जोमसोम : पुरातत्व विभागकी उपसचिव सुभद्रा भट्टराईले उपल्लो मुस्ताङको लोमान्थाङमा  मानव सभ्यता सम्बन्धी भइरहेको अन्वेषण, नक्साङ्कन, उत्खनन् र फोटोग्राफी डकुमेन्टेसनको सम्पूर्ण अनुसन्धानको काम स्थगित भएको बतादएकी छिन्। सोमबार उपल्लो मुस्ताङको लोमान्थाङमा स्थानीय जनप्रतिनिधि र गाउँलेबीच भएको वार्ता विफल भएपछि उनले यससम्बन्धी हुँदै आएको सम्पूर्ण अनुन्धान योजना स्थगित गरी खारेज गरिएको जनाएकी हुन्।

उपसचिव भट्टराईले लोमान्थाङमा भइरहेको अनुन्धानको काममा गाउँलेले अवरोध गरेपछि सो कार्य स्थगित गरिएको बताइन्। उनले उत्खनन् गर्दा देउता रिसाउने भन्दै स्थानीयले उत्खनन् गर्ने कार्यमा रोक लगाएको र उनीहरूसँग भएको संवादमा कुनै प्रगति नभएको जानकारी दिइन्। उनले अनुसन्धान टोलीले सङ्कलन गरेका सामाग्री हस्तान्तरण गरी सो स्थानलाई सुरक्षा निकायकै रोहबरमा यथाअवस्थामा सम्याएर राख्ने जानकारी समेत दिइन्।

लोमान्थाङ गाउँपालिका अध्यक्ष सुवर्णकुमार विष्टको रोहबरमा दुई पक्षबीच भएको वार्तामा स्थानीयले पहाड खनेर उत्खनन्को कार्य गर्दा आफूहरुको कुल देउता रिसाउने भन्दै पुरातात्विक अन्वेषण, नक्साङ्कन, उत्खनन् र फोटोग्राफी डकुमेन्टेसनको रिसर्चको काम कुनै हालतमा अघि बढाउन नदिने अडान लिएका थिए। दुई पक्षबीच भएको छलफलमा स्थानीयले उत्खनन् गरिएको पहाडलाई देउताको स्वरुप मान्ने गरेको र जमिन खनेर उत्खनन् गर्दा देउता रिसाएर अनिष्ट हुने, असिना पर्ने, बालानाली नष्ट गर्ने जस्ता विश्वास रहेकोले स्थानीयको आग्रहमा यस क्षेत्रमा भइरहेको उत्खनन् कार्य तत्काल स्थगित गर्ने निर्णय बैठकले गरेको हो।

यस्तै बैठकमा  यसअघि भएको उत्खनन् कार्यमा भेटिएका सम्पूर्ण सामाग्री उत्खनन् गर्दै आइरहेको टोलीले गाउँपालिका कार्यालयलाई बुझाउने निर्णय गरेको छ। बैठकले अनुसन्धान टोलीले बुझाएका सामाग्री पालिकाको समन्वयमा सम्बन्धित ठाउँमा पुर्‍याउने सहमति भएको छ।

नेपाल सरकार पुरातत्व विभाग र गृह मन्त्रालयको अनुमति लिएर लोमान्थाङ पुगेको  विदेशी अनुसन्धान टोलीले गत असोज ६ गतेदेखि १६ गतेसम्म १० दिन लगातार काम गरेको थियो। सन् २०१० देखि बर्सेनि उपल्लो मुस्ताङको विभिन्न स्थानमा ऐतिहासिक अध्ययन अनुसन्धान गर्दै आइरहेको अमेरिकन स्टाई डोर फाउन्डेसनले नेपाल सरकार अन्तर्गत पुरातत्व विभाग र गृह मन्त्रालयको अनुमति लिएर उत्खनन्को काम थालेको थियो।

यसअघि प्राचीन सभ्यता उत्खनन् तथा अनुसन्धान गर्न पुगेको टोलीले जिल्ला प्रशासन कार्यालय, प्रहरी, एक्याप र स्थानीय निकाय लगायत सबै सरोकारवाला निकायलाई पूर्व जानकारी गराइएको थियो। तर प्रहरीका अनुसार स्थानीय जनप्रतिनिधिहरुले प्राचीन सभ्यता पत्ता लगाउने विषयको सन्दर्भमा आफूहरुलाई कुनै जानकारी नभएको बताएका छन्।

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सयौँ वर्ष पुराना ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदा लुकेर रहेको हुनसक्ने र त्यसको पहिचान गर्न विदेशी अनुसन्धान कर्ताको विज्ञ टोली उपल्लो मुस्ताङ पुगेको थियो।

 

 

Your Views
Related News