तानसेन : राम्रो काम भएको चर्चा कमाउन परिक्षण बिना शित भण्डार सञ्चालन गर्दा पाल्पा रामपुरका कृषकहरुको लाखौं रुपैयाँ नोक्सान भएको छ। हतारमा निर्माण कार्य पुरा नहुँदै रामपुर नगरपालिकाले शित भण्डार सञ्चालन गर्दा कृषि उपजहरु कुहिन थालेका छन्। विगतका वर्षमा रामपुर क्षेत्रका कृषकहरुले भैरहवा, स्याङ्गजामा कृषि उपजका विउ विजनहरु भण्डारण गर्दै आएका थिए।

रामपुर नगरपालिका ७ की यमकान्ती गौतमले दश लाख बराबरको उन्नत जातको विउ शित भण्डारमा राखेको, अहिले हेर्दा विउले टुसा निकालीसकेको बताईन। रामपुर नगरपालिकाले शित भण्डार परिक्षण बिना नै आलु भण्डारण गर्न अनुमति दिँदा हामीजस्ता कृषकहरु मर्कामा परेको कृषक गौतमले बताईन। कृषक गौतमले प्रति किलो ६ रुपैयाको दरमा ६ हजार ६७ किलो आलु ३६ हजार ४ सय रुपैयामा शित भण्डारमा राखेकी थिईन्। खानका लागि शित भण्डारबाट घरमा झिकेर ल्याइएको आलु उम्रेर लामा–लामा टुसा पलाएको देख्दा रामपुर ६ तालपोखरा बस्ने मित्रा ढकाललाई नमज्जा लाग्यो। उनले रामपुर नगरपालिका ६ को कार्यालयको आलु प्रवद्र्धन कार्यक्रमअन्र्तगत व्यावसायीक आलु उत्पादन गरेका हुन्।

घरमै ३० रुपैयाँ किलो आलु किन्न ग्राहक आएका थिए तर हामीलाई यही रामपुरमै भण्डारण गर्न मिल्छ भन्दै बेच्न दिएनन, अहिले कोल्ड स्टोरमा राखेको आलु केही कुहिएको छ, केहीमा लामा लामा टुसा पलाएको छ, परिक्षण बिनै कृषकलाई हतारमा आलुको विउ भण्डार गर्न जवरजस्ती गरियो यसको क्षतीपुर्ति नगरपालिकाले दिनुपर्ने ६ का कृषक मित्रा ढकालले बताईन।

रामपुर ५ बेझाडकी मैना श्रेष्ठले दशैं तिहारमा प्रयोग गर्न भनी कोल्ड स्टोरमा राखेको ३ बोरा आलु पनि कुहिएको छ। चाडपर्वमा बजार भाउ महंगो हुने र भनेको समयमा नपाईने समस्याको कारण कोल्ड स्टोरमा राखेको भएपनि कुहिएर खाने लायक नभएको श्रेष्ठले बताईन। रामपुर नगरपालिका ३ का वडा अध्यक्ष दिनेशकुमार खनालले गाउँका कृषकहरु लाई प्रोत्साहन गर्न ४७ बोरा आलु भण्डारण गरेको भएपनि बोरा बाहिरै लामा-लामा टुसा उम्रिएको बताए। रामपुरको  शित भण्डारमा करिव एक हजार चार सय क्वीण्टल आलु राखिएको छ।

नगरपालिकाले शित भण्डार सञ्चालनका लागि टेण्डरमार्फत रम्भा गाउँपालिका १ हुँगीका भगवती अधिकारी न्यौपानेलाई बार्षिक रु दुई लाख पाँच हजारमा रुपैयाँमा जिम्मा दिएको थियो। शित भण्डार पहिलो वर्ष प्रयोगमा ल्याउँदा प्राविधिक रुपमा तालमेल नमिलेकाले समस्या भएको रामपुर नगरपालिकाका प्रवक्ता  हुमनाथ न्यौपानेले बताए। कृषकलाई परेको पिडा र समस्या सम्वोधनको विषयमा नगरपालिकाको बैठकमा गंभिर रुपमा कुरा उठेको प्रवक्ता न्यौपानेले बताए।

गत वर्ष रामपुर नगरको पाँच हजार रोपनी क्षेत्रफलमा चार हजार टन आलु उत्पादन भएको थियो। पुर्वी पाल्पाको कृषि उत्पादन लाई सुरक्षित राख्न लुम्बिनी प्रदेश सरकारको सर्शत अनुदानमा रबिना र अभिसा जेभी कन्ट्रक्सन प्रालीले संयुक्त रुपमा रु तीन करोड २६ लाख ७६ हजार पाँच सय ६६ मा ठेक्का सम्झौता गरी शित भण्डार निर्माण कार्य गरेको थियो।

 

Your Views
Related News