उत्तर कोरियाले आफ्नो देशको रक्षाका लागि हतियार विकास गर्न आवश्यक रहेको बताउँदै आएको छ

उत्तर कोरियाली नेता किम जङ-अनले अमेरिकाको शत्रुतापूर्ण नीति विरुद्ध कसैले पराजित गर्न नसक्ने ‘अजेय सेना’ बनाउने प्रण गरेको त्यहाँको राज्य सञ्चालित समाचार माध्यमले जनाएको छ।

किम जङ-अनले हतियारको विकास युद्ध शुरू गर्नका लागि नभै आत्म सुरक्षाका लागि भएको बताए।

थरीथरीका विशाल क्षेप्यास्त्रहरू राखेर आयोजना गरिएको दुर्लभ प्रकारको सुरक्षा प्रदर्शनीका बेला उनले त्यस्तो टिप्पणी गरेका हुन्।

उत्तर कोरियाले हालै ‘हाइपरसोनिक’ र विमानभेदी क्षेप्यास्त्र भएको दाबी गरिएका हतियार परीक्षण गरेको थियो।

त्यसैगरी दक्षिण कोरियाले पनि हालै पनडुब्बीबाट हान्ने हतियार परीक्षण गरेको छ।

प्योङयाङमा भएको आत्म सुरक्षा सम्बन्धी २०२१ सैन्य प्रदर्शनीमा किमले दक्षिणको सैन्य विकासलाई सम्बोधन गर्दै उनले आफ्नो छिमेकीसँग लडाइँ गर्न नचाहेको बताए।

उनले भने, “हामी कसैसँग पनि युद्धबारे छलफल गरिरहेका छैनौँ बरु युद्ध रोक्न र राष्ट्रिय सार्वभौमसत्ता जोगाउनका लागि काम गरिरहेका छौँ।”

उत्तर र दक्षिण कोरियाबीच तनाव बढाउन भूमिका खेलेको भन्दै किमले अमेरिकाको आलोचना गरे।

अमेरिकाको उत्तर कोरियाप्रति व्यवहार ‘शत्रुतापूर्ण’ रहेको उनले बताए।

जो बाइडन नेतृत्वको अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न चाहेको दोहोर्‍याउँदै आएको छ तर प्रतिबन्ध खुकुलो गरिनुअघि प्योङयाङले आणविक हतियार त्याग्नुपर्ने बताएको छ। तर उत्तर कोरियाले त्यो अस्वीकार गर्दै आएको छ।

संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियामाथि ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ। तर उत्तर कोरियाले त्यो प्रतिबन्ध उल्लङ्घन गर्दै आएको छ त्यसैकारण उ विरुद्ध विभिन्न किसिमका नाकाबन्दी लगाइएको छ।

गत महिना राष्ट्र सङ्घीय एटोमिक एजेन्सीले उत्तर कोरियाले एउटा आणविक हतियारमा प्रयोग हुने प्लुटोनियम उत्पादन गर्न सक्ने ‘रियाक्टर’ पुन: शुरू गरेको जस्तो देखिएको भन्दै चिन्ता जाहेर गरेको थियो।

 

उत्तर कोरियाले आफ्नो सुरक्षाका लागि हतियार विकास निरन्तर गर्न आवश्यक रहेको बताउँदै आएको छ।

कोभिडका कारण चीनसँगको सीमा बन्द भएपछि उत्तर कोरियाले पछिल्ला दिनमा आर्थिक र अन्य सङ्कट भोग्दै आएको छ।

 

Your Views
Related News