नेपाली काँग्रेस संसदीय दलकाे नया बानेश्वरमा बसेकाे बैठक । बैठकमा बाेल्दै प्रम शेरबहादुर देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सबैलाई समेटेर अगाडि बढ्ने बताएका छन्। शनिबार बिहान बालुवाटारमा ‘विश्वेश्वरप्रसाद कोइराला : शताब्दी सन्दर्भ’पुस्तक विमोचन गर्दै उनले मन्त्रिमण्डल विस्तारमा छुटेका सहकर्मीलाई उचित स्थान दिने आश्वसन दिएका हुन्।

उनले मन्त्रिमण्डल विस्तारमा छुटेका साथीहरुलाई आगामी दिनमा पार्टीमा उचित जिम्मेवारी दिने जानकारी गराए। उनले गठबन्धनको सरकार भएकाले कांग्रेसका क्षमतावान र सक्षम नेतालाई मन्त्री बनाउन नसकेको धारणा राखे।

प्रधानमन्त्री नियुक्त भएको ८८ दिनपछि देउवाले शुक्रबार मन्त्रिमण्डललाई पूर्णता दिए। झन्डै तीन महिनासम्म पाँच मन्त्रीको भरमा देश चलेको थियो। मन्त्रिपरिषद् विस्तारको तयारी हुँदा सरकारसँग प्रधानान्यायाधीश चोलेन्द्रशमशेर जबराको पनि नाम जोडियो। जबराले वन र उद्योग मन्त्रालय मागेका थिए। यो विषयलाई लिएर बारले आपत्तिसमेत जनाएको थियो।

शुक्रबार उद्योगमन्त्री गजेन्द्रबहादुर हमाल बने। हमाल प्रधानन्यायाधीश जबरा निकट मानिन्छन्। जबराले भने हमाल पुराना देउवा निकट नेता भएकाले मन्त्री बन्न सक्ने यसअघि नै प्रतिक्रिया दिएका थिए। सर्वोच्चमा सत्ता गठबन्धनका दलहरूको आधिकारिकता विवाद, माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दा तथा संवैधानिक नियुक्ति बदरलगायतका मुद्दाहरू विचाराधीन रहेकाले कम्फरटेबल बनाउन हमाल मन्त्री बनेका हुन्।

कांग्रेसका ८, माओवादी केन्द्रका ५, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका  ४ जना मन्त्री बनेका छन्। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट १/१ जना राज्यमन्त्री बनेका छन्। केहीको जिम्मेवारी हेरफेर गरिएको छ। उपप्रधानमन्त्री भने कसैलाई पनि बनाइएको छैन।

चार दलीय गठबन्धनको भागबन्डामा विवाद भएपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। मन्त्रिपरिषद्मा १२ जना खस आर्य छन्। ८ जना जनजाति छन्। ४ जना मधेसी, १ जना दलित छन्। महिला ६ जना मन्त्री बने।

मन्त्रिपरिषद्मा कांग्रेसका तर्फबाट कानुनमन्त्री बनेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालय मातहत रहने गरी राज्यमन्त्री बनाइएको छ।

 

Your Views
Related News