करिब तीन सातादेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएको नेपाल बार एशोसिएशनले सोमवार देशभरि आफ्ना एकाइसँग परामर्श गरेपछि दोस्रो चरणको आन्दोलन घोषणा गर्ने बताएको छ। सर्वोच्च अदालतका एक न्यायाधीशले बारको आन्दोलनबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि राजीनामा दिन दबाव पर्ने र परिणाम आउने अपेक्षा व्यक्त गरेका छन्।

बारले आइतवारबाट भर्चूअल माध्यमबाट देशका विभिन्न बार एकाइसँग परामर्श सुरु गरेको थियो। सोमवार छलफल सम्पन्न भएपछि नेपाल बारको केन्द्रीय पदाधिकारीको बैठक बसेर अर्को चरणको आन्दोलन घोषणा गर्ने तयारी रहेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए।

“हिजो दिनभरि गरिएको छलफलमा यदि प्रधानन्यायाधीशबाट राजीनामा आएन भने आन्दोलन सशक्त र देशव्यापी हुनुपर्छ भन्ने सुझाव आएको छ,” उनले भने, “आज पनि बाँकी बार एकाइसँग छलफल गरेर अनि हामी पदाधिकारीहरू बैठक बसेर अर्को चरणको आन्दोलन घोषणा गर्छौँ।”

अघिल्लो सातादेखि कालोपट्टी बाँधी धर्नामा बसेका आन्दोलनरत वकिलहरूले सोमवार पनि साढे १० बजेदेखि एक घण्टा सर्वोच्च अदालतको प्राङ्गणमा विरोध कार्यक्रम जारी राखे।

न्यायाधीशहरूले देखेको विकल्प

सर्वोच्च अदालतभित्रै न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ गरेका छैनन्। प्रधानन्यायाधीश जबराले पनि सोमवार बन्दीप्रत्यक्षीकरणको रिटको मात्रै पेसी तोकेका छन्।

प्रधानन्यायाधीशले भने बीबीसीलगायत अन्य केही सञ्चारमाध्यममा महाभियोगको सामना गरेर पद त्याग्न आफू तयार भएको तर राजीनामा नदिने बताउँदै आएका छन्।

न्यायाधीशहरूले नै इजलासमा अन्य मुद्दा नहेर्ने र प्रधानन्यायाधीशले निकास दिनुपर्ने आवाज उठेपछि तीनसदस्यीय वार्ता टोली गठन भएको थियो।

आइतवार प्रधानन्यायाधीशसँग छलफल गरेको उक्त टोलीसँग सोमवार बाँकी न्यायाधीशहरूले बैठक गर्ने कार्यक्रम रहेको छ।

औपचारिक नभए पनि अनौपचारिक रूपमा प्रधानन्यायाधीशले राजीनामाको विकल्प अघि सारेका विवरण आइरहेका छन्। तर सर्वोच्च अदालतले भने त्यसको खण्डन गरेको छ।

अबको तीन महिनापछि आफू बिदामा बस्ने र त्यसको एक महिनापछि अवकाश हुनेगरी सम्मानजनक बहिर्गमनको खाका अघि सारेको भन्ने कुरा अप्रत्यक्ष रूपमा आफूहरूकहाँ पनि आइपुगेको सर्वोच्च अदालतका एक न्यायाधीशले बताए।

उनले भने, “अहिलेको यस्तो सङ्कटको अवस्थामा तीन महिनापछि वा चार महिनापछि छोड्छु भन्नु अहिलेको आन्दोलनलाई मत्थर बनाउने कुरा हो कि जस्तो लाग्छ। त्यो छलफल हुनसक्ने प्रस्ताव होइन र अहिलेसम्म निकासको सङ्केत पनि देखिएको छैन।”

करिब तीन वर्षको कार्यकालमा न्यायपालिकामा सुधार गर्न नसकेका प्रधानन्यायाधीशले अब तीन-चार महिनामा गर्ने भन्ने विश्वास आफूहरूलाई नभएको ती न्यायाधीशले बताए।

नेपाल बार एशोशिएशनले पनि प्रधानन्यायाधीशको राजीनामासम्बन्धी पछिल्लो प्रस्ताव मान्न नसकिने जनाएको छ।

अध्यक्ष श्रेष्ठले बीबीसीसँग भने, “हामीले उहाँले भनेको तीन महिना होइन, एक दिन पनि दिन सक्दैनौं। एक दिन मात्रैले पनि न्यायपालिका कहाँ पुग्छ। त्यसैले उहाँले न्यायपालिकामा सुधार चाहने हो भने यसबारे सोच्नुपर्छ।”

बहालवाला न्यायाधीशबाहेक पूर्वप्रधानन्यायाधीशसहित बार र वरिष्ठ वकिलदेखि नागरिक समाजले समेत विवादमा परेका कारण प्रधानन्यायाधीशको राजीनामा दिनु उपयुक्त हुने बताउँदै आएका छन्।

कसरी निस्केला निकास?

विभिन्न सञ्चारमाध्यममा आएका विवरणले प्रधानन्यायाधीश राजीनामा दिने मनस्थितिमा नभएको सङ्केत गर्छन्।

प्रधानन्यायाधीशबारे उठेका प्रश्नप्रति राजनीतिक दलहरूको शीर्ष तहबाट संसद्‌मा छलफल गर्ने विषयमा तदारुकता देखिएको छैन।

त्यसोभए अदालतको दैनिक सेवा प्रभावित भइरहेका बेला निकास कसरी आउला त?

यस्तोमा अहिलेको समस्या समाधान नेपाल बार एशोशिएशनले चाल्ने कदमबाटै निस्किने अपेक्षामा अरू न्यायाधीशहरूको रहेको बीबीसीले कुरा गरेका न्यायाधीशले बताए।

 

“वार्ता टोलीका न्यायाधीशहरूसँगको छलफलमा बसेर सामूहिक निर्णयमा जाने प्रयास गर्छौँ। त्यसबाहेक बारले पनि आन्दोलन गरिरहेको छ। परिणाम आउने त बारकै आन्दोलनबाट हो,” उनले भने।

“दलहरूबाट महाभियोगको प्रक्रिया अघि बढाउने त्यति सम्भावना देखिएको छैन,” उनले भने, “न्यायाधीशले पनि पदीय हैसियतमा बसेर धेरै प्रतिक्रिया जनाउन मिल्दैन।”

विवाद कहाँबाट सुरु भयो?

दशैँ सकिएलगत्तै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनाको माग न्यायपालिकाभित्र र बाहिरबाट चर्को रूपमा आउन थालेको थियो।

मन्त्रिपरिषद् विस्तारमा “भाग खोजेको” सुरु भएको प्रधानन्यायाधीश जबराको राजीनामाको माग अहिले भ्रष्टाचारलगायत न्यायपालिकामा विद्यमान अन्य विकृति र विसङ्गति समेत उनको पालामा मौलिएको भन्दै चर्किएको छ।

आफूले भाग नखोजेको भन्दै सर्वोच्च अदालतका तर्फबाट प्रधानन्यायाधीशले खण्डन गरे पनि मुद्दाको पेसी स्वचालित तरिकाबाट हुनुपर्ने आदि विषय उठाएर नेपाल बार एशोसिएशन पनि आन्दोलित बन्यो।

 

प्रधानन्यायाधीशले न्यायपालिका सुधारका लागि मिलेर काम गर्ने प्रतिक्रिया दिएका थिए। तर त्यसबाट आश्वस्त हुने ठाउँ नरहेको प्रतिक्रिया सर्वोच्च अदालतका बाँकी न्यायाधीश र बारका पदाधिकारीहरूले बताउँदै आएका छन्।

 

Your Views
Related News