कांग्रेसका प्रतिनिधिमण्डल उत्तरप्रदेशस्थित मुख्यमन्त्री आदित्यनाथको कार्यालयमा मुख्यमन्त्री आदित्यनाथसँग शनिबार भेटवार्ता गर्दै । तस्बिर : डा.प्रकाशशरण महतको सचिवालय

काठमाडौं : भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच शनिबार बिहान भेटवार्ता भएको छ । उत्तरप्रदेशस्थित मुख्यमन्त्री आदित्यनाथको कार्यालयमा आज भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको सो प्रतिनिधिमण्डलको नेतृत्व गरेका नेपाली कांग्रेका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

भेटमा आफूहरुले नेपाल–भारत सम्बन्ध द्विपक्षीयहित तथा दुई देशबीचका राजनीतिक धार्मिक सांस्कृति ऐतिहासिक एवं जनताबीचको सम्पर्कका विविध आयामका बारेमा कुरा उठाएको जानकारी डा. महतले दिए । भेटका क्रममा मुख्यमन्त्री आदित्यनाथले नेपालसँग सम्बन्धित विविध मुद्दा एवं विषयवस्तुलाई भारतले सधैँ प्राथमिकतामा राखेको बताए ।

मुख्यमन्त्रीले भारतले नेपालसँगको सम्बन्धलाई मुख्य प्राथमिकतामा राखेको जनाउँदै नेपाल र नेपालको राष्ट्रियता बलियो हुँदा भारतको हित हुने बताएका थिए। भेटमा आफूले बनारसमा रहेको नेपाली मन्दिर हिन्दू करिडोर निर्माणका क्रममा विस्थापित हुनुसक्ने विषयमा चासो राखेको र मुख्यमन्त्री आदित्यनाथले उक्त मन्दिर त्यहाँबाट विस्थापित नहुने र उचित स्थानमा निर्माण हुने विषयमा आफूले निर्देशन दिइसकेको जानकारी पनि दिएको डा महतले बताए।

भारतीय जनतापार्टीको निमन्त्रणामा तीनदिनअघि भारत गएको डा. महत नेतृत्वको सो प्रतिनिधिमण्डलमा कांग्रेका नेताद्वय उदयशमशेर राणा र अजय चौरसिया छन् । आजको भेटमा भारतीय जनतापार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र अर्का नेता आश्विन जोहर थिए ।

 

Your Views
Related News