चीनमा एक हप्ता लामो अक्टोबर होलिडे पछि सबैको ध्यान नोभेम्बर ११ मै केन्द्रित हुन्छ । अलिबाबाले सञ्चालन गरेको थावपाव होस वा टीमल अथवा जेडी डटकम कुन वेवसाइटमा गएर सामान किन्ने भन्ने योजनामै व्यस्त हुन्छन् किनभने नोभेम्बर ११ मा चीनका प्रायजसो सबै अनलाइन किनमेल वेवसाइटले भारी छुटमा सामान बिक्रीको अफर राख्ने गर्छन् ।

वर्षभरिमा सबैभन्दा सस्तोमा सामान किन्ने अवसरका रुपमा सो दिनलाई लिने गरिन्छ । घडीको सुईले नोभेम्बर १० लाई बिदाई गरेर नोभेम्बर ११ शुरु गरेको जनाउँ दिनासाथ चिनियाँहरु सपिङ वेवसाइटमा आफ्ना मनपर्ने सामान किन्न वा आफ्नो पैसा खन्याउन हतारिन्छन् त्यसैले त २४ घण्टामै ४० अर्ब अमेरिकी डलरको कारोबार सम्भव भएको हो ।

के हो ‘डबल ११’

डबल ११, जसलाई ‘सिंगल्स डे’ पनि भनिन्छ । चीनमा यसलाई अनलाइन सपिङ गर्ने विशेष दिनको रुपमा मनाउने गरिन्छ । धेरै वेवसाइटहरुले भारी छुटका साथ सामानको अफर राख्ने हुँदा धेरै चिनियाँहरु सामान किन्न यस दिनको व्यग्र प्रतिक्षामा बसेका हुन्छन् ।

पहिलो पटक अलिबाबाद्वारा २००९ मा एकल पुरुषसँग मिल्दोजुल्दो ‘१’ प्रयोग गरेर एकल अथवा अविवाहितको लागि किनमेल महोत्सवको रूपमा आफ्नो वेवसाइटमा आकर्षक छुट सहित सामान किनबेचनको आह्वान गरेको थियो । अलिबाबाको व्यापार राम्रो भएको देखिएपछि अन्य ई–कमर्स प्लेटफर्महरूले पनि अलिबाबको सोही सूत्र पछ्याएका छन् ।

शुरुवात कहिलेबाट ?

हरेक वर्ष नोभेम्बर ११ लाई ‘डबल ११’ अथवा सिंगल्स डे रुपमा मनाउने चलन चीनको नानचिङमा सन् १९९० बाट शुरुवात भएको हो । नानचिङ विश्वविद्यालयका केही युवाहरुले आफू एक्लो (सिंगल) भएको स्वतन्त्रता स्वरुप उक्त दिवस मनाए । यसलाई ‘सपिङ डे’ अथवा किनमेल दिवसमा परिभाषित गर्ने काम भने चीनको सबैभन्दा धनी व्यक्ति ज्याक माले सञ्चालन गरेको अलिबाबाले गरेको हो । अलिबाबाको किनमेल गर्ने वेवसाइट टीमल, चिनियाँ भर्सनको थावपाव डटकमले सन् २००९ को ‘डबल ११’ भारी छुटसहित सामान बिक्रीको अफर ल्यायो । सन् २००९ मा अलिबाबाले गरेको नौलो प्रयोगको अरु चिनियाँ सपिङ साइटहरुले पनि सिको गर्न थाले जसले गर्दा ‘डबल ११’ को कारोबारले अमेरिकाको ब्ल्याक फ्राइडे र साइबर मन्डे भन्दा ठूलो कारोबार गर्न थालेको छ । अलिबाबा र जेडी डटकमको कारोबार डबल ११ मा हेर्न लायक हुने गर्दछ ।

२०२१ ‘डबल ११’ मा अपेक्षा

जेडी डट कम र अलिबाबाले नोभेम्बर ११ को किनमेलको लागि अक्टोबर २० बाट नै विभिन्न प्रबद्र्धन कार्यक्रमहरु गरेका छन् । कम्पनीले नोभेम्बर ११ मा भारी छुट पाउनको लागि केही रकम पहिले नै डिपोजिट गर्नुपर्ने योजनाहरु समेत अगाडि ल्याएका छन् । कोरोना महामारीका कारण विश्व अर्थतन्त्र नै मन्द गतिमा अघि बढिरहेको बेला चीनको अर्थतन्त्रलाई गति दिने साधनको रुपमा समेत यो दिनलाई हेरिएको छ । चीनको अर्थतन्त्रका सूचकहरु नकारात्मक हुँदाहुँदै पनि उपभोक्ताहरु यस वर्षको किनमेल उत्सवमा खर्च गर्न अग्रसर देखिएका छन् । बेन एन्ड कं.ले ३ हजार उपभोक्तामाझ गरेको एक सर्वेक्षणमा ५२ प्रतिशतले गत वर्ष भन्दा बढी खर्च गर्ने उल्लेख गरेका छन् भने ८ प्रतिशतले मात्रै गत वर्षभन्दा कम खर्च गर्ने बताएका छन् ।

‘डबल ११’को अनलाइन सपिङको मुख्य प्रतिस्पर्धीमा अलिबाबा र जेडी डटकम नै भए पनि पछिल्लो समय फिनटोटो र टिकटकको चिनियाँ भर्सन टोउइनले पनि अनलाइन बजारमा बलियो उपस्थिति देखाएको छ ।

बजार बढाउँदै अनलाइन कम्पनीहरु

बेनका जोनाथन छङले भने –‘बजारमा सबै अनलाइन सपिङ पोर्टलको उच्चस्तरको प्रतिस्पर्धा देखिन्छ । अलिबाबाले किनमेल उत्सवको रुपमा यसको शुरुवात गरे पनि पछिल्लो समय सामान्य किनमेल उत्सवको रुपमा यसको विकास भइरहेको छ ।’

बेनको सर्भेमा भाग लिएका ५० प्रतिशतभन्दा बढी उपभोक्ताले दुई वा सो भन्दा बढी सपिङ प्लेटफर्ममा ‘डबल ११’ को समयमा किनमेल गर्ने योजना बनाएको बताएका छन् । जेडी र अलिबाबाका सपिङ प्लेटफर्महरुमा भने अलिक बढी बफादार ग्राहक देखिएको उनले बताए । आफ्नो प्लेटफर्मको बिक्रीमा अझ तेजी ल्याउन अलिबाबा र जेडी डटकमले ठूला शहरहरु भन्दा पनि साना चिनियाँ शहरहरुतिर आफ्नो ध्यान केन्द्रित गर्न थालेका छन् । बेनको सर्वेक्षणले ‘डबल ११’ मा पहिलो पटक सामान किनबेच गर्नेहरु टायर–३, ४ र ५ शहरहरुमा टायर–१ र २ भनाउँदा शहरबाट भन्दा बढी रहेको देखाएको छ ।

सरकारको बढ्दो नियमन

‘डबल ११’ किनमेल उत्सवको नेतृत्व गर्ने दुई कम्पनीहरु जेडी र अलिबाबाको शेयर भने चिनियाँ प्रविधि क्षेत्रको नियामक निकायका बढ्दो नियमनको कारण दबाबमा रहेको छ । जेडी डट कमको शेयर मूल्य गत फेब्रुअरीको उच्च मूल्य भन्दा २७ प्रतिशतले तल आइसकेको छ भने अलिबाबाको शेयर मूल्यमा सन् २०२० अक्टोबरको मूल्य भन्दा ४८ प्रतिशतले तल आइसकेको अवस्था छ ।

बढ्दो कारोबार

‘डबल ११’ को कारोबारले हरेक वर्ष पुरानो रेकर्ड तोड्दै नयाँ कारोबार रेकर्ड राख्दै आएको छ । नोभेम्बर ११ को दिन अरु कसैसँग नभएर आफ्नो प्रतिस्पर्धा आफैसँग हुने गरेको छ । अलिबाबाको चिनियाँ भर्सनको अनलाइन किनमेल वेवसाइट थावपावले सन् २०१६ मा १ सय अर्ब आरएमबी (१५ अर्ब अमेरिकी डलर) बराबरको कारोबार ग¥यो जुन सन् २०१८ मा पुग्दा २ सय अर्ब आरएमबी (३० अर्ब अमेरिकी डलर पुग्यो । गत वर्ष सन् २०२० मा भने कोरोना महामारीका बाबजुद पनि यो कारोबार रकम ‘डबल ११’ को २४ घण्टामै २६८ अर्ब (४०.२ अर्ब अमेरिकी डलर) पुग्यो । अलिबाबाले नोभेम्बर १ देखि ११ सम्ममा आफ्नो वेवसाइटको कारोबार ४ सय ९८ अर्ब आरएमबी (७४ अर्ब अमेरिकी डलर) पु¥याएको थियो । यो वर्ष अलिबाबाले शुरु गरेको किनमेल उत्सव १२ औंं संस्करण हो र कारोबार रकम गत वर्ष भन्दा झन्डै दोब्बर बनाउने योजनामा अलिबाबा लागेको छ । गत वर्ष ‘डबल ११’ मा सबै इ–कमर्स कम्पनीहरुको कुल व्यापार ८ सय ४० अर्ब युआन (१३१.३ अर्ब अमेरिकी डलर)को व्यापार भएको थियो ।

यस वर्षको ‘डबल ११’ को नयाँ फिचर

यस वर्ष आफ्नो बिक्रीलाई अझ नयाँ उचाईमा पु¥याउन अलिबाबाले प्रि–अर्डरको सुविधा दिएको छ । अलिबाबाले ‘११.११ विश्व किनमेल उत्सव’को रुपमा ब्रान्डिङ गरे पनि वास्तवमा अक्टोबर २१ देखि नै बिक्री शुरु भइसकेको र अब ‘डबल ११’ लाई २४ घण्टे किनबेचको घेरा भन्दा लामो म्याराथन दौडको रुपमा व्याख्या गर्न थालेको छ । अलिबाबाले नोभेम्बर ११ को मुख्य इभेन्ट अगाडि नै नोभेम्बर १ देखि ३ सम्म चिनियाँ भर्सनको थावपाव र अन्तर्राष्ट्रिय भर्सनको टीमलमा एउटा छुट्टै विन्डोको व्यवस्था गरेको छ । यसबाट व्यापारीहरुले आफ्ना सामानको सरसज्जाको लागि अवसर पाउनेछ । अक्टोबर २१ देखि २८ सम्मको प्रि सेल अवधिमा जेडी डटकमले १४ करोड वस्तुहरु बिक्री भएका थिए जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा ४२.३ प्रतिशत बढी हो ।

सामान बिक्री गर्ने नयाँ ट्रेन्ड

विगत केही वर्षदेखि चीनमा लाइभ स्ट्रिमिङबाट सामान बेच्ने प्रचलन बढेको छ । सामाजिक सञ्जालमा लाइभ आएर सामानको बारे जानकारी दिने र आफूलाई मनपरेको सामानको तुरुन्तै अर्डर गर्न सकिने नयाँ तरीकाले गर्दा यसले ‘डबल ११’ को किनमेनलाई नै प्रभाव पार्ने देखिएको छ । थावपावले पनि पछिल्लो समय लाइभस्ट्रिमिङमै आएर सामान बेच्न सकिने फिचर आफ्नो वेवसाइटमा थपेको छ । लाइभ स्ट्रिमिङमा आएर राम्रो प्रदर्शन गर्ने प्रस्तुतकर्तालाई अलिबाबाले पुरस्कृत गर्ने नीति लिएको छ । यस वर्ष भिया र लि च्याछीले अक्टोबर २१ को पहिलो रात नै ८ अर्ब आरएमबी (१.२ अर्ब अमेरिकी डलर)को सामान बिक्री गरेका थिए ।

के हो ब्ल्याक फ्राइडे र साइबर मन्डे ?

अमेरिकाको सबैभन्दा ठूलो किनमेल दिवसको रुपमा ब्ल्याक फ्राइडेलाई लिने गरिन्छ । प्रत्येक नोभेम्बर महिनाको चौथो बिहीबारलाई थ्यांक्स गिभिङ डे को रुपमा मनाउने अमेरिकीहरुले त्यसको भोलिपल्टको शुक्रबारलाई सामान किन्ने दिन अर्थात ‘ब्ल्याक फ्राइडे’ को रुपमा मनाउँछन् । अमेरिकी अनलाइन सपिङ प्लेटफर्महरुले सन् २०१८ को ‘ब्ल्याक फ्राइडे’ मा ६.२ अर्ब अमेरिकी डलरको कारोबार गरेको थियो ।

थ्यांक्स गिभिङ डे पछिको पहिलो सोमबारलाई अमेरिकीहरुले साइबर मन्डेको रुपमा मनाउने गरेको छ । ब्ल्याक फ्राइडेजस्तै गरी साइबर मन्डेमा पनि अनलाइन सपिङ साइटहरुले विभिन्न छुटहरु उपलब्ध गराउने गरेका छन् । यस वर्ष ब्ल्याक फ्राइडे र साइबर मन्डे दुवै दिनको व्यापारको आँकडा २३ अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । पछिल्लो समय यी दुवै दिनको बिक्री तथ्यांकलाई ‘डबल ११’ले उछिनिसकेको अवस्था छ ।

नेपालमा ‘डबल ११’ को प्रभाव

नेपालमा भने दराज डटकम डटएनपी नामक एक अनलाइन सपिङ वेवसाइटले यसलाई प्रबद्र्धन गर्दै आइरहेको छ । दराज एक दक्षिण एसियाली अनलाइन खुद्रा बिक्रेता हो जुन २०१२ मा एक जर्मनीको रकेट इन्टरनेटद्वारा बनाईएको थियो । दराज समूहले पाकिस्तान, बङ्गलादेश, नेपाल, श्रीलङ्का र म्यानमार लगायतका दक्षिण एसियाली देशहरूमा आफ्नो इ कमर्समा आधारित वेबसाइट सञ्चालन गर्दै आइरहेको छ । सन् २०१८ को मे महिनामा दराज समूहलाई चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाले आफ्नो स्वामित्वमा लिइसकेको छ ।

अलिबाबाले दराजलाई एक्वाएर गरेपछि प्यारेन्ट कम्पनीकै पोलिसीलाई पछ्याएर नेपालमा पनि विभिन्न छुटका साथ दराजले विभिन्न छुटका सामानको बिक्रीको अफर गरिरहेको छ । दराजसँग पछिल्लो समय विभिन्न मोबाइल वालेट कम्पनी र बैंकहरु पनि जोडिएका छन् । नबिल बैंक, ग्लोबल आईएमई बैंकलगायतका बैंकको डेबिट कार्ड प्रयोग गरेर दराज डट कममा सामान किन्दा १५ प्रतिशत वा ३ हजार रुपियाँसम्म छुट पाइनेछ । नेपालमा दराजले डबल ११ को अवसर पारेर धेरै छुटको घोषणा गरे पनि उपभोक्ताले भने खासै छुटको अनुभव गर्न पाएका छैनन । सायद नेपालमा धेरै उद्योगधन्दाहरु नखुलेका र सबै सामान विदेशबाट होलसेलमा आयात गरेर खुद्रा मूल्यमा बिक्री गर्नुपर्ने हुँदा विदेशमा जस्तो ठूलो छुट अफर गर्न नसकेको बताइन्छ ।

दराज अनलाइन सपिङले भने प्रेस विज्ञप्ति जारी गरी १२ हजार बिक्रेताका ११ लाख उत्पादनहरूमा ५ करोडसम्मको छुटको घोषणा गरेको जनाएको छ । त्यस्तै ११ जनालाई टिभिएस रेडर मोटरसाइकल जित्ने अवसर समेत दिनेछ । दराज ११.११ सेल दराज एपमा कार्तिक २५ (नोभेम्बर ११) को दिन सुरु भइ २४ घण्टामा समापन हुनेछ ।

त्यसैगरी पछिल्लाे समय अरू सपिङ वेवसाइट पनि डबल ११ काे किनमेल उत्सवमा सामेल हुने क्रम बढेकाे छ । ग्यापु नामक वेवसाइटले पनि नाेभेम्बर ११ मा सामान  किन्दा ३० प्रतिशत छुटका साथै अप्रिला स्कुटर  समेत जित्न सकिने जनाएकाे छ । त्यस्तै दराज डटकममा सामान  किन्दा इसेवा मार्फत भुक्तानी गरेमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने जनाएकाे छ ।

 

Your Views
Related News