जोमसोम : मुस्ताङका बालबालिकामा निमोनिया देखिएको छ। निमोनियाका कारण पछिल्लो साता दुई दर्जन बालबालिका बिरामी परेसँगै अस्पतालको बिरामी राख्ने बेड भरिएको जिल्ला अस्पताल जोमसोमले जनाएको छ। बिरामी बढेसँगै अस्पताल र स्वास्थ्य चौकीमा उपचार गराउन आउने बालबालिको संख्या दिनहुँ वृद्धि भईरहेको छ।

मुस्ताङ अस्पतालमा भर्ना भएका अधिकांश बालबालिकामा निमोनियाको समस्या देखिएको अस्पतालको मेडिकल सुपरिटेन्डन मनोज घिमिरेले जानकारी दिए। उनका अनुसार बालबालिकाहरु रुघाखोकी, ज्वरो, छातीमा घ्यार/घ्यार हुनुको साथै श्वाशप्रश्वास लगायतको समस्या देखिएको हो। ‘एक्कासी बालबालिकाहरु धमाधम बिरामी पर्न थालेका छन्, मेसु घिमिरेले भने,‘ उपचारमा आएका बालबालिका मध्ये सबैजसोमा निमोनिया र ज्वरो आदिको समस्या छ।’ दुई साताको फेरोमा अस्पतालमा करिव ३ दर्जन बालबालिकामा यस्तो समस्या देखिएको उनको भनाई छ। उनका अनुसार अस्पतालमा भर्ना हुन आएका २ महिनादेखि ३ वर्षका बालबालिकामा निमोनियाको समस्या देखिएको हो।

जोमसोम अस्पतालमा भर्ना भएका मध्ये दुई दर्जन बिरामी उपचारपछि घर फर्किएका छन्। उपचार गराई रहेका एक दर्जन बढी बिरामी अस्पतालमै रहेको अस्पतालले जनाएको छ। कोरोना भाईरस संक्रमणको लक्षणसँगै मिल्दोजुल्दो भएकाले अस्पतालले बालबालबालिकाहरुको एन्टिजेन परीक्षण समेत गराएको छ।

अस्पताल भर्ना भएका बालबालिका सबैको रिपोर्ट नेगेटिभ आएपनि जिल्ला अस्पतालले भने बढी लक्षण देखिएका १३ जना बालबालिकाको नमूना स्वाब परीक्षणका लागि बुधबार पोखरा पठाएको मेसु घिमिरेले जानकारी दिए। स्वाब पठाएका बालबालबालिकामा श्वाश प्रश्वासको समस्या देखिएकाले अक्सिजन दिएर राखेको उनले बताए। कोरोना भाईरसको तेश्रो लहर बालबालिकामा हुने भएका कारण बालबालिकाका अभिभावक त्रसित बन्न थालेका छन्।

मुस्ताङमा १८ वर्षदेखि माथिका सबै नागरिकले कोरोना विरुद्धको खोप प्राप्त गरिसकेको भएपनि बालबालिकामा रुघाखोकी, ज्वरो र छातीको समस्याले कोरोनाकै कारण उब्जिएको समस्या होकी भन्दै अभिभावकहरुमा चिन्ता थपिएको छ। जिल्ला अस्पतालमा अक्सिजनसहित भर्ना भएका बालबालिकाको अवस्था भने सामान्य रहेको जनाईएको छ।

मुस्ताङमा गर्मीयामसँगै जाडो समय सुरु भएको र मौसम परिवर्तनका कारण पनि निमोनियाको समस्या आउन सक्ने जोमसोम अस्पतालको भनाई छ। तर,भर्ना भएका बालबालिकाको विस्तृत रिपोर्ट आएपछि मात्र बिरामी हुनुको कारण पत्ता लाग्न सक्ने अस्पतालले बताएको छ।

 

Your Views
Related News