एक जना आत्मघाती बम हमलाकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समयमा आक्रमण गर्दा कम्तीमा ५० जना मारिएको अधिकारीहरूले बताएका छन्।

त्यहाँ १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ।

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा कैयौँ शवहरू र अल्पसङ्ख्यक सिया समुदायले प्रयोग गर्ने मस्जिदका भग्नावशेषहरू देखिन्छन्।

हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

इस्लामिक स्टेट सहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई पाखण्डी ठान्दै निशाना साँध्ने गरेका छन्।

इस्लामिक स्टेटको अफगानिस्तानमा रहेको भातृ संस्था आइएस-केले हिंसात्मक रूपमा नै तालिबानको विरोध गर्दै आएको छ।

उसले हालैका दिनमा देशका पूर्वी क्षेत्रहरूमा कैयौँ बम हमलाहरू गरेको थियो।

अस्पतालहरूमा रगत अभाव भए या नभएको हेर्न पुगेका स्थानीय व्यापारी जलमाइ अलोकजाइले अस्तव्यस्त दृश्य देखेको बताएका छन्।

“मृतकका शवहरू सङ्कलन गर्न एम्बुलेन्सहरू घटनास्थलतर्फ गइरहेका थिए,” उनले एएफपी समाचार संस्थासँग भनेका छन्।

सत्ताबाट अमेरिकी सैन्य बलले हटाएको दुई दशकपछि यसै वर्ष तालिबानहरूले अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गरेका थिए।

विदेशी फौजहरू फर्किएसँगै उनीहरूले देशैभरी कब्जा गर्दै काबुल नियन्त्रणमा लिएका थिए।

काबुलस्थित बीबीसीका एक जना संवाददाता भन्छन्, “हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा नलिए पनि यो हमलाले गएको अगस्टमा काबुलको विमानस्थलमा शक्तिशाली बम हमला गराएको आइएस केको संलग्नतासँग मिल्ने झल्को पाइएको छ।”

धैरै अफगानहरूले तालिबानले शक्ति हातमा लिएपछि निरङ्कुशता देखा परे पनि शान्ति छाउने अपेक्षा गरेका थिए।

तर आइएस समूहले सुरक्षा सुधार गर्ने तालिबानको वाचामा महत्त्वपूर्ण जोखिम थपेको उनको विश्लेषण छ।

 

Your Views
Related News