काठमाडौं : कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरपालिकाको नेतृत्व शनिबार चयन हुँदै छ। नेतृत्वका लागि संस्थापन समूह र संस्थापनइतर समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ।
संस्थापन समूहबाट प्रगतिमान रञ्जित मैदानमा छन् भने संस्थापन इत्तर समूहबाट नीलकाजी शाक्य मैदानमा उत्रिदैं छन्। १५ वर्षसम्म काठमाडौं महानगरमा कांग्रेसले नयाँ नेतृत्व पाउन सकेको थिएन। यसपटक नयाँ नेतृत्वका लागि अधिवेशन हुन लागेको हो।

कांग्रेसले ११ औं महाधिवेशनबाट निर्वाचित महानगर सभापति देवरत्न डंगोलको कार्यकाल पछिनै नयाँ नेतृत्व पाउन सकेको थिएन। १२ औं र १३औं मा पनि महाधिवेशनमा नेतृत्व आउन सकेको थिएन।
काठमाडौं कांग्रेसमा संस्थापन समूहबाट उम्मेदवार बनेका रञ्जितलाई कांग्रेस भित्रको तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता कृष्णप्रसाद सिटौला समूह नजिकैका भनेर चिन्ने गरिन्छ। उनलाई भिमसेन दास प्रधानको सहयोग छ। संस्थापनइतर समूहबाट उम्मेदवार बनेका शाक्यलाई नेता प्रकाशमान सिंह लगायत काठमाडौंका सभापति लगायतको सहयोग छ।

काठमाडौंमा संस्थापन समूहबाट उम्मेदवार बनेका रञ्जितको पक्षमा सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू ध्यानगोविन्द रञ्जित र अम्बिका बस्नेतसमेत माहौल बनाउन खटिएका छन्। उनलाई काठमाडौं जिल्ला सभापतिका दाबेदार उपेन्द्र कार्कीको समेत समर्थन छ।

संस्थापन समूहबाट काठमाडौं महानगरका लागि उम्मेदवार बनेका रञ्जितले आफू काठमाडौं महानगरमा स्थापित पुराना नेता तथा नयाँ सहकर्मी सँगै मैदानमा उत्रिएको बताउँदै आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसको गतिलाई काठमाडौंमय बनाउने मुद्दा अघि सारेका छन्।

नेपाल तरुण दलको काठमाडौं महानगरको संस्थापक सभापति रञ्जित पार्टीको क्षेत्र नम्बर ६ को पूर्वसचिवसमेत हुन्। उनी काठमाडौं कांग्रेसको आमन्त्रित सदस्य पनि भइसकेका छन्।
संस्थापन इतर समूहबाट काठमाडौं महानगरको नेतृत्वका लागि मैदानमा उत्रिएका शाक्यले आफू सभापतिमा जितेपश्चात् महानगरका सबै वडामा कांग्रेसको नेतृत्व आउने दाबी गरेका छन्। कांग्रेस काठमाडौंमा बलियो भयो भने अन्त स्वतः बलियो हुने बताउँदै उनले भने, ‘महानगरका गल्ली गल्ली कांग्रेसमय बनाउँछु।’

उनी हाल काठमाडौं महानगरपालिका वडा नम्बर २५ का निर्वाचित वडा अध्यक्ष हुन्। २०३६ सालको विद्यार्थी आन्दोलनदेखि सक्रिय राजनीतिमा जोडिएका शाक्य २०४४ सालमा पब्लिक युथ क्याम्पसको स्ववियू सभापति बनेका थिए। शाक्य नेपाल तरुण दलको संस्थापक केन्द्रीय सदस्य भएर पनि नेतृत्व लिइसकेका छन्।

 

Your Views
Related News