काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले रामेछापमा संग्राहालय बनाएर कम्युनिष्टको सम्पूर्ण इतिहास दिनुपर्ने बताएका छन्। शुक्रबार एस पार्टीको रामेछाप-काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टीका संस्थापक नेता एवम् महासचिव पुष्पलाल श्रेष्ठलाई स्मरण गरेका छन्।

उनले रामेछापमा पुष्पलाल पार्क बन्ने प्रक्रियामा रहेकाले त्यहाँ देशभित्रका मात्रै नभई  विदेशीलाई पनि संग्राहालय मात्रै कम्युनिष्टको बारेमा जानकारी दिनुपर्ने धारणा राखे।‘रामेछाप तीनलालको जिल्लाको रुपमा चर्चित छ, त्यहि जिल्लामा पुष्पलाल जन्मनुभएको हो।’ नेपालले भने, ‘त्यहाँ हामीले पुष्पलालको भंगेरीमा ठूलो पार्क बनाउने पहल गरिसकेका छौं। रामेछापलाई देशभित्रका पर्यटकलाई मात्रै होइन, पर्यटनको आकर्षणको थलो बनाउन मात्रै होइन, विदेशीहरुको निम्ति पनि राम्रो संग्राहालय त्यहाँ बनाएर कम्युनिष्टको सम्पूर्ण इतिहास दिन सक्नुपर्छ।’

नेपालले अध्ययन गर्ने, खोज, अनुसन्धान गर्ने र जानकारी लिन चाहनेहरुलाई यो महत्वपूर्ण थलोको रुपमा विकास हुनसक्ने धारणा राखे। उनले यस्ता कार्यले कम्युनिष्ट, लोकतन्त्रप्रति आकर्षण बढ्ने बताए। उनले यसको लागि तदारुपता देखाउन नेता कार्यकर्तालाई आह्वान गरे।  उनले कम्युनिष्ट आन्दोलनको उत्तराधिकारी आफूहरु भएको दाबी गरे।

राणाविरुद्धको प्रजातान्त्रिक आन्दोलनका सहिद गंगालाल श्रेष्ठ र पुष्पलाल श्रेष्ठको सम्झनामा रामेछापमा स्मृति पार्क निर्माण हुन लागेको छ। निर्माणका लागि पार्कको डीपीआर तयार भएपनि यसले गति लिन सकेको छैन। यस अगाडि सरकारले पुष्पलालको जन्मस्थललाई विशेषरूपमा पूर्वाधार निर्माण गरी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिएको थियो। पार्कमा राखिने कम्युनिष्ट नेताको मूर्ति तयार भइसकेको छ।

उनले कम्युनिष्ट पार्टीभित्र एकता र छलफल हुने बताए। उनले कम्युनिष्ट पार्टी नेपालमा धेरै लोकप्रिय भइरहेको दाबी गरे। ‘नेपालमा कम्युनिष्ट पार्टीको ब्राण्ड लोकप्रिय छ। यो राम्रो पक्ष पनि हो।’ उनले भने,‘कम्युनिष्ट पार्टी लोकप्रिय भएकाले नै सबै यसको वरिपरि रहेका छन्। जनतासँग जोडिएको छ भने पार्टी सधैं लोकप्रिय भइरहन्छ।’ उनले लोकप्रिय काम नगर्दा भने पार्टी सिद्धिने स्पष्ट पारे।

नेपालले नयाँ पार्टी गठन भएदेखि नै देशभर तरङ्ग पैदा भएको दाबी गरेका छन्। उनले केपी ओलीको पार्टीलाई केन्द्रदेखि प्रदेशसम्म सत्ता बाहिर पुर्‍याएको बताए। उनले भीम आचार्यलाई प्रदेश मुख्यमन्त्रीबाट हटाएको संकेत गर्दै ओलीको दम्भ एकपछि अर्को ढल्दै गएको स्पष्ट पारे।

 

Your Views
Related News