सरकारले कर दिवसको अवसरमा सबैभन्दा धेरै कर तिर्ने उद्योगी व्यवसायीलाई सम्मानित गरेको छ । आज आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले सबैभन्दा धेरै कर तिर्ने उद्योगी र व्यवसायीलाई सम्मान गरेका हुन् ।

व्यक्तिगततर्फ सबैभन्दा कर बुझाउनेमा सिद्धार्थ राणा परेका छन् । राणा हरेक वर्ष धेरै कर तिर्ने व्यवसायीको रुपमा सम्मानित हुँदै आएका छन् । गत वर्षमा भने जावलाखेल डिस्टिलरी विजय शाहले यो सम्मान पाएका थिए ।  यस्तै, भारतीय लगानीको डाबर नेपाल सबैभन्दा धेरै निर्यात गर्ने कम्पनी बनेर सम्मानित बनेको छ । संस्थातर्फ सबैभन्दा धेरै कर बुझाउनेमा सरकारी स्वामित्वको नेपाल टेलिकम परेको छ ।

उद्योगतर्फ एसियन पेन्टस्का गोपाल श्रेष्ठ सम्मानित भएका छन् । यस्तै, कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेक र वाणिज्य बैँकतर्फ नबिल बैंक सम्मानित भएका छन् भने नोबेल हस्पिटल, तारागाउँ रिजेन्सी र भाटभटेनी पनि बढी कर तिर्नेमा परेका छन् ।
यसैगरी, बहुराष्ट्रिय उद्योगतर्फ सूर्य नेपाल सम्मानित भएको छ भने भ्याटतर्फ घोराही सिमेन्ट र बीमा कम्पनीतर्फ नेपाल पुनर्बीमा कम्पनी सम्मानित भएका छन् ।  सरकारले हरेक वर्षको कर दिवस पारेर वर्षमा सबैभन्दा धेरै कर तिर्ने उद्योगी÷व्यवसायी तथा उद्योग व्यवसायलाई सम्मानित गर्दै आएको छ ।
 

Your Views
Related News