काठमाडौँ  : नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पैसाको आडमा न्यायको बन्ध्याकरण गरेको बताएका छन् । शुक्रबार नेपाल बारको धर्नापछि सभालाई सम्बोधन गर्दै उनले भ्रष्ट प्रधानन्यायाधीश चाहिँदैन भनेर राजनीतिक दलहरुले बोल्ने समयमा आएको बताए ।

थापाले न्यायपालिकामा भइरहेको घटनाको विषयमा राजनीतिक दल बोल्न कि नबोल्ने भन्दै प्रश्न गरेका हुन् ।

‘राजनीतिक दललाई भ्रष्ट प्रधानन्यायाधीश चाहिएको हो कि होइन भनेर बोल्न समय आयो । राजनीतिक दल बोल्नु पर्छ कि पर्दैन’ थापाले भने, ‘हामीले गणतन्त्र यस्तो भ्रष्ट प्रधानन्यायाधीशका लागि ल्याएका होइनौं । सरकारको प्रवक्ताले यो विषयमा बोल्न आवश्यक छ ।’

प्रधानन्यायाधीश जबरा हारिसकेको भन्दै थप क्षति हुनबाट जोखिन सुझाव दिएका थिए । ‘प्रधानन्यायाधीशको जुवा खेल सकिएको छ । घोर जुवा नखेल्नुहोस् । यसमा परिवार सबै तानिन्छ,’ थापाको चेतावनी थियो, ‘कारण देखाऊ आदेशदेखि बेच्न गठनसम्मका विषय यसमा छन् ।’

उनले सक्ने भए प्रधानन्यायाधीशलाई इजलास सञ्चालन गरेर देखाउन पनि चुनौती दिएका थिए । ‘नेपाल बारले पनि चोलेन्द्रशमशेर प्रधानन्यायाधीश रहुन्जेल यो आन्दोलन जारी रहन्छ भनेर घोषणा गर्नुपर्छ,’ थापाले भने । उनले जबराको प्रधानन्यायाधीशबाट बहिर्गमन निश्चित भएको भन्दै कस्तो बहिर्गमन खोज्ने भन्ने प्रश्न मात्रै भएको बताए ।

जबराले पैसाले न्यायमा बन्ध्याकरण गरेको भन्दै थापाले न्यायालय शुद्धिकरण जबराको बहिर्गमन प्रारम्भ भएको बताए । ‘जबराले गंगाजल छर्किएर शुद्धिकरण हुन्छ भन्ने नसोचे हुन्छ । उहाँले पैसाले न्यायको बन्ध्याकरण गर्दै आउनु भएको छ,’ थापाले भने, ‘न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवदेन अक्षरस पालना हुनुपर्छ ।’

 

Your Views
Related News