३ वटा वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारवाहीमा परेको छ । केन्द्रीय बैंकको निर्देशन विपरित काम गरेको भन्दै नेपाल बंगलादेश बैंक, हिमालयन बैंक र प्रभु बैंकलाई कारवाही गरिएको हो ।

गत आवको चौथो त्रैमासिकमा यी बैंकहरुले केन्द्रीय बैंक प्रावधान बमोजिम तोकिएको अनिवार्य नगद मौज्दात(सीआरआर)–वैधानिक तरलता अनुपात (एसएलआर) कायम नगर्दा जरिवानामा परेका हुन् । राष्ट्र बैंकका अनुसार नेपाल बंगलादेश बैंकलाई ३० हजार ३२४ रुपैयाँ २४ पैसा, प्रभु बैंकलाई ३५ हजार ६९५ रुपैयाँ १२ पैसा र हिमालयन बैंकलाई २ पटक गरी ३० हजार २१ रुपैयाँ जरिवाना गरिएको हो ।

त्यसैगरी केन्द्रीय बैंकले गैरस्थलगत निरीक्षणको आधारमा विभिन्न फाइनान्स कम्पनीहरुलाई हर्जाना तिराएको छ । राष्ट्र बैंकले फाइनान्स कम्पनीलाई कुल निक्षेपको ५ प्रतिशत राष्ट्र बैंकमा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेकोमा सो नगरेकाले जरिवाना तिर्नुपरेको हो । त्यस्तै फाइनान्स कम्पनीले विपन्न वर्ग कर्जा अन्तर्गत कुल कर्जाको ५ प्रतिशत कर्जा व्याजमा यस शीर्षक अन्तर्गत प्रवाह गर्नुपर्छ । तोकेबमोजिम नभएमा राष्ट्र बैंकले जरिवाना तिराउँछ । समृद्धि फाइनान्सलाई साउनमा अनिवार्य मौज्दात कायम नगरेबापत पहिलोपटक १ सय ३८ रुपियाँ २७ पैसा, गुडवील फाइनान्सलाई भदौमा अनिवार्य मौज्दात कायम नपरे बापत नै २ हजार ८ सय ७ रुपियाँ ९९ पैसा हर्जाना तिराइएको छ ।

त्यस्तै सिटी एक्सप्रेस फाइनान्सलाई २ लाख ५९ हजार ७ सय ५१ रुपियाँ, जानकी फाइनान्सलाई ३१ लाख ९२ हजार ३ सय ८ रुपियाँ पर्याप्त विपन्न वर्ग कर्जा प्रवाह नगरेको सजाय स्वरुप हर्जाना तिराइएको हो । ललितपुर फाइनान्सलाई विपन्न वर्ग कर्जा प्रवाह नगरेको सजायस्वरुप पहिलोपटक ७ लाख ११ हजार ६ सय ४६ रुपियाँ, दोस्रोपटक ६ लाख ६७ हजार २ सय ७३ रुपियाँ र तेस्रोपटक ६ लाख ७८ हजार ७३ गरी कुल २० लाख ५६ हजार ९ सय ९२ रुपियाँ हर्जाना तिरेका छन् भने पुँजी कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) कायम नगरेको सजाय स्वरुप ६४ हजार ५ सय ७२ रुपियाँ ९६ पैसा जरिवाना तिराइएको छ ।

 

Your Views
Related News