काठमाडौं : कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत काठमाडौंमा सम्पन्न नगर अधिवेशनको परिणाम आउन सुरू भएको छ। शनिबार काठमाडौं महानगरसहित १० नगरपालिका कांग्रेसको नगर अधिवेशन भएको थियो। नगर अधिवेशन भएका सात पालिकाको नेतृत्व चयन भइसकेको छ। काठमाडौं महानगरपालिकामा भने अहिले मतदान जारी छ। कीर्तिपुर नगरपालिका र चन्द्रागिरिमा सहमतिका लागि नेतृत्व चयनको प्रयास भइरहेको बताइएको छ।

काठमाडौंको अधिवेशनमा दुई समूहबीच प्रतिस्पर्धा भएको छ। अहिलेसम्म परिणाम सार्वजनिक भएका बहुमत नगरपालिकामा सिंह-थापा समूह विजयी भएको छ।

बुढानीलकण्ठ नगर समितिको सभापतिमा राजाराम बुढाथोकी विजयी भएका छन्। शनिबार भएको निर्वाचनमा बुढाथोकी एक सय ५५ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी राजन बुढाथोकीले ६८ मत पाएका थिए। बुढाथोकी गगन थापा निकटका मानिन्छन्।

तारकेश्वरको नगर सभापतिमा कृष्णहरि महर्जन विजयी भएका छन्। उनी सिटौला समूहबाट उम्मेदवार बनेका थिए।

कागेश्वर-मनहराको नगर अधिवेशनबाट उद्धव दाहाल सभापतिमा निर्वाचित भएका छन्। सभापति देउवा निकटका हुन्।

टोखा नगरपालिकाको नगर सभापतिमा ओमकृष्ण विमली निर्वाचित भएका छन्। सिटौला समूहका उम्मेदवार विमलीले दीपक जोशीलाई पराजित गरेका हुन्।

शंखरापुर नगरपालिकाको कांग्रेस सभापतिमा दीलिपकुमार श्रेष्ठ निर्वाचित भएका छन्। उनी प्रकाशमान सिंह निकटका हुन्।

गोकर्णेश्वर नगरपालिकामा कुमार लामा नगर सभापतिमा विजयी भएका छन्। सभापतिमा निर्वाचित लामा कांग्रेस नेता सिंह निकटका हुन्।

नागार्जुननगरपालिकामा भने सभापतिमा दुर्गा गौतम विजयी भएका छन्। उनले सभापति पदका प्रत्यासी अच्यूत पाण्डेलाई पराजित गरेका हुन्। गौतम र पाण्डे दुवै सिंह निकट मानिन्छन्।

काठमाडौं महानगरपालिकामा भने नयाँ नेतृत्वका लागि जारी मतदान भइरहेको छ। काठमाडौं महानगरको नेतृत्वका लागि प्रगतिमान रञ्जित र नीलकाजी शाक्य प्रतिस्पर्धामा छन्। दक्षिणकाली नगरपालिकामा भने एउटा वडाको अधिवेशन नभएका कारणले नगरमा शनिबार अधिवेशन हुन सकेन।

 

Your Views
Related News