काठमाडौं: नेपाली कांग्रेसको विभिन्न क्षेत्रमा भएका पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा (संस्थापन) पक्ष एकलौटी रुपमा अगाडि देखिएको छ । अधिवेशन सम्पन्न भएका पालिका र नगरको परिणामअनुसार देउवापक्ष एकल नै बहुमतमा देखिएको हो।

मंगलबार साँझसम्म परिणाम आएका ६ सय ५ वटा पालिकामध्ये २ सय ५० वटामा देउवा पक्षीय नेताहरु पालिकाको सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै, नेता रामचन्द्र पौडेल, कोइराला, प्रकाशमान सिंहलगायत पक्षका भने १ सय ८० जना मात्रै सभापतिमा निर्वाचित भएका छन् ।

सम्पन्न पालिका अधिवेशनमा नेता कृष्णप्रसाद सिटौला पक्षका १६ जना, विजय गच्छदार पक्षका २ जना र विमलेन्द्र निधि पक्षका २ जना निर्वाचित भएका छन् । त्यस्तैगरी कुन पक्ष हो भन्ने नखुलेका ४९ जना छन् ।

प्रदेश १ को १ सय ३६ पालिकामा भएको निर्वाचनमा देउवा पक्षले ६० स्थानमा सभापति जितेको छ भने पौडेल/कोइराला पक्षले ४९ स्थानमा मात्रै सभापति जित्न सफल भएको छ । त्यस्तैगरी प्रदेश १ मा सिटौला पक्षका १३ जना पालिका सभापतिमा निर्वाचित भएका छन् ।

बागमति प्रदेशमा सम्पन्न ९९ वटा पालिका अधिवेशनमा देउवा पक्षले ५३ स्थानमा सभापति जितेको छ। त्यस्तै कोइराला र पौडेल पक्षले भने बागमतीमा ३३ स्थानमा मात्रै सभापति जितेको छ । कतिपय भने कुनै पनि गुटमा खुलेका छैनन् ।

त्यस्तै,गण्डकी प्रदेशको सम्पन्न ८५ पालिकामा देउवा पक्षले ३९ स्थानमा जितेको छ । पौडेलको गृह प्रदेश गण्डकीमा उनी र कोइराला पक्षका २७ जनाले मात्रै पालिको सभापतिमा जित हाँसिल गरेका छन् ।

लुम्बिनी प्रदेशमा सम्पन्न ८८ पालिका अधिवेशनमा पनि देउवा पक्ष अगाडि देखिएको छ । लुम्बिनीमा देउवा पक्ष ३५ स्थानमा सभापति जित्न सफल भएको छ । लुम्बिनीमा पौडेल र कोइराला पक्षका भने २९ जनाले मात्रै सभापति जितेका छन् । त्यहाँ पनि कतिपय भने कुन पक्षको भन्ने खुलेका छैनन् ।

कर्णालीमा अधिवेशन सम्पन्न भएका ६२ पालिकामध्ये देउवा पक्षले ३६ स्थानमा जितेको छ । त्यस्तै कोइराला र देउवा पक्षले भने २६ स्थानमा पालिका सभापतिमा जितेको छ । कर्णालीमा पनि कपितय निर्वाचित सभापतिहरु कुन पक्षमा हो भन्ने प्रष्ट खुलेका छैनन् ।

सुदूरपश्चि प्रदेशका सम्पन्न १९ पालिका अधिवेशनमा देउवा पक्ष १७ स्थानमा विजयी भएको छ। त्यहाँ कोइराला र पौडेल पक्षले भने बझाङको १ ठाउँमा मात्रै जितेको छ। सुदूरपश्चिममा अधिकांश क्षेत्रमा पालिका अधिवेशन हुन बाँकी छ।

 

Your Views
Related News