जनकपुरधाममा लाठी, भाटा बोकेर प्रदर्शन गर्दै जनमत पार्टीका कार्यकर्ता

जनकपुरधाम : चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले उग्र र उच्छृंखल गतिविधि गर्न थालेका छन्। ‘स्वतन्त्र मधेस’को नारा त्यागेर शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरेका राउतका कदमप्रति कर्मचारीदेखि जनप्रतिनिधिसम्म असन्तुष्ट बनेका छन्।

‘राउतका कार्यकर्ताको यस्तो गतिविधि अराजक र आतंकवादी शैलीको छ,’ जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साह भन्छन्, ‘आफूलाई राजनीतिक पार्टी भन्नेहरूबाट यसप्रकारको उदण्ड गतिविधि हुनुले संघीयतामाथि नै प्रश्न उठाउँछ। सभ्य समाजमा यस्ता अमानवीय क्रियाकलाप हुनु ठूलो दुर्भाग्य हो।’

उनीहरूले गत बिहीबार खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहामाथि दुव्र्यवहार गरेका थिए। जनकपुरधाम–८ बलवा टोलस्थित राउतका घर अगाडि खाल्डो नपुरेको र वर्षाका कारण पानी निकासमा समस्या भएको भन्दै कुशवाहालाई अर्धनग्न बनाई हिलो छ्यापेर नगर घुमाएका थिए। लाठी, भाटासहित सरकारी कार्यालय पुगेका उनीहरू अराजक रूपमा प्रस्तुत भएको जनाइएको छ।
उक्त घटनाप्रति पेसागत संघसंगठनले विरोध जनाएका छन्। जसमा नेपाल इन्जिनियर एसोसिएसन, नेपाल राष्ट्रिय इन्जिनियर संगठन, निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन, नेसनल इन्जिनियर्स एसोसिएसन नेपाल, नेपाल तराई इन्जिनियर्स समाज र मधेसी डेमोक्रेटिक सोसाइटी छन्।

यस्ता कार्यले राष्ट्रसेवक कर्मचारीको मनोबल घटाउने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला बताउँछन्। ‘जनमत पार्टीको पछिल्ला क्रियाकलाप कानुनी राज्यको उपहास गर्ने खालका भए,’ बाँस्तोला भन्छन्, ‘यस्ता गतिविधि राजनीतिक दलको होइन अपराधिक वा भूमिगत समूहहरूको हुन्छ।’

राउतका कार्यकर्ताले असोज १८ गते जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयका कर्मचारीमाथि हातपात गरेका थिए। नगर प्रमुख र उपप्रमुख नभेटेपछि न्यायीक समितिको कार्यालयमा तोडफोडसमेत गरेका थिए। उनीहरूले सोही दिन मुख्यमन्त्री र प्रदेश २ सरकारविरुद्ध नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय घेराउ पनि गरे। उनीहरू जुलुस वा विरोध प्रदर्शनमा लाठी र भाटा बोकेर सहभागी हुने गरेका छन्।  कुनै पनि पार्टी, व्यक्ति वा समूहले आफूलाई अदालत र कानुनभन्दा ठूलो ठान्न नहुने युवा नेता सरोज मिश्र बताउँछन्। ‘राउत आफैं भ्रष्ट हुनुहुन्छ। उहाँले आफ्नो एजेन्डा नै बिक्री गर्नुभयो। अनि उहाँले भ्रष्टाचारविरुद्ध के बोल्नुहुन्छ ?,’ मिश्र भन्छन्, ‘पहिला आफ्नो पार्टीमा कहाँ–कहाँबाट आम्दानी र अनुदान सहयोग आएको छ त्यो पारदर्शी गर्नुपर्‍यो। त्यसपछि मात्रै जनकारबाही गर्नुस्।’

राउत यी सबै क्रियाकलापलाई सामान्य रूपमा लिएको बताउँछन्। ‘जनता भ्रष्टाचारीबाट आजित भइसकेका छन्। कुनै पनि निकायले जनताको कुरा सुन्दैनन्। कार्यपालिका भ्रष्ट छ। न्यायपालिका त्यस्तै छ। अख्तियारले पनि भ्रष्टहरूलाई नै सहयोग गरेको छ। यस्तोमा जनताले के गर्ने ? आक्रोश स्वाभाविक हो,’ राउत भन्छन्, ‘कानुनी राज्यमा जनताको समस्या नसुनिएपछि यस्ता गतिविधि हुन्छ नै।’ भ्रष्टाचारविरुद्ध पालिका स्तरमा अभियान सञ्चालन गर्ने रणनीति लिएको उनको भनाइ छ। जनमत पार्टीको आइतबार जनकपुरमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले १७ कार्यकर्तालाई अविलम्ब निःशर्त रिहाइ गर्न माग गरेको छ।
खानेपानी कार्यालयका इन्जिनियर कुशवाहालाई दुव्र्यवहार गरेपछि जिल्ला प्रहरी धनुषाको टोलीले केही कार्यकर्तालाई पक्राउ गरेको थियो। ‘लाठी भाटासहित सरकारी कार्यालयमा पुगेर तोडफोड मचाउनु र कार्यालय प्रमुखलाई बन्धक बनाएर कुटपिट गर्नु अपराधिक उपद्रो भएकोले १७ जनाविरुद्ध अपराधिक उपद्रो मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको छ,’ धनुषा प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए।

यता, उनीहरूको रिहाइ नभएसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा उक्त पार्टीले गरेको छ। पहिलो चरणमा कात्तिक ८–१६ गतेसम्म विरोधका कार्यक्रम आयोजना गर्ने जनाइएको छ। जसअन्तर्गत जिल्लास्तरीय बैठक राख्ने, हरेक जिल्ला सदरमुकाममा सिटी जुलुस निकाल्नेलगायत छन्। त्यसैगरी मोटरसाइकल र्‍याली, माइकिङ, कोणसभा र मसाल जुलुससहितको कार्यक्रम रहेको जनाइएको छ।

 

Your Views
Related News