जनकपुर : नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश सरकारमा सहभागी गराउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्ना दलका एक मन्त्रीलाई बर्खास्त गरेका छन् । राजीनामा गर्न मुख्यमन्त्री राउतको निर्देशन नमानेपछि उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश रायलाई मंगलबार पदमुक्त गरिएको हो ।

मुख्यमन्त्री राउतका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवका अनुसार मन्त्री रायलाई पदमुक्त गरिएको पत्र प्रदेश प्रमुखलाई पठाइसकिएको छ । ‘मुख्यमन्त्रीज्यूले मन्त्री रायलाई पदमुक्त गर्नुभएको छ,’ यादवले भने, ‘उहाँलाई पदमुक्त गरिएको पत्र प्रदेश प्रमुखनिर पुगिसकेको छ ।’ प्रदेशमन्त्री राय संघीय कृषि तथा पशुपंक्षी मन्त्री महेन्द्रराय यादव निकट हुन् । तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा)बाट समानुपातिक प्रदेश सांसद बनेका राय महेन्द्रकै कोटामा प्रदेश सरकारमा मन्त्री बनेका थिए । महेन्द्रसँगै रायले पनि जनता समाजवादी पार्टी रोजेका थिए ।

प्रदेश मन्त्री रायले राजीनामा गर्न अटेरी गरेपछि मुख्यमन्त्री राउत सोमबार अपरान्ह संघीय राजधानी काठमाडौं पुगेर कृषिमन्त्री यादवसित यस विषयमा परामर्श गरेका थिए ।

मुख्यमन्त्री राउतले मन्त्री रायसित आइतबार राजीनामा मागेका थिए । तर, राजीनामा नगर्ने अडानमा रहेका राय र मुख्यमन्त्री राउतबीच भनाभन पनि भएको थियो । बर्खास्त गरिएका मन्त्री रायको मन्त्रालय नेकपा (एस) का प्रदेश संसदीय दलका नेता शत्रुधन महतोलाई दिइँदैछ । मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आइसकेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

 

Your Views
Related News