टिकापुर नगरपालिका-१ स्थित सिद्धार्थ होटलनजिकै भएको हत्यामा संलग्न रहेको आरोप लागेका आठ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ।

मंगलबार राति लम्कीचुहा नगरपालिका-१ लम्की चौराहका २२ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको थियो।

हतियार प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले बुधबार आठ जनालाई पक्राउ गरेको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-३ चिसापानीका २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका-१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय किशोर, टीकापुर नगरपालिका-१ का २३ वर्षीय प्रविन रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह छन्।

घटनास्थलबाट सु.प.प्र.०१००८प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

सोही विषयलाई लिएर मृतकका आफन्तहरूले चिसापानी बजारस्थित महेश रावलको संगम होटल, भैरव शाही र राजबहादुर शाहीको घरमा ढुंगामुडा गर्दा सामान्य क्षति भएको छ।

लम्कीचुहा नगरपालिका-१ पूर्व-पश्चिम राजमार्गमा स्थानीयले गरेको अवरोध हटेको छ। घटनामा संलग्न अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

आइतबार मात्रै संगम होटल सञ्चालक र नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा कार्यरत् सेनानी (मेजर) अशोकजंग शाहीबीच झगडा भएको थियो। त्यसको पर्सिपल्ट त्यही होटल सञ्चालकको परिवारका सदस्य महेश हत्यामा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको छ।

हत्याको कारण स्पष्ट खुलिनसकेको भए पनि आपसी रिसिइबीका कारण भएको प्रारम्भिक अनुमान प्रहरीको छ।

‘कसले के भूमिका खेलेको भन्ने पूरै खुलेको छैन, आपसी रिसिइबीकै कारण हत्या भएको अनुमान छ,’ अधिकारीले भने।

पक्राउ परेका २२ वर्षीय श्रेष्ठले बडुवाललाई राति ८ बजे घरबाटै ‘साथीलाई परेको छ’ भन्दै लिएर गएका थिए। त्यसको एक घन्टामा रावलको हत्या भएको थियो।

 

Your Views
Related News