १७ लाखको चेक। त्यसपछि पीडितकै जाहेरीका आधारमा प्रहरीले आर्थिक लाभ (एक्सटर्सन) लिन नहुने कसुरमा तीन आरोपितलाई शुक्रबार राति पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। जसमा घोराही उपमहानगरपालिका–१५ बस्ने ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र ३२ वर्षकै सुस्मा परियार छन्। गत असार ६ गतेको घटनामा थापा र वली अनि अर्को दिन परियारको पनि संलग्नता देखिएको जिल्ला प्रहरीको प्रेस नोटमा उल्लेख छ।

उनीहरूले कानुनी परामर्शका नाममा बोलाएर जबरजस्ती करणीको आरोप लगाई बार्गेनिङ सुरु गरेको प्रहरी अनुसन्धानले देखाएको छ। ५० लाखबाट बार्गेनिङ गरी १८ लाखमा कुरा मिलाइ कसुर गरेकाले तीनै जनालाई पक्राउ गरी कानुनी कारबाही सुरु गरिएको जिल्लाका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए।

‘हनीट्र्यापमा पारी पैसा असुल्ने तीन महिलालाई पक्राउ गरी कानुनी दायरामा ल्याएका छौं’, डीएसपी रिजालले भने, ‘उनीहरूले पैसा असुल गरेको पुष्टि अनुसन्धानबाट भएको छ।’

थापाले ‘तैंले मेरो इज्जतमा हात हाल्ने, तँलाई अब म छोड्दिन, जबरजस्ती करणीमा मुद्दा हाल्छु’ भन्दै वादविवाद गरेको घटना विवरणमा उल्लेख छ। त्यसको भोलिपल्ट वलीले ‘थापाका ठूला बडा मान्छे छन्, मुद्दा दर्ता गर्ने कुरो गर्दै छन्, के

गर्ने ? तपाईंले मिलाउनुपर्छ, केही पैसा दिनुपर्छ’ भनेर बार्गेनिङ गरेको प्रहरीले जनाएको छ। त्यसपछि अर्को होटलमा भेटेर अभियुक्त तीनै जनाले ‘छिटो मिलाउनुपर्‍यो नत्र प्रहरीमा उजुरी हाल्छौं’ भनेपछि १८ लाखमा कुरा मिलेको जनाइएको छ।  प्रहरीले थापाको डेराबाट १७ लाखको चेक एक थान बरामद गरेको छ।

नगद १ लाख ब्याजमा लगाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ। प्रहरीले तमसुक पनि बरामद गरेको छ।

दुई दिन सार्वजनिक बिदा परेकाले प्रहरीले उनीहरूलाई अदालतमा लगेको छैन। सोमबार मात्रै म्याद थप गरी विस्तृत अनुसन्धान गरिने रिजालले बताए। तीनै जना जिल्ला प्रहरीको हिरासतमा छन्।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २५३ मा आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने उल्लेख छ। यी आरोपितले उपदफा १ र २ बमोजिमको कसुर गरेको प्रहरीको दाबी छ। उपदफा ३ (ख) बमोजिम कसैको व्यवसायमा गैरकानुन तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डर, त्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको प्रहरीले स्मरण गराएको छ।

 

Your Views
Related News