काठमाडौं : बुद्ध एयरले आफ्नो जहाजमा कुनै खराबी नभएको प्रष्ट्याएको छ। काठमाडौंबाट विराटनगरका लागि उडेको जहाज त्यहाँ अवतरण गर्न नसकी काठमाडौं फर्किएको घटनापछि आएका विभिन्न टिकाटिप्पणीबारे बुद्ध एयरले स्पष्ट पारेको हो।

बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले सोमबार यात्रुहरुको हितमा जारी गरेको सूचनामा कुनै निहित स्वार्थ बोकेकाहरुले नकारात्मक सूचना फैलाइरहेको बताइएको छ। सूचनामा भनिएको छ, ‘सो जहाजबारे अध्ययन गरिएको प्रारम्भिक रिर्पोट नागरिक उड्ड्यन प्राधिकरणमा सोहि दिन बुझाएका थियौं। त्यसबेला सो जहाजमा प्राविधिक समस्या नभएको भनिएको थियो। ‘

बुद्धले आफ्ना जहाजहरु ठिक अवस्थामा रहेको दावी गरेको छ। काठमाडौंबाट विराटनगरका लागि ११ असोजमा उडेको बुद्ध एयरको जहाज ल्यान्ड हुन नसकेर पुन: काठमाडौं फर्काइएको थियो।

ल्यान्डिङ गियरमा समस्या देखिएपछि विराटनगर विमानस्थलमा जहाज अवतरण हुन सकेको थिएन। त्यहाँ अवतरण हुन नसकेपछि काठमाडौंमा ‘नर्मल’ अवतरण गरिएको थियो। जहाजमा ७६ जना यात्रु सवार थिए।

बुद्धएयरले सोमबार नागरिक उड्डयन प्राधिकरणलाई आन्तरिक जाँचबुझको रिपोर्ट बुझाएको छ। उक्त जहाजमा केही खराबी नभएको बुद्धएयर स्रोतले जनाएको छ।

 

Your Views
Related News