संसारका सबैभन्दा धनी व्यक्ति इलोन मस्कले इलेक्ट्रिक कार कम्पनी टेस्लाको पाँच अर्ब अमेरिकी डलर बराबरको शेअर बेचेका छन्।

ट्विटरमा आफ्ना छ करोड ३० लाख फलोअरसँग टेस्लाको १० प्रतिशत शेअर बेच्ने विषयमा गरेको सर्वेक्षणको परिणामलाई मान्दै केही दिनपछि मस्कले त्यसो गरेका हुन्।

उनले शेअर बेच्नुपर्नेमा धेरैले मत दिएको दुई दिनमा टेस्लाको शेअर मूल्य १६ प्रतिशतले घटेको थियो। बुधवार भने शेअर मूल्यमा केही सुधार भएको थियो।

एक खर्ब अमेरिकी डलर मूल्याङ्कन भएको टेस्ला संसारकै सबैभन्दा समृद्ध कार कम्पनी हो।

मस्कको ट्रस्टले चार अर्ब डलर बराबरको ३६ लाख शेअर बेचेको छ भने मस्कले थप ९,३४,००० शेअर पनि बेचेको अमेरिकी निकायले दिइएको दस्ताबेजमा उल्लेख छ।

सरकारी दस्ताबेजका अनुसार तीमध्ये २० प्रतिशत शेअर गत सेप्टेम्बरमा सहमति गरिएको बेचबिखन योजनाअन्तर्गत बेचिएको हो।

गत शनिवार मस्कले ट्विटरमा एउटा सर्वेक्षण गर्दै कर जिम्मेवारी वहन गर्नका लागि टेस्लाको शेअर बेचौँ कि नबेचौँ भनेर सोधेका थिए।

सर्वेक्षणको परिणाम स्वीकारेर तदनुरूप गर्ने उनको प्रतिबद्धता थियो।

सो सर्वेक्षणमा ३५ लाख जनाले मत दिएका थिए। तीमध्ये ५८ प्रतिशतले शेअर बेच्नुपर्ने भनेका थिए।

तलब नै शेअरमा

मस्कले टेस्ला कम्पनीले आफूलाई नगद नभई शेअरमा भुक्तानी गर्ने बताएका थिए: “मसँग शेअर मात्रै छ, त्यसैलै मैले व्यक्तिगत कर तिर्ने एक मात्र तरिका भनेको शेअर बेच्नु हो।”

मस्कको शेअर कारोबार उनलाई टेस्लाले सन् २०१२ मा दिएको तलब सुविधा अन्तर्गतको शेअरमा भुक्तानी गर्ने व्यवस्थाअनुरूप हो।

उनले शेअरमा भुक्तानी लिँदा आयकर तिर्नुपर्छ जुन सामान्यतया नयाँ प्राप्त शेअर बेचेर आएको रकमबाट तिरिन्छ।

उनले सन् २०१६ यता पहिलो पटक शेअर बेचेका हुन्। यसअगि उनले ६० करोड अमेरिकी डलर कर तिर्न केही शेअर बेचेका थिए।

उनको कुल सम्पत्ति दुई खर्ब ८० अर्ब अमेरिकी डलर बराबर छ।

 

Your Views
Related News