नयाँ बसपार्क गोंगबुमा टिकट काट्न पुगेका यात्रुहरू। फाइल तस्बिर

काठमाडौं : दसैँमा घर जानेहरुका लागि सोमबार (आज)बाट अग्रिम टिकट बुकिङ खुला गरेको छ । लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङ खुला भएको हो ।

गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । सरकारले सोमबारदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो । यात्रुको चापलाई ख्याल गर्दै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको हो।

दसैँ नजिकीएसँगै काठमाडौं उपत्यका छोड्ने क्रम सुरु भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले अग्रिम टिकट बुकिङ खुलिसकेको बताए ।  बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु भएको उनले जानकारी दिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ।

यातायात व्यवस्था विभागले सोमबारदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो । गत बिहीबार विभाग, यातायात व्यवसायी, ट्राफिक प्रहरी, उपभोक्ता अधिकारकर्मी लगायतको छलफलले यस्तो निर्णय गरेको थियो । सरकारले गत असार २९ गते सार्वजनिक सवारीको भाडा समायोजन गरेको थियो । दसैँमा २५ लाखले काठमाडौं छोड्ने गरेको बताइएपनि यसपटक कोरोना महामारीका कारण अधिकांश मानिस पहिले नै घर फर्किसकेका छन् ।

 

Your Views
Related News