नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोजपछि नेता-कार्यकर्ताका बदलिँदो जीवन र व्यवहारबारे दिएका अभिव्यक्तिमा अहिलेसम्मका उपलब्धि पुँजीकृत गर्ने एवं कार्यकर्तामा बढेको निराशा चिर्ने प्रयास देखिएको विश्लेषकहरू बताउँछन्।

राजनीतिशास्त्री कृष्ण पोखरेलले उनका अभिव्यक्तिहरू अहिलेसम्म गरेका कामको आत्मसमीक्षाको रूपमा आएको ठान्छन्।

पोखरेल ‘मनमा लागेकै कुरा बोल्ने स्वभाव’ले पार्टी रूपान्तरण गर्ने भनिएको उनको पछिल्लो प्रयासलाई लाभ पुर्‍याउन सक्ने बताउँछन्।

तर राजनीतिक विश्लेषक श्याम श्रेष्ठ चाहिँ प्रचण्डलाई ‘भिडको मनस्थिति हेरेर बोल्न सक्ने’ व्यक्ति बताउँदै पछिल्ला अभिव्यक्तिमा पार्टी जसरी अघि बढेको छ त्यसप्रति ‘असन्तुष्टि र निराशा’ देखिने बताउँछन्।

श्रेष्ठ भन्छन्, “तर त्यसको जबाफदेही को त? समीक्षा त उनले आफ्नो गर्नुपर्ने हो।”

निराशा फैलाउने काम’

बिहीवार अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा प्रचण्डले ‘अन्तिम अवसरका रूपमा आफैँ लड्ने’ बताउँदै उत्तराधिकारी घोषणा नगर्ने बताएका थिए।

राम्रो काम गरेर आउने साथीहरूलाई बाटो छाडिदिने बताउँदै उनले ‘सबैलाई समेटेर लैजान सक्ने नेता नदेखेको’ बताएका थिए।

उनले आफूसामु ‘लड्ने कि मर्ने’ भन्ने प्रश्न समेत उठेको अभिव्यक्ति दिएका थिए।

त्यसैलाई सङ्केत गर्दै विश्लेषक श्रेष्ठले प्रचण्डबाट कार्यकर्तामा निराशा फैलाउने काम भएको बताउँछन्।

श्रेष्ठ भन्छन्, “नेता भनेको त अन्धकार हुँदा पनि बाटो देखाउने व्यक्ति हो। तर यी अभिव्यक्ति उनी आफै अन्धकारमा भएर आएजस्तो देखिन्छ।”

उनले ‘सबै आत्महत्या गलत होइन’ भनेर दिएको अभिव्यक्ति आलोचित समेत बनेको छ।

सशस्त्र द्वन्द्वको बेला ‘लड्न जान पाइएन, मर्न जान पाइएन’ भन्ने पार्टीका मानिसहरू अहिले ‘पद र पैसा नपाउँदा रुने’ भएको प्रचण्डले बताएका थिए।

पुरानै धङधङीको भर?

असोज ७ मा वाइसीएलको एक कार्यक्रममा पाँचखालमा उनले माओवादीले ‘बिस्तारै जनता छोड्दै, जनता बिर्सिँदै, शहीद परिवार बिर्सँदै जाने पो हो कि भन्ने चिन्ता भएको’ बताएका थिए।

उनले केन्द्रीय समितिमा ‘क्रान्तिकारी विरासत’ भएका ‘आत्तिन नहुने’ निष्कर्ष निकालेको पनि बताएका थिए।

उनले वाइसीएल २०६४ सालतिरको अवस्थामा जानुपर्ने बताउँदै ‘जालझेल गर्नेलाई आतङ्क बनेर तर्साउनु पर्ने’ बताएका थिए।

त्यस बेला उनले ‘गर्नु पनि गरियो, नगर्नु पनि गरिएको’ले चुनाव जितिएको त्यहाँ बताएका थिए।

राजनीतिशास्त्री पोखरेल चाहिँ त्यस्तो अभिव्यक्ति कार्यकर्ता ‘उचाल्न’ मात्र काम लाग्ने बताउँछन्।

पोखरेल भन्छन्, “न अबको अवस्थामा त्यस्तो सम्भव छ न त उनीसँग त्यसखाले सङ्गठन नै बाँकी छ।”

“उनका धेरै अभिव्यक्ति कार्यकर्ताका खपतका लागि पनि हुने गर्छन्। यसलाई पुनः माओवादी पुरानै अवस्थामा फर्कने भए भनेर त्रासको रूपमा बुझ्नुपर्छ जस्तो लाग्दैन।”

पार्टीको भविष्यबारे ‘चिन्ता’

असोज ४ मा पार्टी कार्यालय प्यारिस डाँडामा आयोजित एक कार्यक्रममा माओवादी अध्यक्षले आफूहरूलाई ‘खाओवादी’ पनि भन्न थालेको बताउँदै माओवादीहरूलाई ‘व्यवहारका हेरेर’ अन्य पार्टीसँग छुट्टाउन गाह्रो पर्न थालेको बताएका थिए।

प्रचण्डले भनेका थिए, “यही स्थिति रह्यो भने त यो पार्टी नरहे पनि के हुन्छ र! जनतालाई जाल, झेल, ठगाठग गरेर पार्टी बनाउनु भन्दा त पार्टी नहुनु राम्रो हुन्छ।”

आफैँ र सङ्गठनलाई पुनर्निर्माण गर्ने प्रचण्डको सोचमा यस्ता अभिव्यक्तिको असर कस्तो पर्छ भन्ने समयले मात्र देखाउन सक्ने विश्लेषकहरू ठान्छन्।

पोखरेलले ‘प्रचण्डलाई बिर्सेर नेपालको राजनीति अघि बढ्न सक्ने अवस्था नरहेको’ बताउँछन्।

उनी भन्छन्, “प्रदेश राजनीतिमा समेत धेरैतिर उनीहरू निर्णायक अवस्थामै छन्। स्पष्ट चित्र आगामी निर्वाचनले देखाउने भए पनि उनीहरू सबैभन्दा कमजोर त यसअघि स्थानीय सरकारका चुनाव हुँदा देखिन्थे।”

यतिखेर पार्टीगत रूपमा त माओवादीलाई भन्दा एमालेलाई धेरै धक्का लागेको अवस्था बताउँदै विश्लेषक श्रेष्ठ भने प्रचण्डमा व्याप्त निराशाले प्रश्नहरू उठेको बताउँछन्।

“कार्यकर्तालाई तताउने प्रयोजन होला। तर त्योभन्दा बढ्ता उनी आफैँभित्र उब्जिएको निराशा हो।”

 

Your Views
Related News