काठमाडौँ — कांग्रेस नेतृत्वका लागि पार्टीको संस्थापन र संस्थापन इतर दुवै खेमाका नेताहरू प्रतिस्पर्धामा उत्रन थालेका छन् । केन्द्रीय महाधिवेशन आउन तीन साता मात्रै बाँकी छँदा दुवै पक्षमा ‘प्यानल’ बनाउने दबाब बढेको छ ।

सभापति शेरबहादुर देउवाले सोमबार बोलाएको आफ्नो समूहको बैठकमा पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सकिन साथ पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको टिम बनाउने घोषणा गरेका छन् ।

देउवाले अहिलेसम्म आफैंलाई मात्रै केन्द्रमा राखेर तयारी अघि बढाएका छन् । टिमबाट लड्ने पदाधिकारी को-को हुने भन्ने निश्चित नहुँदा तयारी गर्न नपाएको अन्य नेताहरूको गुनासो छ । सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीसहित १३ पदाधिकारी निर्वाचनबाट चयन हुने भएकाले टिम व्यवस्थापनको विषय पनि अघि बढाउनुपर्ने नेताहरूको जोड थियो ।

संस्थापनइतर पक्षमा सभापतिको उम्मेदवार सर्वसम्मत बनाउनै लफडा चलेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको समूहबाट सभापतिको उम्मेदवारका लागि चार जनाको मुख्य दाबी छ । पार्टी र सत्ताको केन्द्रमा रहेका देउवासंँग प्रतिस्पर्धा गर्न सहज नभएको भन्दै समूहबाट सभापतिको प्रतिस्पर्धाका लागि एकजना मात्रै अघि सर्न समूहका अन्य नेताहरूले दबाब दिँदै आएका छन् । को-को सभापतिका लागि अघि सर्ने भन्नेमा यकिन नभएकाले अन्य पदाधिकारीको प्यानल बनाउन कठिनाई भएको छ ।

यसपटक पनि देउवासँग भिड्न वरिष्ठ नेता पौडेल स्वयं अघि सरेका छन् । पौडेलपछिको दोस्रो पुस्ताबाट महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला आकांक्षी छन् ।

सहजै नछाड्ने भएपछि पौडेलले आफ्नो टिमको बैठकमा एक वर्षका लागि मात्रै सभापति बन्ने नयाँ प्रस्ताव राखेका छन् । आफूबाहेकका सिंह, कोइरालद्वयबीच सहमति बनेमा आफूले छाडिदिने घोषणा पनि उनको छ । तीनजना बीच सहमति नभए आफूलाई अभिभावक मानेर छाड्नुपर्ने प्रस्ताव उनले राखेका छन् । शनिबार आफ्नो टिमको बैठकमा पौडेलले आफू हुँदा पनि एक वर्षका लागि मात्रै सभापति बन्ने प्रस्ताव गरेका छन् । एक वर्षभित्र हुने तीनै तहको निर्वाचन आफ्नो नेतृत्वमा गरेपछि दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव पौडेलको छ ।

पौडेलले प्रस्ताव गरेका बेला पूर्व महामन्त्री सिंह भने भारतमा थिए । पौडेलको उक्त प्रस्तावबारे उनले फर्केपछि जानकारी पाएका हुन् । सिंहले भने देउवा र पौडेल दुवैबाट अब पार्टी चल्न नसक्ने बताउँदै आफ्नो उम्मेदवारीलाई प्राकृतिक दाबी मानेका छन् ।

आफ्नै पार्टीको महाधिवेशन समेत समयमा गर्न नसकेर वैधानिक संकट निम्ताएको, पार्टीलाई संस्थागत ढंगबाट नचलाएको र राष्ट्र तथा जनताको हितमा भन्दा आफ्नो र गुटका लागि काम गरेको भन्दै देउवाबाट अब पार्टी चल्न नसक्ने निष्कर्ष सिंहको छ । त्यस्तै अवसर पाएर पनि पार्टीको नेतृत्व लिन नसकेको, पार्टीलाई एक ढिक्का बनाएर लैजान नसक्ने भन्दै पौडेलले पनि दाबी छाड्नुपर्ने बताएका छन् ।

‘अब पहिलो पुस्ताबाट पार्टी चल्न सक्दैन । उहाँहरूले आफ्नो समयमा गर्ने जति सबै गरिसक्नु भयो । अब गर्न सक्नुहुन्न । हरेक मान्छेको एउटा समय हुन्छ । त्यो समय देउवा र पौडेल दुवैले पार गरिसक्नु भएको छ, ’ सिंहले कान्तिपुरसँग भने, ‘अब पहिलो पुस्तालाई नेतृत्व स्वीकारेर यो पार्टी अघि बढ्न सक्दैन ।’

देउवाले आफ्नो समूहबाट सभापतिका लागि ठूलो चुनौती महसुस गरेका छैनन् । केही महिना अघिबाटै उपसभापति बिमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेर अलग भइसकेपछि देउवा आफ्नै टिमबाट आकांक्षी बनेका गोपालमान श्रेष्ठलाई फकाउन लागेका छन् । सोमबार बोलाइएको बैठकमा श्रेष्ठले भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको जस्तै भूमिकामा बस्न आग्रह गरेका थिए ।

‘नरेन्द्र मोदी पार्टी सभापति छैनन्, तर प्रधानमन्त्री भइरहेका छन्, तपाईँ पनि प्रधानमन्त्री भई राख्नुहोस्, ’ श्रेष्ठले भन्दाभन्दै बीचैमा देउवाले जवाफ दिए, ‘त्यहाँ रामचन्द्र पौडेल छैनन् । यता रामचन्द्र छन् । पार्टीभित्रै विपक्षी भएपछि कसरी हुन्छ ?’ देउवाको आसय पार्टी सभापति नभएसम्म प्रधानमन्त्री हुन नसकिने भन्ने रहेको थियो ।

श्रेष्ठले तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएर जेलमा पुर्‍याएको कठिन दिनमा समेत साथ र सहयोग दिँदै आएको भन्दै पार्टी नेतृत्वको दाबी नगरेर प्रधानमन्त्री मात्रै बन्न देउवालाई पटक-पटक आग्रह गरेको सहभागी एक नेताले बताए । ‘मलाई तपाईँ उत्तराधिकारीको रुपमा पार्टीको नेतृत्वका लागि अघि बढाउनु भयो भने बिमलजीले पनि छाड्नु हुन्छ’ श्रेष्ठले भनाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो,‘तपाईंले छाड्नु भएन भनेपनि म चुनाव लड्छु ।’ देउवाले निधिलाई जस्तै श्रेष्ठलाई पनि चुनाव लड्ने अधिकार छ लड्नुहोस भनेका थिए ।

निधि अब आफ्नो टिममा फर्कन नसक्ने निष्कर्षका साथ देउवाले आफू निकट नेताहरूलाई तयारीमा जुट्न आग्रह गरेका थिए । बैठकमा निधिलाई बोलाइएको थिएन । श्रेष्ठको उम्मेदवार बन्ने कुरालाई देउवाले गम्भीरतापूर्वक लिएका छैनन्, बरु बार्गेनिङको रुपमा अर्थ्याएका छन् । केन्द्रीय सदस्य मीन विश्वकर्माले सभापतिका लागि तयारी अघि बढाउने र टिमलाई मिलाएर अघि बढाउने विषयमै छलफल भएको बताए । ‘बिमलजी उठ्छु, उठ्छु भन्नुभयो । उठ्छु भनेपछि नउठ भन्न सकिनँ । म सभापति उठ्ने भएँ । सहयोग गर्नुपर्‍यो । मैले के-के गर्नुपर्छ गर्छु । तपाईँहरूले आफ्नो ठाउँमा गर्नुपर्ने कुराहरू गर्नुहोस भन्ने कुराकानी नै भएको हो, ’ विश्वकर्माले भने ।

दुवै टिमका नेताहरूको मुख्य नजर मंसिर ६ गते हुने प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवशेनमा केन्द्रित छ । उक्त अधिवेशनबाट कांग्रेसका ४ हजार १ सय २४ महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । भातृ तथा शुभेच्छुक र विदेशस्थित जनसम्पर्क समिति समेतको प्रतिनिधित्व गर्दा करिब ४५ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि हुन्छन् । मंसिर २४ बाट राजधानीमा सुरु हुने अधिवेशनमा तीनै नेतृत्वबाट केन्द्रीय कार्यसमिति चयन हुन्छ । आइतबारको केन्द्रीय कार्यसमितिले विधान अधिवेशन छुट्टै गर्ने निर्णय लिएकाले यसपटकको अधिवेशनमा नेतृत्व मात्रै चयन हुनेछ ।

सहमहामन्त्री थप्न देउवा पक्षको प्रस्ताव

टिम व्यवस्थापनका लागि सभापति देउवा पक्षीय नेताहरूले सहमहामन्त्री पद थप्नुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबारको केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्य मीन विश्वकर्मा र गोविन्द भट्टराईले एक महिलासहित तीन जना सहमहामन्त्री थप गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् । विधानले समावेशी समूहबाट ८ जना सहमहामन्त्री हुने व्यवस्था गरेको छ । खुला समूहबाट नभएकाले तीन जना सहमहामन्त्री थप्नुपर्ने तर्क देउवा पक्षको छ । तर, पौडेल पक्ष यसलाई स्वीकार्ने पक्षमा छैनन् । आफ्नो टिम व्यवस्थापनका लागि सहमहामन्त्री थप्ने प्रस्ताव अघि सारेको भन्दै केन्द्रीय कार्यसमितिको बैठकमै वरिष्ठ नेता पौडेलसहित उनको समूहका नेताहरूले विरोध गरेका थिए ।

 

Your Views
Related News