काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) नेपालका अध्यक्ष माधवकुमार नेपालले स्थानीय निर्वाचन चैतमा हुने बताएका छन् । निर्वाचन आयोगले एक साताअघि नै प्रधानमन्त्रीलाई भेटेर चैत ५ मा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने जानकारी दिइसकेका छन् ।

‘यही चैतमा हुने निर्वाचन, राष्ट्रिय सभा, उपनिर्वाचन हुनेछ,’एकीकृत समाजवादी मध्यपुर थिमि नगर संगठनले बिहीबार गरेको शुभकामना तथा चियापान कार्यक्रममा उनले भने, ‘छिट्टै चुनाव हुन्छ कि भन्ने भ्रम नराखे हुन्छ । संघीय संसद्को चुनाव समयमै हुनेछ ।’ निर्वाचन परिणामको आकलन पनि गरिरहेको उनले बताए ।

सुदूरपश्चिम, कर्णाली, प्रदेश २ मा आफ्नो पार्टीको पकड रहेको उनले दाबी गरे । प्रदेश १ र वाग्मतीमा आफ्नो पार्टीको नेता मुख्यमन्त्री भएकोले आफ्नो पार्टीसँग टक्कर लिनै नसक्ने बताए । ‘हामीसँग टक्कर लिन खोज्यो भने भारततिर भनिन्छ नि जो हम से टकराएगा, वो चुरचुर हो जाएगा,’ नेपालले भने ।

गठबन्धनलाई कसैले भत्काउन नसक्ने भएकोले निर्वाचनसम्म रहने उनको दाबी छ । एमालेमै रहेका नेताहरुलाई लक्षित गर्दै उनले पार्टीभित्र अपमान सहेर बस्नु भन्दा आउन उनले आग्रह पनि गरे । ‘हाम्रो पार्टीमा आउनुस् । त्यहाँ बसेका पनि कतिपय पछुताइरहेका छन् । तपाईंले हेर्नुभयो । छाम्नुभयो । पीडा सहनुभयो,’उनले भने,‘अब त फर्केर आए पनि हुन्छ । जो–जो आउन चाहनु हुन्छ उहाँहरूलाई स्वागत छ ।’

झन्डै दुई तिहाई भएको एमालेको सरकार केपीले समाएको आरोप लगाए । ‘कस्तो मान्छेलाई हाम्रो साथीहरुले नवौं महाधिवेशन जिताए छन् । २०/३० भोटले म हारँ । पार्टीको दुर्भाग्य सुरु भयो,’ नेपालले भने, ‘समाजमा राम्रा र नराम्रा मान्छे दुवै हुने भएकाले चिन्ता गर्नु पर्दैन । हामी कसैको अपमान, मानमर्दन, खिसीट्यूरी पनि गर्न चाहँदैनौँ ।’

 

Your Views
Related News