ढल्केवर : धनुषामा एक महिलाले आफ्नो दुई नाबालक छोराको हत्यापछि आत्महत्या गरेकी छन्। शुक्रबार साँझ नगराइन नगरपालिका–४ फुलगामाकी २४ वर्षीया गुडिया साहले दुई छोराको हत्या गरेर आफूले आत्महत्या गरेकी हुन्।

गुडियाले आत्महत्या गर्नुअघि ५ वर्षीय छोरा अभिषेक साह र ३ वर्षीय छोरा आदित्य साहलाई नरिवलको डोरीले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ। घरमा श्रीमान नभएको बेला दुबै छोराको हत्यापछि घरमै रहेको सिलिङ पंखामा पासो लगाएर गुडियाले आत्महत्या गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

उनका अनुसार घटनाको बखत गुडियाका श्रीमान गुरुदेव साह कामको शिलशिलामा जनकपुरमा थिए। ‘गुरुदेव लेबरको काम गर्छन्। प्रायजसो दिनभर बाहिर बाहिर काम गर्ने उनको दैनिकी छ,’ अन्नपूर्णसँग डीएसपी बस्नेतले भने ‘घटनाको बेला उनी जनकपुरमा थिए। घटनाको कारण खुलिनसकेको अवस्था छ। हामी अनुसन्धान गर्दैछौं।’

अनुसन्धानबाट थप कुरा खुल्ने डीएसपी बस्नेतको भनाइ छ। तीनैजनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

१० वर्षअघि गुडिया र गुरुदेवले प्रेम विवाह गरेका थिए। तर गुडियाका माइतिपक्षले उनीहरुको विवाह अझैसम्म स्वीकार नगरेको पाइएको प्रहरीको भनाइ छ। माइतीपक्षले आफ्नो विवाह अस्वीकार गरेकै कारण गुडियाले छोराहरुको हत्यापछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ।

 

Your Views
Related News