काठमाडौं :  तिहारपछि निरन्तर ओरालो लागेको सेयर बजार विस्तारै बढ्न थालेको छ। सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। यसदिन नेप्से ६९.२२ अंकले बढेर १७ सय ८४.५७ विन्दुमा पुगेको छ। नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ।

यसदिन २२७ कम्पनीको १ करोड ९३ हजार २२१ कित्ता सेयर ५ अर्ब ५२ करोड मूल्य बराबरमा खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ७३ करोड मूल्यमा सेयर खरिदबिक्री भएको थियो।

यसदिन कारोबारमा आएका १३ समूहको परिसूचकमा हरियाली छाएको छ। अन्यको सर्वाधिक ५.९५ र जलविद्युत समूहको ५.३९ प्रतिशतले सेयर मूल्य बढेको हो। यस्तै वित्त समूहको सेयर मूल्य ३.२१ प्रतिशतले बढेको छ भने विकास बैंकको २.०२, होटल तथा पर्यटनको २.१४ र व्यापारको २.०४ प्रतिशतले मूल्य बढेको छ। बाँकी अन्य समूहको पनि सोमबारको तुलनामा मंगलबार सेयर मूल्य बढेको छ।

यसदिन ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्य ७ कम्पनीको ९ प्रतिशत बढीले मूल्य बढेको छ। नेपाल दूरसंचार प्राधिकरण, माथिल्लो तामाकोशी,नेपाल बंगलादेश बैंक, पञ्चकन्या माइ हाइड्रोपावर,महालक्ष्मी विकास बैंक र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

यस्तै तेह्रथुम पावर, मानुसी लघुवित्त वित्तीय, प्रभु इन्स्योरेन्सलगायत ७ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ। यसदिन कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३७ करोड २७ लाख मूल्य बराबरमा सेयर खरिदबिक्री भयो।

 

Your Views
Related News