काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरेपछि रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएको छ। पार्टीभित्र छलफलै नगरी खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएको हो।

मन्त्री नियुक्तमा देउवाले एकलौटी गर्न खोजेको भन्दै पौडेल पक्षले आफू पक्षीय नेताहरुको छुट्टै बैठक बोलाएको छ। पौडेल पक्षले परराष्ट्र मन्त्रीमा सुजाता कोइराला र मिनेन्द्र रिजालमध्ये एकजनालाई पठाउने तयारी गरेको थियो। तर ,देउवाले पार्टीभित्र छलफलै नगरी खड्कालाई परराष्ट्रमन्त्री बनाएको भन्दै पौडेल पक्ष असन्तुष्ट बनेको हो।

बैठकमा महाधिवेसनलगायत समसायिक विषयमा छलफल हुने केन्द्रीय सदस्य कमला पन्तले अन्नपूर्णलाई जानकारी दिइन्। महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बैठक बस्दैछ।

आजै कांग्रेस सभापति देउवाले पनि पदाधिकारी बैठक आह्वान गरेका छन्। महाधिवेशन र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा बैठक बोलाइएको कांग्रेसका पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए।

बुधबार दिउँसो तीन बजेतिर बैठक प्रधानमन्त्री देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने भएको छ। सत्ता गठबन्धनको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री नियुक्तमा सहमति भएको छ। गठबन्धनले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको शर्माले बताए।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छ।

अहिले गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन्। बाँकी मन्त्रालयहरू प्रधानमन्त्री मातहत नै छन्।

कांग्रेसभित्रै पनि १३ जिल्लाको क्रियाशील सदस्यताको सूची निस्कन नसक्दा वडा अधिवेशन पनि प्रभावित बनेका छन्। यस विषयमा पनि कांग्रेसको पदाधिकारी बैठकमा छलफल हुने र नयाँ मिति तोकिने जनाइएको छ।

 

Your Views
Related News