विराटनगर : बाढी र डुबानका कारण मोरङको सुनवर्षी नगरपालिकाभित्र बसोबास गरिरहेका ४ सय ४८ परिवार विस्थापित भएका छन्।

बाढीले सुनवर्षी नगरपालिका–३, ४, ६ र ७ नम्बर वडाका बासिन्दा विस्थापित बनेको स्थानीय प्रशासनले जनाएको छ। बेमौसमको वर्षासँगै आएको बाढीले क्षति पुर्‍याउनुका साथै घरहरु डुबानमा परेपछि विस्थापित भएकाकाहरु नजिकैको विद्यालयमा आश्रय लिएर बसिरहेका छन्। कतिपय परिवार त्रिपालमुनि बसिरहेका छन्।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार बाढी तथा डुबानका कारण सुनवर्षीको ६ र ७ नम्बर वडा सबैभन्दा बढी प्रभावित बनेका छन्। ‘बाढीका कारण विस्थापित भएकाहरु कष्टकर जीवन बिताउन बाध्य छन्,’ उनले भने, ‘उनीहरुलाई पुनस्र्थापनका लागि स्थानीय प्रशासनको तर्फबाट पहल भइरहेको छ।’

बाढीबाट प्रभावित बनेकालाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खाद्यान्न लगायतका राहत सामग्री वितरण गर्न थालिएको जानकारी दाहालले दिए। प्रजिअ दाहालको नेतृत्वमा नेपाल र सशस्त्र प्रहरीका प्रमुखसहित पुगेको टोली पीडितहरुलाई राहत वितरण गरेर शुक्रबार राति विराटनगर फर्किएको छ।

उनका अनुसार विराट व्यापार संघ, मोरङ व्यापार संघ र उद्योगी व्यवसायीसँगको समन्वयमा खाद्यान्न एवं उपभोग्य वस्तुसहितको राहत सामग्री संकलन गरेर पीडितहरुका लागि वितरण गरिएको दाहालको भनाइ छ। उनका अनुसार प्रभावित स्थानका पीडितको अवस्था हेरेर प्राथमिकताका आधारमा वितरण गर्ने गरी राहत सामग्री नगर प्रमुख र वडाध्यक्षलाई हस्तान्तरण गरिएको छ। पहिलो चरणमा बाढी पीडितका लागि १ सय ४० थान त्रिपाल, १ सय २ थान कम्बल, २ सय ५० थान म्याट्रेस, साढे ८ क्वीन्टल चामल, २ सय किलो नुन, ३ क्वीन्टल चिउरा, २० कार्टुन पानी लगायतका राहत सामग्री वितरण गरिएको जानकारी प्रजिअ दाहालले दिए।

बाढी पीडितका लागि उपलब्ध गराइएको राहत सामग्री सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दासलाई हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल। तस्बिर : अन्नपूर्ण

बाढी प्रभावित क्षेत्रमा फैलनसक्ने विभिन्न रोगको सम्भावित संक्रमणलाई ध्यानमा राखेर  स्वास्थ्य कार्यालयमार्फत जीवनजल लगायत प्राथमिक उपचार औषधिहरु पठाइसकिएको उनले बताए। ‘बाढी पीडितलाई आवश्यक सबै खालको सहयोग गर्न निर्देशन दिइएको छ,’ दाहालले भने, ‘थप सहयोग आवश्यक परेमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सयोग गरिने छ।’ राहत वितरणमा एकद्धार प्रणाली अपनाइएको उनले बताए।

उनका अनुसार प्रभावित क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन पनि तीव्र पारिएको छ। क्षतिको विवरण संकलनका लागि नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, सरकारी कर्मचारी र रेडक्रसकर्मी परिचालित रहेको जानकारी प्रजिअ दाहालले दिए। उनका अनुसार धान, तरकारीसहितका बालीनालीमा पुगेको क्षतिको विवरण संकलन कृषि कार्यालयमार्फत थालिएको छ।

सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दासका अनुसार ठाउँठाउँमा तटबन्ध भत्काएर बक्राहा खोलाको बाढी गाउँमा पसेपछि घरहरु डुबानमा पर्दा स्थानीय विस्थापित हुनुपर्ने अवस्था आएको हो। ‘घरघरमा लेदोसहितको बाढी पसेपछि स्थानीय विस्थापित बनेका हुन्,’ उनले भने, ‘घरभित्रको लेदो र हिलो नहटाएसम्म विस्थापित भएकाहरु फर्कनसक्ने अवस्था छैन।’

वर्षा रोकिएर जमेको पानी सुक्दै गएसँगै सरसफाई गर्न थालिएकाले बाढी पीडितहरु केही दिनभित्रमै आफ्नो बासस्थानमा फर्किने अवस्था बन्ने दासको भनाइ छ। उनका अनुसार विस्थापित भएकाहरुलाई नगरपालिकाले वडा कार्यालयमार्फत खानाको व्यवस्था मिलाएको छ।

बक्राहा खोला नियन्त्रणका लागि जलस्रोत तथा नदी नियन्त्रण कार्यालय मोरङबाट बोरासहितको सामग्री उपलब्ध गराइएको प्रजिअ दाहालले बताए। अहिले नेपाली सेना र सशस्त्र प्रहरीले बक्राहा नियन्त्रणका लागि अस्थायी तटबन्ध निर्माणको काम गरिरहेको उनको भनाइ छ। बक्राहा खोलाको बाढी बर्सेनि गाउँ पसेर वितण्डा मच्चाउने गरेको छ।

‘विगतमा क्षति पुगेको तटबन्ध समयमै मर्मत सम्भार नगरिँदा बक्राहाको बाढी गाउँ पसेर वितण्डा मच्चाएको गुनासो स्थानीयको छ,’ प्रजिअ दाहालले भने, ‘जतिसक्दो चाँडो अस्थायी तटबन्ध निर्माण गरेर खोला आसपासका बासिन्दालाई सुरक्षित बनाउन सुरक्षा निकाय सक्रिय भएर लागेका छन्।’

बाढीकै कारण खेतहरु बगरमा परिणत भएका छन्। बाढीले पाक्न लागेको र पाकेर घरमा थन्क्याउने तयारी गरिएको धान स्वाहा बनाएको छ।

दाहालका अनुसार अब वर्षा नभए विस्थापित बनेकाहरु दुईदेखि तीन दिनभित्र घरमा फर्कने वातावरण बन्ने छ। प्रजिअ दाहालको नेतृत्वमा मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसी, सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेल, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्कासमेतको टोलीले बाढी प्रभावित क्षेत्रको निरीक्षण पनि गरेको छ।

 

Your Views
Related News