फेसबुकका संस्थापक मार्क जकरबर्गले उनको कम्पनीले उपलब्ध गराउने सामाजिक सञ्जालका सेवाहरू “अवरूद्ध” भएकोमा क्षमा मागेका छन्।

फेसबुकका सेवाहरू छ घण्टासम्म नचल्दा संसारभरि ३.५ अर्ब मानिसहरू प्रभावित भएका थिए।

सोमवार आन्तरिक प्राविधिक समस्याका कारण फेसबुक, मेसेन्जर ह्वाट्सएप र इन्स्टाग्राम नचलेपछि अर्बपति व्यवसायी जकरबर्गले माफी मागेका हुन्।

छ घण्टापछि ती सेवाहरू पुनः सञ्चालनमा आएका थिए।

यो घटनापछि सामाजिक सञ्जालको उक्त विशाल कम्पनीको पहुँच र प्रभावका बारेमा निगरानीका कदमहरू तीव्र हुन सक्ने बताइएको छ।

साथीभाइ र आफन्तसँग सम्पर्कमा रहन फेसबुकका सेवाहरूको प्रयोग गर्नेहरूदेखि लिएर सामाजिक सञ्जाल प्रयोग गरेर ग्राहक र सेवाग्राहीहरूसँग कारोबार गर्ने व्यवसायहरूमाथि उक्त घटनाले आर्थिक मार समेत पारेको छ।

केही समय फेसबुकको शेअरको भाउ घट्दा जकरबर्ग स्वयम्‌लाई पनि झण्डै छ अर्ब डलरको नोक्सान पुगेको एउटा वेबसाइट फर्चुनको सफ्टवेयरले देखाएको बताइएको छ।

फेसबुकले के प्राविधिक समस्या भएको हो भनेर गहिराइमा गएर बुझ्ने प्रयास गरिरहेको बताएको छ।

फेसबुक किन बन्द भयो?

सरल तरिकाले भन्ने हो भने फेसबुकको प्रणाली र इन्टरनेटबीचको सम्पर्क टुट्न पुगेको हो।

वेब संरचनासम्बन्धी कम्पनी क्लाउडफ्लेअरका अनुसार “कसैले एकै पटक फेसबुकका सबै डेटा सेन्टरबाट तार थुतेर इन्टरनेटसँगको सम्बन्धविच्छेद गराइदिएको जस्तै भएको हो।”

फेसबुकले दिएको स्पष्टीकरण भने अलि प्राविधिक खालको छ।

उसका अनुसार “डेटा सेन्टरहरूका बीचको नेटवर्क ट्राफिक संयोजन गर्ने मुख्य राउटरहरूमा भएका परिवर्तनहरूका कारण संचार सम्पर्कलाई अवरुद्ध पार्ने समस्या उत्पन्न हुन गएको थियो।”

फेसबुक चलाउन किन नमिलेको त?

इन्टरनेट भनेको लाखौँ लाख नेटवर्कहरूको सामूहिक संरचना हो।

फेसबुकजस्ता ठूला कम्पनीहरूको आफ्नै ठूला नेटवर्कहरू हुन्छन् जस्लाई अटोनोमस सिस्टम्स भनिन्छ।

कसैले फेसबुक (वा इन्स्टाग्राम वा ह्वाट्सएप) प्रयोग गर्न चाहेमा ब्याकएन्ड भनिने प्रणालीले कम्प्युटरहरूलाई इन्टरनेटमा हुलाक सेवाको जस्तै काम गर्ने बोर्डर गेटवे प्रोटोकल बीजीपीको प्रयोग गरेर आफ्ना नेटवर्कहरूमा जोडिन सघाउँछन्।

मानिसहरूलाई तिनले चाहेको वेबसाइटमा जोड्न बीजीपीले त्यसका लागि डेटाले यात्रा गर्न सक्ने उपलब्ध सबै बाटोहरू पहिल्याएर सबैभन्दा उत्तमलाई चयन गर्ने गर्छ।

सोमवार फेसबुकले त्यस्तो प्रणालीलाई सक्रिय रहनका लागि चाहिने जानकारी उपलब्ध गराउने प्रक्रिया एकाएक बन्द हुन पुगेको थियो।

जसको अर्थ कसैको पनि कम्प्युटरसँग फेसबुक र असका अन्य वेबसाइटहरूसँग जोडिने कुनै पनि बाटो उपलब्ध थिएन।

कस्तो प्रभाव पर्यो?

त्यस्तो महत्त्वपूर्ण इन्टरनेटमा आधारित सेवा प्रदायकमा खराबी देखिँदा त्यसको प्रत्यक्ष-परोक्ष प्रभाव संसारभरिका व्यक्ति र व्यवसायमा पर्ने नै हुन्छ।

इन्टरनेट सेवामा देखिने अवरोधहरूको निगरानी गर्ने डाउनडिटेक्टरका अनुसार फेसबुक सञ्चालन हुन नसकेको अवधिमा एक करोड छ हजार समस्याहरू देखिएका थिए।

केहीका लागि फेसबुक चलाउन नपाउनु त्यति ठूलो समस्या होइन।

तर विकासशील देशमा फेसबुकबाहेक आफ्ना ग्राहकसँग सम्पर्क गर्ने उपाय नभएका साना व्यवसायहरूका निम्ति भने यो निकै ठूलो समस्या हो।

फेसबुक स्वयममा पनि उक्त घटनाले यसको आम्दानी र स्टकको मूल्यलाई असर गरेर प्रभाव पारेको छ। फेसबुक नचल्नु भनेको यसमा देखिने विज्ञापनहरू पनि छ घण्टासम्म नचल्नु हो।

फेसबुकको शेअरको मूल्य घट्दा संस्थापक जकरबर्गको व्यक्तिगत धनमा पनि नोक्सान पुगेको अनुमान गरिएको छ।

केहीले उक्त कम्पनीलाई छ करोड डलर जति नोक्सान भएको हुनु पर्ने ठानेका छन्।

 

Your Views
Related News