केरुङबाट रसुवागढी नाका हुँदै नेपाल भित्रिएका भेडाच्याङ्ग्रा ।

नुवाकोट : चीनको तिब्बतस्थित केरुङबाट रसुवागढी नाका हुँदै भेडाच्याङ्ग्रा नेपाल प्रवेश भिœयाइएको छ। भित्रिएका भेडाच्याङ्ग्रा शुक्रबार रसुवागढी भन्सार टिमुरेमा जाँचपास गरिएको छ। नेपालतर्फका व्यापारीको अनुरोधमा यस पटक चिनियाँ व्यापारीले रसुवागढी नाकासम्म दसैंका लागि भेडाच्याङ्ग्रा ल्याइदिएका हुन्।

बडादसैं नजिकिँदै गएको र रसुवागढी नाकाबाट मानिसको आवतजावत रोकेका कारण व्यापारीले रसुवागढी नाकासम्म नै भेडाच्याङ्ग्रा ल्याइदिएका हुन्। यो पटक चिनियाँ व्यापारीले ल्याएको भेडाच्याङ्ग्रा महँगो भएको स्थानीय व्यापारी बताउँछन्। यस पटक १ सय ७० वटा भेडाच्याङ्ग्रा आएका यो नाकाबाट भित्र्याइएको छ। प्रतिगोटा ३० देखि ३२ हजार रुपैयाँसम्ममा खरिद गरिएको व्यापारी भीमप्रसाद पौडेल बताउँछन्। कोरोना संक्रमणका कारण नाका बन्द गर्दा गत वर्ष भने रसुवागढी नाकाबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिएको थिएन।

आवश्यक मापदण्ड पूरा गरेर ती भेडाच्याङ्ग्रा नेपाल प्रवेश गराइएको पशु क्वारेन्टिन कार्यालय रसुवाका प्रमुख डा. विकास धौवन्जारले बताए। हाल आएका भेडाच्याङ्ग्रा सानो भएको र सबैको एउटै मूल्य हुँदा बिक्रीमा समस्या आउने व्यापारीको गुनासो छ। पहिले एउटा भेडाच्याङ्ग्रा सात सय रुपैयामा बिक्री हुने थियो। अहिले मूल्य बढ्दै जाँदा आयातमा पनि कमी आएको व्यापारी भीमप्रसाद पौडेलको भनाइ छ।

कोरोना महामारी सुरु हुनुअघि नेपाली व्यापारीले केरुङमा नै पुगेर भेडाच्याङ्ग्रा खरिद गर्दै आएका थिए। रसुवागढी नाकाबाट नेपालतर्फ २०७० सालमा २ सय २, ०७१ मा १ सय ८०, ०७३ मा २ सय ५०, ०७४ मा २ सय ५५, ०७५ मा ४ सय ७० र ०७६ सालमा २ सय ९० वटा भेडाच्याङ्ग्रा आयात भएको थियो। २०७० सालअघि यो नाकाबाट ५ हजारदेखि १० हजारसम्म भेडाच्याङ्ग्रा आयात हुने गरेको थियो भने मूल्य पनि सस्तो हुने गरेको थियो।

 

Your Views
Related News