
ताप्लेजुङ : मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिरामी लिएर सुनसरीको धरानतर्फ गइरहेको एम्बुलेन्स शनिबार राति मिल्केडाँडा छेउमा दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको उपचारको लागी वीपी प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको गाउँपालिकाका प्रवक्ता दिवस चोङवाङले जानकारी दिए। एम्बुलेन्समा चालकसहित ७ जना सवार थिए। अन्य ६ जना सामान्य घाइते छन्।
उनीहरुको उपचार भइरहेको चोङवाङले बताए। एम्बुलेन्स साँघुरो सडकबाट ५० मिटर तल खसेको छ। उक्त एम्बुलेन्स चैत्रमा भारतीय दूतावासले गाउँपालिकालाई दिएको थियो।