काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार जनताप्रति उत्तरदायी नभए अर्को सरकार आउने बताएका छन्। कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले  निर्वाचनमा भएको हारजितलाई सबैलाई स्वीकार गर्नुपर्ने बताएका हुन्।

उनले निष्पक्ष निर्वाचनका लागि निर्वाचन आयोग रहेको बताए। ‘निर्वाचन आयोगले कसैको कुरा मान्दैन, आफ्नो नीतिअनुसार काम गर्छ। निर्वाचनमा भएको हारजितलाई सबैलाई स्वीकार गर्नुपर्छ।’ उनले भने,  ‘प्रजातन्त्रमा आवधिक निर्वाचन अनिवार्य हुन्छ। प्रजातन्त्र भनेको जनताप्रति उत्तरदायी सरकार हो। सरकार जनताप्रति उत्तरदायी भएन भने अर्को सरकार आउँछ।’

फरक प्रसङ्गमा प्रधानमन्त्री देउवाले नेपालको संविधानले सामान्य अवस्थामा संसद् भङ्ग गर्ने व्यवस्था नगरेको उल्लेख गर्दै यो प्रावधान मुलुकमा राजनीतिक स्थायित्वका लागि राखिएको धारणा व्यक्त गरे। ‘अर्को कुरा संविधानको अन्तिम व्याख्या गर्ने ठाउँ भनेको सर्वोच्च अदालत हो, अरूलाई यो अधिकार छैन। सर्वोच्चको व्याख्या सबैले मान्नैपर्छ’, उनले भने।

नेपालको संविधान विश्वमै समावेशी भएको र यसले सबै वर्ग र समुदायको समावेशिताको व्यवस्था सुनिश्चित गरेको उनले बताए। संविधानमा कुनै समस्या आए प्रजातान्त्रिक विधिबाट समाधान गर्न सकिने उनको धारणा थियो। प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन गरेर प्रजातन्त्रलाई दिगो र समृद्ध बनाउन सके मात्र नेता गणेशमान सिंहप्रति सच्चा सम्मान हुने उल्लेख गरे।

वि.सं १९९७ सालदेखि नै राणा शासनविरुद्ध आन्दोलन थालेको बताउँदै उनले प्रजातन्त्रका लागि ठूलो सङ्घर्ष गरी लामो जेल र निर्वासन जीवन बिताउनुभएका नेता सिंहले प्रजातन्त्र प्राप्तिपछि पदको कुनै लोभ नगरेको उल्लेख गरे। प्रधानमन्त्री देउवाले मुलुकमा प्रजातन्त्र मास्नलाई तत्कालीन राजाले आफूलाई थुनेको र जनता सडकमा ओर्लिएपछि गणतन्त्र आएकोसमेत स्मरण गरे।

कार्यक्रममा प्रधानमन्त्री देउवाले हालै सम्पन्न आफ्नो जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको भ्रमणका दौरान विश्वमा नै पेट्रोलियम पदार्थको विस्थापनसम्बन्धी बहसबारे अवगत गराए। उनले भने, ‘नेपाललाई पेट्रोलियम पदार्थको विस्थापन गर्न सहज छ, मुलुकमा जलविद्युत्को अपार सम्भावना छ। चुलो, गाडी, सवारीलगायतका साधन विद्युतीय बनाउन सक्छौँ।’ साथै उनले पछिल्लो समय नेपाल जलवायु परिवर्तनको चपेटामा परेको उल्लेख गर्दै यसबाट बचाउन सबै लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिगमनविरुद्धको आन्दोलनमा तत्कालीन अवस्थामा प्राध्यापकलगायत नागरिक समाजले खेलेको भूमिकाको उच्च प्रशंसा गरे। उनले अझै पनि राजनीतिक क्षेत्रमा गर्नुपर्ने धेरै काम बाँकी रहेको उल्लेख गर्दै राजनीतिक व्यवस्थाको स्थायित्वका लागि सबैको खबरदारीको आवश्यकता औंल्याए।

फरक प्रसङ्गमा नेता सिटौलाले कांग्रेस महाधिवेशन समयमै गर्नुपर्ने र अहिलेको कार्यतालिका एक दिन पनि परिवर्तन गर्ने ठाउँ नरहेको उल्लेख गर्दै यसलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिए। कार्यक्रममा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानका अध्यक्ष एवं सङ्घीय सांसद भीमसेनदास प्रधानले हाल भइरहेको सर्वोच्च अदालतको विवादको उचित समाधान निकाल्न सरकारसँग आग्रह गरे।

कांग्रेसका पूर्वजिल्ला सभापति तीर्थराम डङ्गोल र प्रा धर्मकान्त बास्तोलाले प्रजातन्त्र स्थापना र पुनस्र्थापनमा गणेशमान सिंहको योगदान इतिहासले बिर्सन नसक्ने बताएका थिए। कार्यक्रममा प्रधानमन्त्री देउवाले २०६२/६३ को जनआन्दोलन सफल पार्न आम प्राध्यापकको नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेपाल प्राध्यापक सङ्घका तत्कालीन अध्यक्ष प्रा खगेन्द्रप्रसाद भट्टराईलाई स्वर्ण पदकबाट विभूषित गरेका थिए।

 

Your Views
Related News