कोरोनाभाइरस विरुद्धको खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्ने सरकारको पछिल्लो योजनाअनुसार नेपालको एउटा कम्पनीलाई काम अगाडि बढाउन अनुमति दिइएको अधिकारीहरूले बताएका छन्।

चिनियाँ खोप उत्पादनका लागि सरकारले उक्त कम्पनीलाई सुविधा दिन सक्ने समेत एउटा कार्यदलले सरकारलाई सिफारिस गरिसकेको र त्यसैअनुसार प्रारम्भिक काम भइरहेको उनीहरूको भनाइ छ।

कोरोनाभाइरस विरुद्धको खोप अहिले नेपालले विभिन्न देशबाट आयात गर्दै आएको छ।

कोरोनाभाइरस सङ्क्रमणका विभिन्न लहरका सम्भावनाबीच सरकारले आफ्नो नीति तथा कार्यक्रममा कोरोनाभाइरस विरुद्धको खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्ने उल्लेख गरेको छ।

सरकारको सहयोगमा निजी क्षेत्रले उत्पादन गर्ने र त्यसका आवश्यक प्रक्रियामा सघाउनका लागि कार्यदल पनि बनाइएको छ।

सरकारले के के सहयोग गर्छ?

उक्त कार्यदलले एक महिनासम्म काम गरेर आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको र एउटा कम्पनीलाई काम अगाडि बढाउन अनुमति समेत दिइसकेको बताइएको छ।

कार्यदलका संयोजक समेत रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले भने, “हामीले दिएको प्रतिवेदनका आधारमा सरकारले खोप उत्पादन गर्ने सन्दर्भमा उद्योगलाई केही सुविधा दिने भनेर मन्त्रिपरिषद्‌बाट निर्णय गरेर एउटा कम्पनीले अनुमति समेत लिएको अवस्था छ।”

“हामीले करका सुविधा, कम्पनीलाई आवश्यक पर्ने जग्गा उपलब्ध गराउने, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने जस्ता सुविधाका बारेमा प्रतिवेदनमा राखेका छौँ।”

अनुमति पाउने कम्पनी कुन?

त्यसरी अनुमति पाएको कम्पनी नेपाली कम्पनी रहेको र चिनियाँ खोप उत्पादन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भने, “निजी क्षेत्रको देउराली जनता फर्मास्युटिकल्स उद्योगले चीनमा बनेको एमआरएनए खोप उत्पादनको प्रयास गरिरहेको छ। अध्ययनका क्रममा रहेका खोपहरू परीक्षणका लागि फाइलहरू रोकिएको थियो।”

“त्यो कार्यविधि पारित भएर दुईवटा खोपको नेपालमा उत्पादन र अध्ययनका लागि समेत मन्त्रिपरिषद्ले अनुमति दिने निर्णय गरिसकेको छ। देउराली जनता फर्मास्युटिकल्स उद्योगले खोप उत्पादनका सन्दर्भमा केही काम अगाडि बढाएको होला।”

अझै धेरै काम बाँकी

तर भ्याक्सिन ल्याब स्थापनाका लागि प्रारम्भिक अनुमति पाएको औषधि उत्पादक देउराली जनता फर्मास्युटिकल्स उद्योगका कार्यकारी निर्देशक हरिभक्त शर्माले यसमा भएका प्रगतिबारे दशैँपछि मात्रै जानकारी दिन सकिने बताए।

औषधि व्यवस्था विभागले भ्याक्सिन ल्याब स्थापनाका लागि उक्त कम्पनीले अझै धेरै काम गर्न बाँकी रहेको जनाएको छ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले हालको अनुमति भ्याक्सिन ल्याब स्थापनाका लागि आवश्यक व्यवस्था गर्नका निम्ति दिइएको र ती सबै प्रक्रिया पूरा भएपछि मात्र दर्ता गरेर उत्पादन अनुमतिको प्रक्रियामा जाने बताए।

 

Your Views
Related News