चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सुन तथा चाँदीको आयात उच्च देखिएको छ। साउन र भदौमा सुन, खाना पकाउने ग्यासभन्दा पनि धेरै रकमको आयात भएको छ।चालु आर्थिक वर्षको दुई महिनामा नै झण्डै साढे ८ अर्ब रुपैयाँको सुन आयात भएको छ भने साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको चाँदी आयात भएको छ।

भन्सार विभागको तथ्यांक अनुसार यो दुई महिनामा १ हजार २१५ किलो सुन आयात भएको छ। जसबाट ८ अर्ब ३५ करोड रुपैयाँ बाहिरिएको छ।

नेपालमा धेरै आयात हुने खाना पकाउने ग्यासलाई समेत सुन आयातले जितेको छ। गत दुई महिनामा ७ अर्ब ९९ करोड रुपैयाँको मात्रै ग्याँस आयात भएको छ। तर, सुन ग्यासभन्दा करिब ३५ करोड रुपैयाँ धेरैको आयात भएको छ।

यो दुई महिनामा सोयाविन तेल सबैभन्दा धेरै १५ अर्ब ६० करोड रुपैयाँ बराबरको आयात भएको छ भने डिजेल १३ अर्ब ९६ करोड रुपैयाँको आयात भएको छ। त्यसैगरी, १० अर्ब रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको छ भने पेट्रोल ८ अर्ब ५५ करोड रुपैयाँको आयात भएको छ। सुन सबैभन्दा धेरै आयात हुने वस्तुको छैठौ स्थानमा रहेको छ।

सुन मात्रै होइन चाँदीको आयात पनि उच्च देखिएको छ। यो दुई महिनामा ६९ हजार १५२ केजी चाँदी आयात भएको छ। यो कुल ६ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ बराबरको हो।

साउन र भदौमा सुन र चाँदी गरी कुल १५ अर्ब १ करोड ६६ लाख रुपैयाँको आयात भएको छ। सुन चाँदीको उच्च आयातले पनि नेपालको व्यापार घाटा यस वर्ष उच्च दरले बढेको छ।

चालु आर्थिक वर्षको दुई महिनामानै नेपालको व्यापार घाटा २ खर्ब ७० अर्ब रुपैयाँभन्दा माथि पुगिसकेको छ। यस वर्ष निर्यात बढेको भए पनि आयात समेत उच्च दरले बढ्दा व्यापार घाटा चुलिएको हो।

सुनको आयात बढे पनि बजारमा भने सुनको अभाव देखिएको छ। चाडपर्वको बेला सुनको खपत बढेकोले बजारमा अभाव भएको भन्दै व्यवसायीले केन्द्रीय बैंकलाई सुन आयातको कोटा बढाउन माग गरिरहेका छन्। चाडपर्वको समयमा दैनिक ४० किलोसम्म सुन खपत हुने आँकलन व्यवसायीको छ।

नेपाल राष्ट्र बैंकले केही महिना अघि अर्थात गत चैतमा १० केजीको सीमालाई बढाएर २० केजी पुर्याएको थियो तर अहिले उक्त २० केजीको सीमाले पनि बजारको अभाव टार्न नसकेको अवस्था छ। अहिले व्यवसायीले बैंकबाट दैनिक २० केजी सुन लिन पाँउछन्।

गत वर्ष लकडाउनमा सुनको माग निकै कम थियो। लकडाउन खुलेसँगै सुनको माग बढ्दा गत वर्ष पनि सुनको आयात उच्च दरले बढेको थियो। गत आर्थिक वर्षमा तीन हजार एक सय ६८ किलो सुन आयात भएको थियो। यो अघिल्लो बैंकको तुलनामा करिब ९२ प्रतिशतले धेरै हो। अहिलेसम्मको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षमा सुन आयात यो भन्दा पनि धेरैले बढ्ने देखिन्छ।

गत आर्थिक वर्षभरीमा आयात भएको सुनको करिब आधा सुन चालु आर्थिक वर्षको दुई महिनामा नै आयात भइसकेको छ। यही अनुपातमा सुनको आयात बढ्दै गएमा चालु आर्थिक वर्षमा सुनको आयात निकै बढ्ने देखिन्छ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिना नै ३ अर्ब १६ करोड ४७ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो। एक महिनामा ४५८ किलो सुन आयात भएको विभागको तथ्यांकले देखाउँछ। दोस्रो महिना सुनको आयात अझै धेरै बढेको छ। दोस्रो महिनामा सुनको आयात झनै धेरै बढेको छ। दोस्रो महिना करिब ८०० किलो सुन भित्रिएको छ।

गत आर्थिक वर्षको दशैंसम्ममा बैंकहरुले जम्मा १०० किलो सुन आयात गरेका थिए। लकडाउनको कारण सुनको माग बढ्न नसकेपछि बैंकहरुले सुन ल्याएका थिएनन्। तर चालु आर्थिक वर्षको सुरुवातदेखि नै सुनको आयात उच्च देखिन्छ।

गत साउन र भदौ महिनामा १३ करोड ५७ लाख रुपैयाँभन्दा धेरैको सुनका गहना निर्यात समेत भएको छ। तर आयातको तुलनामा निर्यात नगन्य छ।

 

Your Views
Related News