विराटनगर : विराटनगरको हाटखोलास्थित जिल्ला कारागार मोरङमा दोहोरो झडप भएपछि १४ जना कैदीबन्दीलाई मंगलबार स्थानान्तरण गरिएको छ । मोरङ कारागारका चौकीदार किरण गुरुङसहित १४ जनालाई मोरङबाट सुनसरीको झुम्का र झापा कारागार स्थानान्तरण गरिएको हो ।

स्थानान्तरण गरिएकामध्ये ६ जना कैदीबन्दी दोहोरो झडपमा परेर घाइते भएका छन् । दुई पक्षका कैदीबन्दीबीच मंगलबार बिहान १० बजेतिर झडप भएको थियो । झडपका कारण कैदीबन्दीले भरिभराउ रहेको कारागार निक्कै बेर अशान्त बन्यो ।

कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार स्थानान्तरण गरेर मोरङबाट ५ जनालाई झुम्का र ९ जनालाई झापा कारागार लगिएको छ । कारागारका चौकीदार किरण गुरुङसहित अन्य कैदीबन्दीहरु शेखर राई, सूर्यदीप गुप्ता, पदमकुमार लिम्बू र निर्मल ढकाललाई झुम्का कारागार लगिएको जानकारी पोखरेलले दिए ।

उनका अनुसार रामकुमार लिम्बू, रमेश मण्डल, विशाल मोक्तान तामाङ, डिल्ली देवान, रोशन दाहाल, कपिलकुमार साह, एलएस नेपाली, राजु राई र मुस्कान भनिने बविहाङ राईलाई झापा कारागार स्थानान्तरण गरिएको छ ।

चौकीदार किरण गुरुङको स्थानान्तरण भएपछि अर्का कैदी कार्तिक कामतलाई मोरङ कारागारमा कामचलाउ चौकीदारको जिम्मेवारी दिइएको छ । कामत ज्यान मार्ने उद्योग मुद्दामा कैद साजय भुक्तान गरिरहेका कैदी हुन् । स्थानान्तरण गरिएकामध्ये चौकीदार गुरुङ, शेखर राई, निर्मल ढकाल, विशाल मोक्तान, डिल्ली देवान र सूर्यदीप गुप्ता दोहोरो झडपमा परेर सामान्य घाइते भएका हुन् । विराटनगरको कोसी अस्पतालमा सामान्य उपचारपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो ।

कारागारभित्रको आन्तरिक प्रशासनप्रति असन्तुष्टि बढेसँगै चौकीदार र नाइकेको समूहसँग अरु कैदीबन्दीको झडप भएको जानकारी निमित्त जेलर पोखरेलले दिए । उनका अनुसार झडपमा कारागारभित्र मुढा बनाउने बाँसका भाटा लगायतको प्रयोग भएको पाइएको छ। ‘चौकीदार गुरुङले कारागारभित्र मनोमानी गर्ने र कैदीबन्दीलाई चरम यातना दिने गरेको भन्दै उनको समूहसँग अरु कैदीबन्दी रुष्ट बनेका थिए,’ स्रोतले भन्यो, ‘त्यही विषयमा बढेको विवादका कारण दोहोरो झडप हुँदा कारागारको अवस्था निक्कै बेर तनावग्रस्त बन्यो ।’

निमित्त जेलर पोखरेलले घटनाका बारेमा थप बुझ्ने काम भइरहेको बताए । उनका अनुसार झडपसँगै चौकीदार गुरुङको समूहविरुद्ध अरु कैदीबन्दी आन्दोलितसमेत भएका थिए । चौकीदार गुरुङको निर्देशनमा कारागारका नाइके र भाइनाइकेहरुले कुटपिट गर्ने, यातना दिने तथा अत्याचार गर्ने गरेको भन्दै अरु कैदीबन्दी आन्दोलित बनेपछि झडपको अवस्था उत्पन्न भएको कारागार प्रशासनले जनाएको छ ।

आन्दोलित बनेका कैदीबन्दीले गुरुङसहित १४ जना कैदीबन्दीलाई कारागारभित्रकै एउटा कोठामा केही बेर थुनेरसमेत राखिदिएका थिए । उनीहरुलाई प्रहरीले बाहिर निकालेपछि कारागारभित्रको तनाव मत्थर भएको थियो । कैदीबन्दीको सुरक्षा र कारागारमा उत्पन्न तनाव अन्त्यका लागि १४ जनालाई नै अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था आएको निमित्त जेलर पोखरेलले बताए ।

‘झडपका कारण कारागारभित्र केही तनाव उत्पन्न भयो । अरु कैदीबन्दीले १४ जनालाई एउटा कोठाभित्र थुनेर राखिदिएछन्,’ उनले भने, ‘प्रहरीले उनीहरुलाई कारागारबाट बाहिर निकालेर सुरक्षित स्थानमा राख्यो । विवादमा नाम जोडिएका १४ जनालाई नै मोरङबाट स्थानान्तरण गरिएपछि कारागारको अवस्था सामान्य बन्यो ।’ मोरङ कारागारमै राख्दा अवस्था थप तनावपूर्ण बन्ने र कैदीबन्दी पनि असुरक्षित हुने भएकाले उनीहरुलाई अन्यत्र सरुवा गर्नु परेको पोखरेलको भनाइ छ ।

झडपका कारण उत्पन्न असामान्य परिस्थितिलाई नियन्त्रणमा लिन कारागार आसपासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले एउटा कोठामा थुनेर राखिएका चौकीदारसहितका १४ जना कैदीबन्दीलाई प्रहरीले बाहिर निकालेपछि मात्रै कारागारभित्रको माहोल शान्त बनेको बताए ।

काठमाडौंस्थित डिल्ली बजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ ल्याउने चर्चासँगै भदौयता मोरङ कारागारमा नियमितजसो तनाव भइरहेको छ । गिरी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका अपराधिक पृष्ठभूमिका गुन्डा नाइके हुन् । कांग्रेस नेताहरुको संरक्षणमा अपराधिक धन्दा चलाइरहेका उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेसँगै मोरङ कारागारको चौकीदार बनाएर ल्याउन खोजिएको थियो ।

डिल्ली बजार लैजानुअघि गिरी मोरङ कारागारमै चौकीदार थिए । कारागारभित्र भिन्दै साम्राज्य खडा गर्दै विभिन्न अपराधिक गतिविधी गरिरहेको खुलेपछि उनलाई २०७४ साल चैत २३ गते डिल्ली बजार स्थानान्तरण गरिएको हो । गिरी र उनको समूहले कैदीबन्दीलाई कुटपिट गर्ने, चरम यातना दिने, कुटपिट गर्ने, महिनावारी असुल्ने तथा कारागारभित्र सजाय भुक्तान गरिरहेकाहरुलाई उपभोग्य वस्तु महँगो मूल्यमा बिक्री गर्ने र टेलिफोनमा महँगो मूल्य लिने गरिरहेको थियो ।

गिरीलाई डिल्ली बजार पठाएपछि मोरङमा चौकीदारको जिम्मेवारी नवीन राईलाई दिइएको थियो । पुनः गिरीलाई मोरङ ल्याउने भएपछि जिम्मेवारीमुक्त गर्दै राईलाई गत असोज १८ गते झुम्का कारागार स्थानान्तरण गरियो ।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका राईले समेत कारागारभित्र बसेर अपराधिक गतिविधी गरिरहेको र अकूल सम्पत्ति आर्जन गरेको खुलेको छ । तर उनीमाथि अहिलेसम्म कुनै छानबिन एवं कारबाही हुन सकिरहेको छैन । राईको समूहले दिने गरेको यातनाका कारण भदौमा मात्रै चार जना कैदीबन्दीको मृत्यु भएको कारागार स्रोतले बतायो । राईलाई झुम्का लगिएपछि किरण गुरुङलाई मोरङ कारागारमा चौकीदारको जिम्मेवारी दिइएको थियो ।

चौकीदारका लागि मोरङ कारागार आम्दानीको राम्रो स्रोत मानिन्छ । कारागार भित्रको टेलिफोन, पसल र खानाबाट मात्रै चौकीदारले दैनिक लाखौँ रूपैयाँ आम्दानी गर्ने गरेको बताइन्छ । गृहमन्त्री बालकृष्ण खाँडको ठाडो निर्देशनमा गत भदौ १७ गते डिल्ली बजारबाट मोरङ सरुवा गरिएका गुन्डा नाइके गिरीलाई गत कात्तिक १६ गते मोरङ ल्याइएको थियो ।

तर कैदीबन्दीका आफन्त र कारागारभित्र रहेका अरु कैदीबन्दीसमेत आन्दोलित बनेपछि उनलाई सप्तरी कारागार लगिएको छ । आफू मोरङ बस्न नपाएपछि उनकै उक्साहटमा विवाद झिकेर गिरीनिकटका अरु कैदीबन्दी आक्रमणमा उत्रदा दोहोरो झडप भएको आंकलन गरिएको छ।  २ सय ५० जना क्षमताको मोरङ कारागारमा ८ सय ९७ जना कैदीबन्दी छन्।

 

Your Views
Related News