काठमाडौं : वागमती प्रदेशमा कात्तिक १ देखि लागू भएको नयाँ भाडा दरअनुसार सार्वजनिक सवारी साधन चढ्ना साथ (५ किलोमिटरसम्म) १८ रुपैयाँ भाडा तिर्नुपर्छ । त्यस्तै, १० किमीसम्म २३ र १५ किमीसम्म २७ रुपैयाँ भाडा छ । यात्रु भने यस्ता रुटमा २०, २५ र ३० रुपैयाँ तिर्न बाध्य छन् ।

राष्ट्र बैंकले एक–दुई रुपैयाँको नोट छाप्न छोडिसकेको छ । यात्रुले एक–दुई रुपैयाँका सिक्का पनि बोकेका हुँदैनन् । त्यसैले यात्रुले बढी भाडा दिनैपर्ने अवस्था सिर्जना भइरहेको छ । कोही यात्रुले पैसा फिर्ता चाहिने अड्डी कसे धेरैजसो सहचालकले खुद्रा नभएको भनेरै टार्छन् । कुनै–कुनै बसका सहचालकले चकलेट दिने गर्छन् ।

धेरैजसो यात्रु दुई रुपैयाँका लागि विवाद गर्नै चाहन्नन् । उनीहरुले एकपटक बस चढ्दा दुई रुपैयाँ ठगिनुलाई सामान्य मानेको देखिन्छ । यातायात व्यवस्था विभागले यसबारे अनुगमन, कारवाही र अध्ययन गर्न चासो देखाएको छैन ।

तर यात्रुहरुसँग हुने यो प्रकारको ठगीको हिसाब गर्ने हो भने त्यो अंक असामान्य देखिन्छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब २५ लाख यात्रु (पटकमा गन्दा) सार्वजनिक सवारी प्रयोग गर्ने अनुमान छ ।

एउटा यात्रुले दैनिक दुई पटक सार्वजनिक यातायातका साधन चढ्दा चार रुपैयाँ बढी तिर्छ । यसरी एक महिनामा १२० रुपैयाँ र एक वर्षमा एक हजार ४४० रुपैयाँसम्म ठगिन्छ ।

यसरी हरेक यात्रु ठगिँदा यातायात व्यवसायीलाई भने मग्रमा ठूलो ठगी–नाफा हुने अवस्था सिर्जना भएको छ ।

२०७३ सालमा न्युनतम् १३ रुपैयाँ भाडा कायम गर्दा पनि यस्तो ठगी देखिएपछि यातायात व्यवस्था विभागले छड्केमार्फत नमूना अध्ययन गरेको थियो । त्यतिबेला ८० प्रतिशत यात्रुले २ रुपैयाँ फिर्ता नपाउने गरेको देखिएको थियो ।

अहिले पनि त्यही समस्या दोहोरिएको छ । २०७३ मा जस्तै अहिले पनि ८० प्रतिशत यात्रु ठगिरहेको मान्ने हो भने काठमाडौं उपत्यकामा दैनिक २० लाख यात्रुले २ रुपैयाँ फिर्ता पाउँदैनन् अर्थात दैनिक करिब ४० रुपैयाँसम्म ठगी हुन्छ । यही सिलसिला चलिरहे यात्रुबाट एक वर्षमा १ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी ठगी हुनेछ ।

गुनासो आए मात्रै कारवाही

सार्वजनिक सवारीको अनुगमन गर्ने निकायहरु भने यात्रुका गुनासा कहिले बढ्ला भनेर प्रतीक्षा गरिरहेका छन् । तर, पछिल्ला दिनमा गुनासो गर्नेको संख्या नै घटेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता सन्तोष रोका बताउँछन् ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) रोकाका अनुसार, नयाँ भाडा दर लागू भएपछिका केही दिन पैसा फिर्ता नपाएको भन्दै दैनिक २२–२५ वटा सम्म गुनासो आउने गरेका थिए । ‘अहिले त यो संख्या दैनिक २–३ वटामा झरेको छ’, उनले भने ।

खासगरी ठूला बसका यात्रुहरु २ रुपैयाँ त हो भनेर छाडेर हिँड्ने गरेको डीएसपी रोकाको अनुमान छ । ट्याक्सीले गर्ने ठगीको समस्या भने ठुलै रहेको उनले बताउँदै उनले भने, ‘दैनिक ५० वटासम्म ट्याक्सी बढी भाडा लिएको कसुरमा कारवाहीमा परिरहेका छन् ।’

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसाल भने खुद्रा पैसा बोकेर हिँड्न यात्रुलाई नै सुझाउँछन् । ‘पहिला त यात्रु आफैं सचेत हुनुपर्छ’, उनले भने, ‘भाडामा ठगिए ट्राफिक प्रहरी वा विभागमा खबर गर्न आग्रह छ ।’

सार्वजनिक सवारी साधनले ‘खुद्रा पैसा छैन’ भनेर ठग्न नपाउने, खुद्रा छैन भनेर चकलेट दिन पनि नपाउने बताउँदै विभागका प्रवक्ता भुसालले भने, ‘त्यस्ता सवारीबारे उजुरी परे एक हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्छौं ।’

दोष सरकारलाई

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सार्वजनिक सवारीमा यात्रुले पैसा फिर्ता नपाइरहेको स्वीकार्छ । तर, यो अवस्था आउनुमा सरकार नै दोषी रहेको उसको भनाइ छ ।

‘संघ सरकारले लामो दूरीको सवारीमा २८ प्रतिशत भाडा बढाउँदा प्रदेश १ ले २२ र बाग्मती प्रदेशले २३ प्रतिशत मात्रै बढाए,’ महासंघका महासचिव सरोज सिटौला भन्छन्, ‘वैज्ञानिक तवरले मूल्य समायोजन नगर्दा समस्या भएको हो ।’

यद्यपि, आफूहरु सरकारले तोकेकोभन्दा बढी भाडा लिनेलाई कारवाही गर्ने पक्षमै रहेको दावी उनले गरे । ‘यो परिस्थिति आउनुमा मुलतः प्रदेश सरकारहरु जिम्मेवार छन्’, महासचिव सिटौला भन्छन्, ‘यातायात व्यवसायी महासंघको तर्फबाट हामीले त सवारीधनी, चालक, सहचालक सबैलाई बढी भाडा नलिन भनेका छौं ।’

 

Your Views
Related News