रुक्सना नापितले यही कार्तिक ८ गते सवारी चालक अनुमति पत्रका लागि आवेदन दिइन्। उनलाई परीक्षाका लागि आगामी वर्षको वैशाख महिनामा बोलाइएको छ।

दैनिक भक्तपुरस्थित घरदेखि शङ्खमुलमा रहेको कार्यालयसम्म धाउन गाह्रो भएपछि स्कूटर किनेकी उनले परिश्रमका साथ हाँक्न सिकिन्।

“सधैँ हतार हुने। जाम छल्न समय अगावै घरबाट निस्किनु पर्ने। जहाँ पुग्न पनि ढिला हुने भएर आफ्नै सवारी साधन किनेको,” उनले बताइन्।

स्कूटर किनेको महिनौँसम्म सवारी चालक अनुमति पत्रका लागि आवेदन नखुल्दा निराश बनेकी उनले जब आवेदन खुल्यो तब हतार हतार फारम भरेर बुझाएकी थिइन्।

तर परीक्षाको पालो ७ महिनापछि तय हुँदा भने उनी पुनः निराश हुनु परेको बताउँछिन्।

“अब स्कूटर एक वर्षभन्दा बढी घरमै थन्किने भयो,” नापित चिन्तित सुनिइन्।

सवारी चालक अनुमति पत्र नभएकै कारण टाढाको यात्रा नगर्ने उनी ट्राफिक नियम र अन्य जोखिमका कारण स्कूटर घर वरपर मात्रै चलाउनु पर्ने उनी सुनाउँछिन्।

“हामीचाहिँ नियम कानुन भन्ने तर खोइ त सरकारले हाम्रो समस्या सम्बोधन गरेको, दैनिक आवश्यकताका लागि उचित व्यवस्थापन गरेको?,” उनको प्रश्न छ।

पदम गुरुङले आफ्ना दाजु राजेशले पठाओबाट राम्रो आमदानी गरेको देखेपछि मोटरसाइकल चलाउन सिके।

लाइसेन्स लिएर आफू पनि सेवा सुरु गर्ने योजना बनाए। तर, ठोक्किन पर्‍यो यातायात व्यवस्था विभागको उही अस्तव्यस्ततामा।

आवेदन दिन गएका उनी भीड देखेर फर्किएको बताउँछन्।

पठाओ चलाउने योजना छाडेर जागिरका लागि एक कार्यालय धाए। त्यहाँ पनि मोटरसाइकल र चालक अनुमति पत्र अनिवार्य भनियो।

“मोटरसाइकल चलाउन जान्नेलाई धेरै अवसरहरू रहेछ। त्यसैले चलाउन सिकेँ। तर लाइसेन्स समयमा हात परे पो काम गर्नु। ट्रायल चाँडै भए आफ्नो खर्चका लागि बा आमाको मुख ताक्नु पर्दैनथ्यो,” गुरुङ बताउँछन्।

तस्बिर स्रोत,VEHICLE ACADEMY AND RESEARCH CENTRE

तीन सातामा करिब चार लाखले भरे परीक्षाका लागि आवेदन

कोरोनाभाइरस महामारी र लकडाउनलाई कारण देखाउँदै २०७६ चैतदेखि नयाँ चालक अनुमति पत्रको आवेदन बन्द गरियो।

सङ्क्रमण दर केही कम भएपछि २०७७ असारदेखि कार्यालयहरू त खुले तर नयाँ चालकका लागि अनुमति पत्र लिने प्रक्रिया भने अघि बढेन।

२०७७ को पुसदेखि अनलाइनमार्फत आवेदन लिन थालियो। त्यसपछि हो आवेदनहरूको चाङ लाग्न थालेको। आवेदकको चापकै कारण विभागको अनलाइन प्रणालीमा पटक पटक प्राविधिक समस्या देखिएको बताइएको थियो।

“लकडाउनपछि अनलाइनमार्फत आवेदन भर्नेको सङ्ख्या नै २ लाखभन्दा बढी छ। पहिले दैनिक एक डेढ सय जनाले आवेदन दिन्थे। अहिले त्यो सङ्ख्या बढेर बीस, पच्चीस हजार पुगेको छ,” यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बीबीसीसँग भने।

कोरोनाभाइरस महामारीको दोस्रो लहर सुरु भएपछि गत वैशाख १६ गतेदेखि आवेदन पुनः ठप्प पारिएको हो। जसका कारण आवेदन दिएकाहरूको पनि परीक्षा रोकियो।

त्यसपछि यही कार्तिक ७ गतेदेखि आवेदन पुनः खुला गरिएको हो।

तीन सातामा करिब ४ लाख मानिसले चालक अनुमति पत्रका लागि आवेदन पेस गरेको विभागले जनाएको छ। यससँगै लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा दिनेको सङ्ख्या झन्डै ६ लाख पुगेको विभाग बताउँछ।

“काठमाण्डू उपत्यकामा लकडाउनका कारण परीक्षा दिन नपाएकाहरूको परीक्षा भइरहेको छ। नयाँ आवेदकले त केही महिना पर्खनु पर्छ,” घिमिरेले भने।

के हो त समस्या?

सवारी चालक अनुमति पत्र लिनेको चाप र यातायात व्यवस्था कार्यालयहरूमा अपर्याप्त जनशक्ति तथा पूर्वाधार नै अस्तव्यस्त अवस्थाको प्रमुख कारण भएको बताउँछन् यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे।

“पहिले सवारी साधन र चालक अनुमति पत्र दुवै आवश्यकता थियो। अहिले मानिसको कौशलको प्रमाण बनेको छ। भर्खर उच्च माध्यमिक तहको परीक्षा दिएको विद्यार्थी जागिरका लागि पुग्दा सवारी साधन हाँक्न जान्ने प्रमाण मागिन्छ,” महानिर्देशक घिमिरे भन्छन्,”तर राज्यले सोही अनुरूप कार्यालय र सेवाहरू बिस्तार गर्न सकेको छैन।”

सङ्घीय प्रणाली लागू भएयता यातायात व्यवस्थापन प्रदेश सरकारको जिम्मेवारीको क्षेत्रमा पर्छ।

काठमाण्डू उपत्यकाको हकमा पहिले ललितपुरस्थित एक मात्र कार्यालय मार्फत अनुमति पत्र वितरण हुन्थ्यो। हाल उपत्यकामा चार वटा कार्यालय छन्। तर, त्यहाँ उपलब्ध जनशक्ति र पूर्वाधार अझै पर्याप्त नभएको घिमिरे बताउँछन्।

व्यवस्थापनको पाटोमा देखिएका समस्याहरू कार्यालय र कर्मचारीको अनियमिततासँग सम्बन्धित नभएको उनको दाबी छ।

“आम मानिस सचेत भएको समय छ। पहिलेजस्तो कर्मचारीले जे भन्यो त्यसैमा विश्वास गर्दैनन्। त्यसैले जानेरै अप्ठ्यारो सिर्जना गर्ने र सेवाग्राहीलाई दुःख दिएर आफू लाभ लिउँला भन्ने अवस्था छैन,” उनले प्रस्ट्याए।

कसरी हुन्छ समस्याको समाधान?

आवश्यकता अनुरूप कार्यालय र सेवा विस्तारमा जोड दिनु पर्ने र आवेदकको चाप धान्न सक्ने प्रणाली विकास गरे मात्र अनुमति पत्र वितरण कार्य व्यवस्थित बन्ने अधिकारीहरू बताउँछन्।

महानिर्देशक घिमिरे पनि आवश्यक जनशक्तिदेखि पूर्वाधार विकासमा जोड दिइरहेको जिकिर गर्छन्।

उनले भने, “हरेक यातायात व्यवस्था कार्यालयहरूको क्षमता बढाउनमा जोड दिएका छौँ। उहाँहरूसँगको सहकार्यमा चाँडोभन्दा चाँडो पालो पर्खिरहेका नयाँ चालकहरूलाई लाइसेन्स उपलब्ध गराउँछौँ।”

घिमिरेका अनुसार चाप धेरै भएकाले पर्खनु र प्रक्रियागत हिसाबमा परीक्षा दिनुको विकल्प छैन।

यस पटक आवेदन दिएकाहरूमध्ये मोटरसाइकल तथा स्कूटर चालकले परीक्षाका लागि ६ महिनाभन्दा बढी समय कुर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्।

त्यस्तै चार पाङ्ग्रे सवारी साधन चालक अनुमति पत्रका लागि २ देखि ३ महिनापछि परीक्षा हुनेछ।

ट्रक, बसजस्ता ठूला सवारी साधन हाँक्नेहरूले भने आवेदन दिएको एक साताभित्रै परीक्षा दिन पाउने व्यवस्था छ।

 

Your Views
Related News