काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासम्बन्धी विवादबारे न्यायाधीशहरूसँग नेपाल बार र सर्वोच्च अदालत बारका पदाधिकारीबीच छलफल भएको छ ।

प्रधानन्यायाधीश जबराले राजीनामा नदिने अडान विज्ञप्तिमार्फत सार्वजनिक गरेपछि सोमबार दिउँसो दुई बजेदेखि न्यायाधीशहरू र बारका पदाधिकारीबीच छलफल भएको हो । नेपाल बारका महासचिव लिलामणि पौडेलले १३ जना न्यायाधीशसँग बारका पदाधिकारीले छलफल गरेको र बाँकी न्यायाधीशको इजलास रहेकाले उपस्थिति नभएको जानकारी दिए ।

‘प्रधानन्यायाधीशको पछिल्लो अडान, बारको अडान र आन्दोलनको अवस्थाबारे हामीले श्रीमानहरूलाई जानकारी गराउन भेटेका हौं । हामीले प्रधानन्यायाधीशले आन्दोलनप्रति देखाएको रवैयाबारे पनि जानकारी गरायौं । अहिलेको समस्या समाधानको विकल्प प्रधानन्यायाधीशको राजीनामा मात्रै हो भन्ने नेपाल बारको अडान स्पष्टसँग राख्यौं,’ उनले भने ।

छलफलमा १३ न्यायाधीश सहभागी भएको उनको भनाइ थियो । ‘बेन्च भएका कारणले न्यायाधीशहरू कुमार रेग्मी, कुमार चुडाल, बमकुमार श्रेष्ठ, तेजबहादुर केसी र मनोजकुमार शर्मा श्रीमानहरू उपस्थित हुनुहुन्थेन,’ उनले भने, ‘बेन्च भएकाले उपस्थित नहुनुभएको भन्ने हामीलाई जानकारी गराइएको थियो । किन उपस्थित हुनुभएन भन्नेबारे हामीले थप जानकारी पाएका छैनौं ।

न्यायाधीशहरू र बारका पदाधिकारीबीच २ घण्टा छलफल भएको थियो । बारको तर्फबाट अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, तीन उपाध्यक्ष, महासचिव पौडेल र सर्वोच्च अदालत बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य सहभागी थिए ।

प्रधानन्यायाधीश जबराले विज्ञप्ति जारी गरेर बारलाई आन्दोलन छोडेर वार्तामा आउन आह्वान गरेका थिए । बारका अध्यक्ष श्रेष्ठले उक्त आह्वान अस्वीकार गर्दै राजीनामा गर्न भनेका थिए । बारसँगको छलफलपछि न्यायाधीशहरू आन्तरिक छलफलमा रहेका छन् ।

 

Your Views
Related News