जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा प्रदेश २ मा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा गरिएको छापामारीको विरोध गर्दै जनता समाजवादी पार्टी, नेपाल धनुषाले विरोध प्रर्दशन गरेको छ।

पार्टीका कार्यकर्ताले जनकपुर नगरक्षेत्रमा जुलुश प्रर्दशन गर्दै विरोध जनाएका छन्। उनीहरुले हिजो मशाल जुलुश पनि प्रर्दशन गरेका थिए।

प्रदेश २ सरकारको निकै चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत भएका भ्रष्टाचारका विषयमा छानविनका लागि अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामारी गरि कागजातहरु नियन्त्रणमा लिएको थियो।

अभियान अन्तर्गत कक्षा ८ मा पढ्ने समुदायिक विद्यालयका छात्राको लागि साइकल वितरण कार्यक्रममा सार्वजनिक खरिद ऐन विपरित साइकल खरिद गरेको विरुद्ध उजुरी परेपछि अख्तियारले छापामारी गरेको थियो।

प्रदेशका आठवटै जिल्लामा कक्षा ८ मा अध्ययनरत छात्राका लागि मुख्यमन्त्री कार्यालयले अहिलेसम्म चार चरणमा गरी जम्मा ४० हजार २ सय ६५ थान साइकल खरिदमा झण्डै २९ करोड रुपैयाँ खर्च गरेको दावी गरेको छ। कार्यालयको सो दाविविरुद्ध अख्तियारमा उजुरी परेपछि छानविन सुरु भएको हो। साइकल खरिदमा भएको अनियमितताका विषयमा प्रदेशसभा र सार्वजनिक मञ्चहरुमा निकै आवाज उठ्ने गर्थ्यो तर, प्रदेश सरकारले यस सम्बन्धमा कुनै पनि सुचना सर्वसाधारणलाई उपलब्ध गराएको थिएन।

यता, अख्तियारको छापामारीपछि मुख्यमन्त्री लालबाबु राउतले निकै विरोध गरेका छन् भने जसपा नेपालले सडकमै प्रर्दशन थालेको छ।‘आयोगले भ्रष्टाचार विरुद्ध अनुसन्धान गर्न पाउने हो तर, निर्वाचित मुख्यमन्त्रीको कार्यालयमा छापामारी गर्नु अनुचित छ र यसको विरोध हामीले गरेका हौं’, मुख्यमन्त्रीका प्रेश सल्लाहकार आतिश मिश्रले भने।

 

Your Views
Related News