विराटनगर : ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई १० वर्ष कैद सजाय भएको छ। जिल्ला अदालत मोरङले सोमबार ‘गोरे’लाई अपहरण मुद्दामा कैद र १ लाख जरिवानाको फैसला सुनाएको हो।

त्यस्तै, अदालतले कैदसँगै सनम शाक्यको परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति पनि गोरेले नै भर्नुपर्ने फैसला गरेको छ। तस्करीको सुन हराएपछि गोरे समूहबाट मोरङ उर्लाबारीका शाक्यको हत्या भएको थियो। असोज १९ गते अपहरण तथा शरीर बन्धक मुद्दामा गोरे मात्रै दोषी ठहर भए पनि अदालतले सजायको निर्धारण गरेको थिएन।

जिल्ला अदालत मोरङका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाका अनुसार मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक १ हजार रुपैयाँका दरले जम्मा १३ लाख ११ हजार रुपैयाँ शाक्यको परिवारलाई क्षतिपूर्ति भराउने फैसला भएको हो। ‘दुईवटा फैसला भएको छ : एउटा, सनमको परिवारलाई दिने क्षतिपूर्ति र अर्को, गोरेको सजाय हो,’ स्रेस्तेदार राणाले भने ‘जन्मकैद सजाय सुनाइएका गोरेको कैदमा अपहरण मुद्दाको सजाय भने जोडिने छैन।’

२०७४ माघ ९ गते तस्करीको साढे ३३ किलो सुन हराएपछि खोजी गर्ने क्रममा गोरेसहितको समूहले फागुन १८ गते सनम शाक्यको हत्या गरेको दाबी सरकार पक्षको थियो। ठोस प्रमाण नभेटिएको उल्लेख गर्दै गत असोज १९ गते न्यायाधीश भरत लम्सालको इजलासले करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरेसहित ५६ जना प्रतिवादीलाई सफाइ दिएको थियो। सरकार पक्षले संगठित रूपमा तस्करी गरिरहेको समूहले राखेको खातापातालाई प्रमाणका रूपमा पेस गरेकाले त्यसलाई प्रमाण मान्न नमिल्ने र ठोस प्रमाण नभेटिएको उल्लेख गर्दै अदालतले सफाइ दिएको थियो। सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो। तीमध्ये फरार २१ जनाको मुद्दा मुल्तबीमा छ।

न्याय पायौँ : सनमको परिवार 
अदालतको फैसलाबाट न्याय मिलेको प्रतिक्रिया सनमको परिवारले दिएको छ। सनमकी आमा कल्पनाले छोरो फर्किएर नआउने भए पनि हत्यारालाई जेल सजाय भएपछि न्यायको अनुभूति भएको बताइन्। ‘छोरो गुमाएपछि भोक निद्रा सबै हरण भयो। परिवार नै विचल्लीमा पर्‍यो,’ उनले भनिन्, ‘अपराधीलाई सजाय भएपछि राहत एवं सन्तोष मिलेको छ। आँसुको आहालमा डुबेका हामीलाई अदालतले न्याय गरिदियो।’

सनमकी पत्नी सुनीताले पनि प्रहरीले गरेको सहयोग र अदालतले दिएको न्याय आफूहरूका लागि बाँच्ने आधार बनेको बताइन्। ‘मैले पति गुमाएको क्षति त केही गर्दा पनि पूर्ति हुँदैन,’ उनले भनिन्, ‘तर ४ वर्षदेखि पर्खिएको न्याय अहिले प्राप्त हुँदा केही चित्त बुझाउने ठाउँ बनेको छ।’ पतिको हत्या गरेर अपराधीले जीवन नै उजाड र अन्योलपूर्ण बनाइदिएको गुनासो सुनीताले पोखिन्।

सनमको हत्या, मुद्दा र फैसलासम्म
२०७४ फागुन १८ गते सनम शाक्यको हत्या मोरङको उर्लाबारी नगरपालिका–१ मा भएको थियो। उर्लाबारीकै गोरे भनिने चूडामणि उप्रेतीले आफूनिकटका प्रहरीलाई फोन गरेर घटनाको जानकारी दिँदै सनमको शव व्यवस्थापनका लागि सहयोग मागेका थिए। जुन गोरेले बयानका क्रममा स्वीकार गरेका छन्। करेन्ट लगाएर यातना दिँदै गरेको भिडियो पनि त्यतिबेला सार्वजनिक भयो। हत्यामा प्रत्यक्ष संलग्न गोरे आफैले बारम्बार सनमलाई करेन्ट लगाइरहेको भिडियोमा देख्न सकिन्छ। त्यही भिडियो अहिले कर्तव्य ज्यान सम्बन्धी मुद्दा फैसला हुँदा अदालतलाई बलियो प्रमाण बन्यो।

हत्यापछि शव धरानको निर्वाणा कन्ट्री क्लबमा एक रात राखिएको अनुसन्धानबाट खुलेको छ। नेपाल प्रहरीको अपराध महाशाखाले घटनाको जानकारी पाएपछि तत्कालीन एसएसपी (हाल डीआईजी) दिवेश लोहनीले प्रहरी प्रधान कार्यालयबाट मौखिक अनुमति लिएर हत्यामा संलग्नलाई पक्राउ गर्न डीएसपी प्रजित केसी र सइ बालकृष्ण सञ्जेललाई खटाए। उनीहरूको दाबीअनुसार पक्राउ गर्न खोजे पनि शव धरानमै छाडेर नेपाल–भारत सीमा क्षेत्र हुँदै गोरे फरार बनेकाले सम्भव भएन। हत्याको भोलिपल्ट धरानबाट इटहरी हुँदै ल्याएर शव विराटनगर महानगरपालिका–३ बाट बरामद भयो। प्रहरीले शव राखिएको बा १२ च ५९६३ नम्बरको स्कोरपिओ र मे १ च ५३९८ नम्बरको कारसहित हत्यामा संलग्नमध्येका टेकराज मल्ल ठकुरी, मोहन काफ्ले र कृष्ण भनिने नरेन्द्र कार्कीलाई पक्राउ गर्‍यो।

 

Your Views
Related News