काठमाडौँ  : नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका न्याायधीशहरूसँग प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाबाहेकमा सहमति हुन नसक्ने अडान सुनाएका छन् । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लीलामणि पौडेल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यलगायतका पदाधिकारीले सोमबार सर्वोच्च अदालतका १३ जना न्यायाधीशलाई भेटेर आफ्नो अडान सुनाएका हुन् ।

बारका महासचिव पौडेलका अनुसार बारले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई आफूहरूको आन्दोलनका मागबारे जानकारी गराएको हो । ‘हामी आन्दोलनमा छौं । प्रधानन्यायाधीश जबराको राजीनामाबाहेकका विषयमा हाम्रो सहमति हुँदैन भनेर हामीले न्यायाधीशहरूसँग स्पष्ट भनेका छौं,’ महासचिव पौडेलले भने, ‘प्रधानन्यायाधीशले आज वार्ताका लागि आह्वान गरेको भए पनि हामी वार्तामा बस्दैनौं । उनको राजीनामा बाहेकका कुनै पनि सहमति मान्दैनौं । त्यसैले तपाईंहरूले कुनै सहमति नगर्नुहोला, गर्नुभयो भने पनि हामीले मान्दैनौं भनेर जानकारी दिएका छौं ।’

नेपाल बारले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा नबस्न सोमबार दोहोर्‍याएर आग्रह गरेको छ । आइतबार नै त्यस्तो आग्रहसहितको पत्र पठाएको बारले सोमबार प्रत्यक्ष भेटघाटमा पनि प्रधानन्यायाधीशले तोकेको इजलासमा नबस्न आग्रह गरेको हो ।

सोमबार विज्ञप्ति प्रकाशित गर्दै प्रधानन्यायाधीश जबराले बारलाई संवादका लागि आग्रह गरेका थिए । बारले प्रधानन्यायाधीशसँग कुनै पनि वार्तामा नबस्ने जानकारी गराइसकेको छ । प्रधानन्यायाधीश जबरा इजलास नबस्ने सर्तमा गोलाप्रथाद्वारा पेसी सूची तोक्ने व्यवस्था गरेर सर्वोच्च अदालतका न्यायाधीशलाई इजलासमा फर्काउने पहल भइरहेका बेला बारले त्यसलाई नमान्ने चेतावनी दिएको हो । ‘जबराको राजीनामा बिना सर्वोच्च अदालतका न्यायाधीशहरू इजलास फर्किए भने पनि हामीले मान्दैनौं । त्यो कुरा आजको छलफलमा स्पष्ट पारिसकेका छौं,’ बार महासचिव पौडेलले भने ।

छलफलमा सहभागी सर्वोच्च अदालतका एक न्यायाधीशले बार पदाधिकारीले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेर आफूहरू आन्दोलनमा रहेको र त्यसलाई सहयोग गर्न आग्रह गरेको बताए । ती न्यायाधीशका अनुसार बार पदाधिकारीको कुरा सुनेपछि सर्वोच्च अदालतका न्यायाधीशले छलफल गरेर ‘आफ्ना कुरा’ भन्ने बताएका छन् । बारको प्रस्तावमाथि सुरुमा सर्वोच्च अदालतका न्यायाधीशहरूबीच छुट्टै छलफल हुनेछ । त्यसपछि मंगलबार मध्यान्ह पुन: सर्वोच्चका न्यायाधीश र बारका पदाधिकारीबीच छलफल हुनेछ ।

बार पदाधिकारीसँगको छलफलमा सर्वोच्च अदालतका पाँच जना न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल सहभागी थिएनन् । बारका पदाधिकारीसँगको छलफल सकिएपछि भने सर्वोच्चका पाँच जना न्यायाधीशले बाँकी न्यायाधीशहरूसँगको छलफलमा सहभागिता जनाएका थिए ।

 

Your Views
Related News