झन्डै ७ महिना अघि काँडाघारी बस्दै आएका सुबिन्द्र कार्कीले वर्ल्ड लिंक कम्युनिकेशनको २५ मेगाबिट्स पर सेकेन्ड(एमबीपीएस) गतिको इन्टरनेट जोडे । कोरोनाका कारण घरमै बस्नुपरेको र अफिसको काम पनि ‘वर्कफ्रम होम’ भएपछि इन्टरनेट जोड्न उनी बाध्य भए ।

सुरुमा उनले २० एमबीपीएस इन्टरनेट लिन खोजे पनि प्याकेज नभएको कम्पनीले जनाए पछि २५ एमबीपीएसको प्याकेज लिएका थिए ।

अहिले वर्ल्ड लिंकले एउटा म्यासेज पठाएको भरमा २५ एमबीपीएसको इन्टरनेटलाई ४५ एमबीपीएस पुर्याएको बताए । ‘मलाई २५ एमबीपीएसले नै पुगिरहेको थियो,अफिसको काम समेत चलिरहेको थियो’ उनले भने ‘अहिले मेरो डिमान्ड बिना नै एमबीपीएस सहित शुल्कपनि बढेर बिल आएको छ’ ।

स्वीकृति बिना ब्यान्डवीथ र शुल्क किन बढाएको भन्ने प्रश्न गर्दा उनले गतिलो जवाफ पाएनन् । कार्कीले ४५ एमबीपीएसकै इन्टरनेटले काम चलिरहेको र शुल्क पनि बढी भएकाले २५ एमबीपीएस गतिकै इन्टरनेट दिन आग्रह गरेपनि २५ एमबीपिएस इन्टरनेट नपाइने वर्ल्ड लिंकले बतायो । यद्दपि नयाँ जोडिने ग्राहकलाई भने २५ एमबिपिएस गतिकै इन्टरनेट उपलब्ध गराइरहेको छ ।

मागेको प्याकेज दिन नमानेपछि इन्टरनेट सेवाप्रदायक नै परिवर्तन गर्ने मोडमा उनी छन । त्यस्तै डिल्लीबजार बस्दै आएका निरोज खत्री भायानेटको इन्टरनेट चलाउँछन् । उनले पनि अनुमति बिना भायानेटले व्यान्डवीथ बढाएको आरोप लगाएका छन् । उनले पनि इन्टरनेट व्यान्डवीथ बढाएर २५ एमबीपीएसबाटै ४५ एमबिपिएस पुर्याएको गुनासो गरेका छन् ।

‘हामी तीन जनाले इन्टरनेट चलाउछौं,त्यही पनि शुरुमा जोडेकै नेटले राम्रो पर्फमेन्स दिइरहेको थियो’ निरोजले भने ‘तर,भायानेटले शुल्कमा थप भार पर्नेगरी हाम्रो अनुमति नलिई व्यान्डवीथ बढायो तर,रेस्पोन्स गरेन’ ।

इन्टरनेट सेवाप्रदायकले ग्राहकको स्वीकृति नलिई शुल्क र व्यान्डवीथ बढाएको बिषयमा सुबिन्द्र र निरोज गुनासो गर्ने प्रतिनिधि पात्र मात्रै हुन् । अहिले हरेक इन्टरनेट सेवाप्रदायकले यस्तै फण्डा मच्याइरहेका छन् ।

ठूला प्याकेजमा बढी नाफा हुने भएपछि साना प्याकेजमा सन्तुष्ट भएका ग्राहकको पनि ब्यान्डवीथ बढाएर सेवाप्रदायक बढी शुल्क असुल्न असुल्न थालेका छन् ।

कम मूल्यका इन्टरनेट प्याकेजलाई बढाएर ठूला प्याकेजमा ग्राहकलाई रुपान्तरण गर्ने नेपालका इन्टरनेट सेवाप्रदायकहरुले रणनीति नै बनाएका छन । कम शुल्कका प्याकेजमा बढी ग्राहकको गाली खाएको बहाना पार्दै ग्राहकलाई ठूला इन्टरनेट प्याकेज लिन बाध्य पार्न थालेको छन् ।

अहिले १०, १५, २० एमबीपिएसको इन्टरनेट प्याकेज नीजि सेवाप्रदायकसँग छँदैछैन । हाल नयाँ इन्टरनेट जोड्ने ग्राहकलाई २५ एमबीपिएसका प्याकेज दिने तर, केही महिना लगत्तै व्यान्डवीथ बढाउने कार्य सेवाप्रदायकबाट भइरहेको छ ।

इन्टरनेटमा कार्टेलिङ

वर्ल्ड लिंक मात्रै होइन भायानेट,क्लासिक टेक, सुविसु, लगायतका कम्पनीहरुले पनि आफु खुशी ब्याण्डवीथ बढाएर शुल्क बढी उठाउदै आएको सेवाग्राहीको गुनासो छ । अहिले  लाखौं सेवाग्राहीको सेवामा कम्पनीहरुले कार्टेलिङ गरिरहेका छन्। सस्तो प्याकेजको इन्टरनेट लिनका लागि ग्राहकसँग कुनै विकल्प छैन ।

पुराना ग्राहकलाई सस्तो भनिएको इन्टरनेट प्याकेज दिन नमिल्ने बताउँदै आएका इन्टरनेट सेवाप्रदायक नयाँ ग्राहककलाई भने लोभ्याउन शुरुमा सस्तो प्याकेज उपलब्ध गराउने र अपग्रेड वा रिन्युको नाममा अनुमति बिना ब्याण्डवीथ सहित शुल्क पनि बढाउने गरेका छन्। उपभोक्ताले आफ्नो अनुकूल भन्दा पनि सेवाप्रदायकले भने बमोजिमको प्याकेज लिन बाध्य बनाएका छन् ।

के भन्छ नियामक ?

दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणमा यस्ता प्रकृतिकाे उजुरी आउने भएपनि यो बिषयमा कुनै चासो दिएको देखिदैन । सेवाप्रदायकको सेवा शुल्कमा देखाएकाे कार्टेलिङ रोक्न नियामकसँग कुनै संयन्त्र नै छैन ।

यतिबेला नियामक सेवाप्रदायकले दिएको ट्यारिफ रेटलाई स्वीकृति दिने मात्रै काम गर्दै आएको छ ।

प्राधिकरण पनि साना प्याकेजलाई प्रतिस्थापन गर्नुपर्ने लाइनमै उभिएको प्राधिकरणका एक अधिकारीले बताए । ‘हामीले सेवाप्रदायकको इन्टरनेट सेवाको कार्टेलिङमा कुन मोडालिटी वा निर्देशिका बनाएर नियमन गर्ने भन्ने बिषयमा छलफल पनि गरेका थियौं’ उपभोक्ता शाखाको एक अधिकारीले भने ‘तर, नेतृत्वको असहयोगका कारण सेवाप्रदायकको ज्यादति धेरै छ’ ।

प्राधिकरणले यो बिषयमा कुनै निर्णय गर्न नसक्दा इन्टरनेट प्याकेज र ट्यारिफमा सेवाप्रदायकको दादागिरी बढ्दो क्रममा छ । खासगरी उपभोक्ताले आफुलाई चाहे अनुकुलको ब्याण्डवीथ लिन पाउनुपर्ने हो। तर, यहाँ सेवाप्रदायकले कार्टेलिङ गरेर ३० एमबीपीएस भन्दा तलका इन्टरनेट प्याकेज नलिन नपाउने व्यवस्था गरेका छन जुन उपभोक्ताको हीतभन्दा विपरित छ ।

हाल टेलिकमले मात्रै १५ एमबिपिएस माथिका फिक्सड इन्टरनेट सेवा दिएरहेको छ जुन निजी सेवाप्रदायकेको ४५ एमबीपीएस भन्दा गुणस्तरीय रहेको ग्राहकको भनाई छ ।

साना प्याकेजलाई विस्तापित गर्ने रणनीति

इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान) पनि साना प्याकेजले ग्राहकको आवश्यक्तालाई सन्तुष्टि नदिने जनाएको छ । आईस्पानका अध्यक्ष सुधीर पराजुलीले ग्राहकहरुलाई थाहा नै नदिइ व्यान्डवीथ बढाउने,विलिङ् गर्ने गरेको भन्ने गुनासो सेवाप्रदायक समक्ष नआएको बताए । ‘फिक्सड् ब्रोडव्यान्डको हकमा हामीले समय सकिने वित्तिकै इन्टरनेट काटिदिने गरेका छौं’ पराजुलीले भने ‘अहिले इन्टरनेट सेवाप्रदायकले साना प्याकेज विस्तारै प्रतिस्थापन गर्दै लगेका छन’ ।

उनका अनुसार सेवाप्रदायकले इन्टरनेट सेवाको प्याकेजिङ र मार्केटिङ गर्ने तरिका छुट्टाछुट्टै हुन्छ । पराजुलीले भने ‘हामीले इन्टरनेटको जहिल्यै हाई व्यान्डवीथ प्याकेजको मार्केटिङ गछौं । पछिल्लो समय इन्टरनेटको कन्टेन्ट पनि बढ्दै गएको छ ।

भिडियो कन्टेन्ट बढी चल्न थालेको छ । फोटो हाई क्वालीटीको,फोरके प्रविधि र भिडियो कन्टेन्ट व्यापक रुपमा आइरहेका छन’ । त्यसो हुँदा १० एमबीपीएस इन्टरनेट प्रत्येक घरमा ४ जनाले चलाउँदा इन्टरनेट सुस्त हुने उनको भनाई छ ।

इन्टरनेट सुस्त भएपछि कलसेन्टरमा गालीको बर्षा हुनेगरेकोमा उनले अपत्ति जनाए । ‘अबको दुई बर्षभित्र साना इन्टरनेट प्याकेज हुँदैनन् । इन्टरनेट कन्टेन्ट बढिरहेको छ भने सो कन्टेन्ट चल्नको लागि हाई ब्यान्डवीथ नै चाहिन्छ’ पराजुलीले भने ।

 

Your Views
Related News