काठमाडौँ : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको गुटगत छलफलमा पूर्वमहामन्त्री प्रकाशमान सिंह सहभागी नहुने भएका छन् ।

पौडेलले आइतबार बस्ने केन्द्रीय समितिको बैठक र आसन्न महाधिवेशनको तयारीका विषयमा छलफल गर्न शुक्रबार दिउँसो आफूपक्षीय नेताहरुको अनौपचारिक बैठक बोलाएका छन् । तर, सिंह त्यो बैठकमा नजाने सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए । ‘धेरै कुरा केही छैन, उहाँ बैठकमा जानुहुन्नँ,’ लामिछानेले इकान्तिपुरसँग भने

सभापतिमा दोहोरिन चाहेका शेरबहादुर देउवाको बहिर्गमनका लागि टिमबाट एकल उम्मेदवार तयार गरी अघि बढ्ने प्रयासरत पौडेल समूहमा पौडेल, कोइराला परिवार र सिंहबीचमा विवाद चर्किएको हो । स्रोतका अनुसार सिंह वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालासँग असन्तुष्ट बनेका छन् । नेताहरुबीच फोन सम्पर्कसमेत पातलिएको छ ।

पछिल्लो समय सिंहले पौडेल संयोजकत्वमा गठन भएको उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन भएको विषयमा प्रश्न उठाएका थिए । आफू संयोजक बन्ने भएपछि पौडेलले कुनै छलफल नै नगरी समिति गठनमा सहमति दिएको सिंहको भनाइ छ ।

त्यसअघि मन्त्रिपरिषद् विस्तारमा समेत आफूसँग कुनै परामर्श र छलफल नगरेको भन्दै नेता सिंह असन्तुष्ट बनेका हुन् । सिंहले काठमाडौंबाट निर्वाचित सांसद राजन केसीलाई मन्त्री बनाउन चाहेका थिए । तर, पौडेल र कोइरालाले आफूहरुका तर्फबाट रक्षामन्त्री मिनेन्द्र रिजाल र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुको नाम सिफारिस गरेका थिए ।

त्यहीबेला देखि पौडेल–कोइरालासँग सिंहको दूरी बढेको हो । सिंह संसदीय दलको चुनावमा सभापति देउवासँग पराजित थिए । महामन्त्री कोइरालाले संसदीय दलको चुनावमा आफूलाई असहयोग गरेको सिंह पक्षको आरोप छ । सिंहनिकट एक नेता संसदीय दलको चुनावदेखि नै महामन्त्री कोइरालासँगको सम्बन्धमा खटपट भएको दाबी गर्छन् । आफूले संसदीय दलको चुनाव लडेका कारण सरकारका विषयमा निर्णय लिँदा आफ्नो निर्णायक भूमिका हुनुपर्ने सिंहले दाबी गर्दै आएका छन् । ‘अहिलेको एउटा घटनाको मात्रै कुरा होइन । सहज हुँदा आफू जस्तोसुकै अवसर लिन पनि पछि नहट्ने । अफ्ठ्यारो पर्दा अरुलाई अघि सार्ने । यो कस्तो राजनीतिक संस्कार हो ?,’ ती नेताले प्रश्न गर्दै भने, ‘संसदीय दलको चुनाव लड्दा प्रकाशमान चाहिने । नेतृत्वमा पुग्न सघाउनुपर्ने । अनि टिमको निर्णय गर्दा एक्लै धारणा बनाउने ? त्यो सधैं कसले सहिरहन्छ ?’

१२ औँ महाधिवेशनमा सुशील कोइराला नेतृत्वको समूहबाट पार्टीको पहिलो महामन्त्री बनेका सिंहले १३ औँ महाधिवेशनमा पार्टी सभापतिमा पौडेल र महामन्त्रीमा शशांक कोइरालालाई सघाएका थिए । तर, पौडेल सभापतिमा पराजित भए, कोइरालाले महामन्त्री जिते । टिमबाट सभापति उम्मेदवार पौडेल पराजित भएपछि पुरानो लिगेसी बोकेका कोइराला, सिंहसहितको त्यो समूह ‘पौडेल समूह’ले चर्चित बन्यो । विगतमा कोइराला परिवारले नेतृत्व गरेको त्यो समूह अहिले रामचन्द्र पौडेलको नेतृत्वमा छ । त्यसयता सिंह र कोइरालाहरुले पौडेललाई नै टिमको नेता मान्दै आएका थिए ।

१४ औँ महाधिवेशनमा साझा उम्मेदवार बनाएर उम्मेदवारी दिने प्रयास भइरहेका बेला सिंहले असन्तुष्टि देखाएपछि अब पौडेल समूहबाट एउटै उम्मेदवार बन्ने सम्भावना कमजोर बनेको छ । आसन्न महाधिवेशनमा सभापति देउवा आफ्नो समूहबाट पुनः सर्वसम्मतरुपमा सभापतिको उम्मेदवार बन्न चाहन्छन् । तर, देउवालाई उपसभापति विमलेन्द्र निधिले चुनौती दिइरहेका छन् ।

त्यस्तै, वरिष्ठ नेता पौडेल पनि पुनः सभापतिको उम्मेदवार बन्न चाहन्छन् भने महामन्त्री कोइराला, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य शेखर कोइराला पनि सभापतिका आकांक्षी छन् । नेता कृष्णप्रसाद सिटौलाले पनि सभापतिमा आफ्नो दाबी रहने बताउँदै आएका छन् ।

कांग्रेसले आगामी मंसिर २४–२६ मा १४ औँ महाधिवेशन गर्ने कार्यतालिका छ । त्यसैको तयारीका सन्दर्भमा सभापति देउवाले आइतबार केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठकले समसामयिक राजनीतिक विषयमा धारणा बनाउनुका साथै महाधिवेशन गर्न आवश्यक पर्ने उपसमितिहरु गठन गर्ने तयारी छ ।

महाधिवेशनबाट नेतृत्व चयन र तयारीका विषयमा देउवाले पनि आफ्नो टिममा छलफल गरिरहेका छन् । उनले बिहीबार आफूनिकट पदाधिकारीहरुसँग छलफल गरेका थिए ।

 

Your Views
Related News