दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा सेवाग्राहीले सेवाप्रदायकहरुले दिइरहेको इन्टरनेट सेवामा सबैभन्दा बढी उजुरी दिएको पाइएको छ । प्राधिकरणको तथ्याङ्क अनुसार भ्वाइसको तुलनमा डेटा सेवामा उपभोक्ताले धेरै प्रश्न उठाएका हुन ।

पछिल्लो समय नेपालमा फाइबर इन्टरनेटको प्रयोग बढ्दै गएको र अझ कोभिडपछि प्रयोगदर दोब्बर भएको छ । इन्टरनेटको प्रयोगदर बढेसँगै प्राधिकरणमा सोही सेवाको उजुरीको चाङ नै देखिएको हो ।

प्राधिकरणले मेरोलगानीलाई दिएको तथ्याङ्क अनुसार झण्डै ५० प्रतिशत उजुरी इन्टरनेट स्पीड सम्बन्धित छन् । सेवाप्रदायकले इन्टरनेट स्पीड नदिएको,स्पीडमा ठगिएको तथा इन्टरनेट प्याकेज र व्याडविथ पनि भने जति नपाएको गुनासा धेरै छन् ।

त्यस्तै इन्टरनेट नचलेको, मर्मतमा ढिलाई भएकाे, बिलिङमा समस्या रहेकाे लगायतका १५ प्रतिशत गुनासो प्रधिकरणमा परेको छ ।

जसमा इनटरनेट सेवातर्फ सबैभन्दा बढी ग्राहक भएको वल्डलिंक र क्लासिक टेकको सेवामा सेवाग्राहीले धेरै प्रश्न उठाएका छन ।

इन्टरनेट स्पीड,व्यान्डविथ, सुस्त इन्टरनेटमा,विलिङ लगायतका बिषयमा २१९ वटा उजुरी दर्ता भएका छन् । यी उजुरी सम्वन्धित कम्पनीलाई जानकारी गराइ समाधान गराउने प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ ।

भ्वाइस तर्फ टेलिकमको सेवामा धेरै उजुरी

यता मोबाइल सेवातर्फ नेपाल टेलिकमको भ्वाइस सेवामा सबै भन्दा बढी उजुरी गरेको पाइएको छ । बिलिङ र व्यालेन्सको बिषयमा दूरसञ्चार प्राधिकरणमा धेरै उजुरी दर्ता भएको तथ्याङ्कमा उल्लेख छ । तिनमा डेटा प्याकेज, नेटवर्क समस्या, रोमिङ सेवा, ल्यान्डलाइन तर्फ धेरै रहेको छ ।

तथ्याङ्क अनुसार मोबाइल सेवा दिइरहेका तीन वटा सेवाप्रदायक मध्ये नेपाल टेलिकमका ८२ र एनसेलका २६ वटा उजुरी दर्ता भएका छन् । इन्टरनेट र भ्वाइस सेवामा गरी हालसम्म तीन सय ९ वटा उजुरी नियामकमा परेको छ ।

सेवाग्राहीले उजुरी दर्ता गराए पनि नियामक निकाय प्राधिकरण गुपचुप नै बस्ने गरेको छ । सेवाको बिषयम अहिलेसम्म प्राधिकरणले टेष्ट ड्राइभको नाममा सेवाग्राहीको आँखामा छारो मात्रै हालिरहेको छ ।
त्यस्तै अनुगमनमा पनि दूरसञ्चार प्राधिकरणसँग  ठूला नियमन अनुगमन गर्ने पूर्वाधार छैन । जसले गर्दा सेवाप्रदायको इशारामा नियामक चल्ने गरेको छ ।

प्राधिकरणले १८ वटा प्याकेजमा गाउँ गाँउमा अर्बाैं रुपैयाँ खर्च गरेर १५ हजार भन्दा बढी साइटमा सेवा विस्तार गरिरहेको छ । तर, अनुगमन भने शुन्य जस्तै छ । सेवा प्याकेज तथा प्रचारमा सेवाप्रदायकको लापरवाही हुँदा पनि नियामक चुपचाप बसिरहेको छ ।

 

Your Views
Related News