काठमाडौं :  नेकपा (एमाले) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनगणना प्रयोजनका लागि घरमा आउने गणकलाई सही विवरण टिपाएर सबैले सहयोग अपिल गरेका छन्। एक भिडियो सन्देशमार्फत ओलीले जनगणनाबाट प्राप्त तथ्याङ्क अनुसार राज्यलाई नीति निर्माणमा सहयोग पुग्ने बताएका हुन्।

उनले सबैलाई सही विवरण टिपाउने सन्देश प्रवाह गर्न र जनगणनालाई पूर्ण रुपमा सफल पार्न सहयोग गर्न आह्वान गरेका छन्। राष्ट्र विकासका लागि आवश्यक पर्ने महत्त्वपूर्ण तथ्यांक उपलब्ध गराउने जनगणनाले समाजको स्तर, विकासको स्तर, कुन क्षेत्रमा अगाडि छौं, कुन क्षेत्रमा ध्यान दिनुपर्ने छ, आयस्रोत, रोजगारी, शैक्षिक अवस्थालगायतको विषयको जानकारी हुने र राज्यलाई नीति निर्माणमा सहयोग पुग्ने उनको भनाई छ।

ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रपश्चात पहिलो जनगणना पनि भएकाले संघीयता अवलम्बन गरिसकेपछि यसले जनतालाई राज्यले उपलब्ध गराउने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन के कस्तो रणनीति अपनाउनु पर्छ भन्ने जानकारी प्राप्त हुने बताए। उनले उनले जनगणनाबाट प्राप्त तथ्याङ्क प्रयोग गरेर लक्षित वर्गको उत्थानका लागि योजना बनाउन सकिने उनको भनाइ छ।

आफ्ना नागरिकलाई सहज सेवा प्रवाह गर्न जनगणनाको तथ्याङ्कले सघाउ पुग्ने ओलीको विश्वास छ। अध्यक्ष ओलीले आफ्ना नेता, कार्यकर्ता, जनप्रतिनिधिहरु लगायत सम्पूर्णलाई जनगणनामा खटिएका कर्मचारी (गणक) लाई पूर्ण रुपमा सहयोग गर्न समेत आह्वान गरेका छन्।

केन्द्रीय तथ्यांक विभागले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय जनगणना सुरु गर्ने भएको छ। बिहान साढे ९ बजे राष्ट्रपति भण्डारीको जनगणना गरिँदैछ। यस्तै बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको जनगणना गरिनेछ।

 

Your Views
Related News