काठमाडौं : सोमबार प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार बुलेटिन जारी गर्दै तीन दिनसम्म प्रदेश १ र गण्डकीमा हिमपात हुनसक्ने जनाएको हो।

सोमबार दिउँसो प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली हुने बुलेटिनमा जनाइएको छ। त्यस्तै अन्य प्रदेशहरूमा आंशिक बदली हुने छ। राति भने देशभर आंशिक बदली हुने छ। प्रदेश १ र गण्डकीमा भने दिउँसो र राति पनि हल्का हिमपात हुन सक्ने विभागले जनाएको छ।

विभागका अनुसार हिमपातको सम्भावना बुधबारसम्म रहे पनि मंगलबार दिउँसो पहाडी भू–भागमा बदली हुने र बाँकी भागमा मौसम सफा रहने बताइएको छ। त्यस्तै बुधबार प्रदेश १, वागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक तथा सामान्य बदली हुने छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सफा रहने विभागले जनाएको छ।

हाल नेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले सामान्य तथा आंशिक रूपमा बदली भइरहेको महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ।

 

Your Views
Related News