काठमाडौं : नेपाल बार एसोसियसनले भोलि सोमबारदेखि आन्दोलन थप कडा पार्ने घोषणा गरेको छ। बारले उपत्यकामा रहेका सबै कानुन व्यवसायीलाई एकवद्ध हुन आह्वान गरेको छ । बारका अध्यक्ष चन्द्रेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिँदासम्म आन्दोलन नरोकिने बताए । उनले भने, ‘ भोलि उपत्यकामा कार्यरत सबै कानुन व्यवसायी १० बजेभित्र नै अदालतमा उपस्थित हुन अनुरोध छ। अब हामीले आन्दोलनलाई थप शसक्त बनाउँदै लैजानुपर्छ ।’

भोलि सोमबारदेखि उपत्यकाका सबै आन्दोलन सर्वोच्च परिसरमै केन्द्रित हुने समेत उनले बताए । प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायिक क्षेत्रमा भ्रष्टाचार बढाएको भन्दै कानुन व्यवसायीहरु करिब ३ हप्तादेखि आन्दोलित छन्।

उनीहरुले दिनहुँजसो प्रधान्यायाधीशविरुद्ध सर्वोच्चमा धर्ना र नाराबाजी गर्दै आएका छन्। बहस बहिष्कार गर्दै न्यायिक शुद्धीकरणका लागि आफूहरुले भोकभोकै लड्नुपरेको उनीहरुको गुनासो छ।

यता सर्वोच्चका १९ न्यायाधीश पनि बेन्च बहिष्कार गरी आन्दोलित छन्। जबराकै कारण न्यायिक क्षेत्र भद्रगोल भएको भन्दै प्रधान्यायाधीशको राजीनामा माग गर्दै उनीहरु आन्दोलित भएका हुन्।

उनीहरुले प्रधानन्यायाधीशले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुपर्ने माग राखेका छन्। तर चारैतिरबाट दबाबमा परेपनि प्रधानन्यायाधीश जबरा भने तत्काल राजीनामा दिने मुडमा देखिदैनन्।

लामो समयसम्म इजलास बस्न नसक्दा नियमित मुद्दाको सुनुवाइ हुन सकेको छैन। जसले गर्दा न्यायको पर्खाइमा रहेका सेवाग्राहीहरु मर्कामा परेका छन्।

 

Your Views
Related News