बुधवारबाट दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने प्रावधान लागु भएको छ।

विशेष खालको विद्युतीय चिप राखिएको इम्बोस्ड नम्बर प्लेटमा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुन्छ।

नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित सूचना अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिने भएको हो।

“बुधवारबाट नयाँ दर्ता गर्नेहरूले इम्बोस्ड नम्बर प्लेट लगाएर मात्रै निकाल्नुपर्‍यो गाडी,” यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले भने।

अन्य प्रदेशमा आवेदन दिएको केही दिनमै इम्बोस्ड नम्बर प्लेट प्राप्त गर्न सकिने अवस्था रहे पनि सुदूरपश्चिम प्रदेशको हकमा भने केही समय लाग्ने बताइएको छ।

प्रदेशको नाम लामो भएकाले प्लेटमा नाम अटाउनका लागि केही व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि प्रदेश सरकारसँग बसेर छलफल गरी टुङ्गोमा पुग्ने अधिकारीहरूको भनाइ छ।

प्रदेशको स्थायी नाम कायम नभएका कारण प्रदेश नं १ र प्रदेश नं २ मा भने पुरानै व्यवस्था जारी रहने बताइएको छ।

यातायात व्यवस्था विभागका अनुसार चरणबद्ध रूपमा अबका केही वर्षभित्र मुलुकका सबै सवारीसाधनमा प्रविधिमा आधारित नयाँ नम्बर प्लेट जडान गरिसक्ने लक्ष लिइएको छ।

विभागले साढे दुई वर्षभित्रमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्नुपर्ने भए पनि त्यति समयमा त्यस्तो भइसक्ने सम्भावना भने नदेखिएको जनाएको छ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार फागुन १ गतेबाट सवारी नामसारी गर्दा र जेठ १ गतेबाट सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्दा सार्वजनिक, पर्यटक, निजी, सरकारी र संस्थानका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने हुन्छ।

तर कुनै सवारी धनीले दस्तुर बुझाएर आवश्यक प्रक्रिया पूरा गरे सरकारले तोकेको मिति अगावै इम्बोस्ड नम्बर प्लेट जडान गर्न सक्ने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।

पुरानो नम्बर प्लेटभन्दा के फरक हुन्छ

हाल नेपालमा अञ्चल सङ्केत उल्लेख गरिएको नम्बर प्लेट, प्रदेशको सङ्केत उल्लेख गरिएको नम्बर प्लेट र इम्बोस्ड नम्बर प्लेट गरी तीन थरी नम्बर प्लेट प्रचलनमा रहेका छन्

सरकारले उपलब्ध गराउने नम्बर प्लेट “मशीन इम्बोस्ड” हुने हुँदा अङ्क र अक्षर मशीनबाट छापिएको हुन्छ। अर्थात् विगतमा जस्तो हातले नम्बर प्लेट कोरिएको हुँदैन।

विभागका अनुसार एक पटक सवारीसाधनमा नम्बर प्लेट जडान गरिएपछि त्यो निकाल्न मिल्दैन।

“कि त्यसलाई ‘ड्यामेज’ गरेर फाल्नुपर्छ नत्र त्यो निकालेर अर्को हाल्न सम्भव हुँदैन,” घिमिरेले भने।

यसको सबैभन्दा ठूलो फाइदा भनेको गाडी चोरी हुने “सम्भावना घट्छ” र गलत नम्बर प्लेट प्रयोग गर्न “मिल्दैन”।

दुईपाङ्ग्रे सवारीमा जडान गरिएको इम्बोस्ड नम्बर प्लेटमा आरएफआईडी स्टिकर टाँसिएको हुन्छ। चारपाङ्ग्रे सवारीमा भने त्यो स्टिकर अगाडिको सिसामा टाँसिएको हुन्छ।

सरकारले निकट भविष्यमा मुलुकका १५ वटा स्थानमा आरएफआईडी गेट (प्रवेशद्वार) बनाउने जनाएको छ।

त्यो प्रवेशद्वारमा इम्बोस्ड नम्बर प्लेट जडान भएका गाडी प्रवेश गरे त्यसको सूचना केन्द्रीय सर्भरमा आफैँ जान्छ।

“त्यसले गर्दा गाडी कता गएको छ भन्ने कुरा समेत हेर्न सकिन्छ,” घिमिरेले भने।

त्यस्तै हाल जडान गरिएका नम्बर प्लेटहरू रातको समयमा “देख्न नसकिने समस्या रहेकामा” इम्बोस्ड नम्बर प्लेट भने “झन्डै २०० मिटरको दूरीमा समेत प्रकाशमा टल्किएर देखिने” बताइएको छ।

यातायात विभागका अनुसार सुरुमा आरएफआईडी प्रवेशद्वार काठमाण्डू छिर्न र निस्किन प्रयोग हुने मुख्य नाका थानकोटमा जडान गर्नेगरी तयारी अघि बढाइएको छ।

जडान गर्न के गर्नुपर्छ?

घिमिरेका अनुसार हाल सरकारसँग ५० हजारभन्दा बढी इम्बोस्ड नम्बर प्लेटको मौज्दात छ।

उक्त नम्बर प्लेट प्राप्त गर्नका लागि सर्वसाधारणहरूले यातायात व्यवस्था विभागको वेबसाइटमार्फत् आवेदन दिनुपर्ने हुन्छ।

आवेदकले पेस गरेका दस्ताबेज प्रमाणीकरणको काम सम्पन्न हुनासाथ सिस्टमबाटै इम्बोस्ड नम्बर प्लेट जारी हुने घिमिरे बताउँछन्।

त्यसपछि आवेदकले एउटा बार कोड प्राप्त गर्छन्। त्यो लिएर यातायात कार्यालयहरूमा गएपछि इम्बोस्ड नम्बर प्लेट प्राप्त गर्न सकिन्छ।

सरकारले हाल वितरण गरिराखेको इम्बोस्ड नम्बर प्लेट चार वटा प्रकारमा वर्गीकरण गरेको छ। सार्वजनिक यातायातमा पहेँलो प्लेटमा कालो अक्षर हुन्छ भने निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर लेखिएको हुन्छ।

त्यस्तै सरकारी र संस्थानका गाडीमा सेतो प्लेटमा रातो अक्षरले लेखिएको हुन्छ भने कूटनीतिक निकायहरूले प्रयोग गर्ने सवारीमा नीलो प्लेटमा सेतो अक्षर हुन्छ।

सरकारले फरक व्यवस्था गरेको अवस्थामा बाहेक मन्त्री, प्रधानमन्त्रीले प्रयोग गर्ने सवारीहरू समेत यी चार प्रकारका इम्बोस्ड नम्बर प्लेटमै पर्ने बताइएको छ।

कति लाग्छ शुल्क?

सरकारले दुईपाङ्ग्रे सवारीका लागि इम्बोस्ड नम्बर प्लेटको शुल्क २,६०० रुपैयाँ तोकेको छ।

ट्रकजस्ता ठूला सवारीसाधनमा सबैभन्दा बढी ३,६०० रुपैयाँ तिर्नुपर्ने हुन्छ।

यो नम्बर प्लेट विगतमा जस्तो आफैँ जडान गर्न नसकिने बताइएको छ।

विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि तोकिदिएको स्थानमा पुगेर सवारी धनी आफैँले जडान गराउनुपर्ने हुन्छ।

एक पटक जडान गरिएको इम्बोस्ड नम्बर प्लेट काम नलाग्ने नभएसम्म प्रयोग गर्न सकिने विभागले जनाएको छ।

“त्यो एल्मुनियम प्लेट हो। त्यसले गर्दा यो सितिमिति ड्यामेज हुँदैन,” उनले भने।

इम्बोस्ड नम्बर प्लेट लिने सवारी धनीले हाल प्रयोगमा रहेको नम्बरभन्दा फरक नयाँ नम्बर प्राप्त गर्ने बताइएको छ।

 

Your Views
Related News